पर्यटन प्रवर्धन गर्न विश्वका ६० ओलम्पियनलाई सूर्योदय ल्याईँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा ओलम्पियनको भ्रमण आयोजना गरिने भएको छ । यही वैशाख २१–२२ मा देशका ४० र विदेशका १० ओलम्पिक खेलाडी, खेल पदाधिकारी सूर्योदयका पर्यटकीयस्थल आउने भएका हुन् ।

विशेषगरी इलामको अन्तुडाँडामा हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’मा सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य गरी १० जना, कोशी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन् ।

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियनन्स एसोसिएसनको संयोजन, सूर्योदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा स्पोर्टस् मिट आयोजना गर्न लागिएको हो । सूर्योदयका मेयर रणबहादुर राईले ओलम्पिकका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीबाट स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न पनि यो अवसर फलदायी हुने आशा गरेको बताए ।

‘हाम्रो नगरले आउँदो २०८३ साललाई खेलकुद वर्ष घोषणा गरिसकेको छ, त्यसका लागि पनि यो कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने, ‘विशेषगरी यो कार्यक्रमले सूर्योदय र इलामलाई नै विश्वमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन इँटा थप्नेछ ।’

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्नेछ । २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ । त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन विजेताले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए । ‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय