मतगणनाको नतिजा चोकबजारको डिस्प्लेबाट

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१६वैशाखः इलाममा मतगणना सुरु भएको छ । राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरू सहितको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएपनि गणना सुरु हुन १२ बजेको छ । शनिबार सम्पन्न चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि आज बिहान बैठक बसेर दिउँसोबाट मतगणना गर्न थालिएको हो ।

मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ । भर्खरै सुरु भएको मतगणनाको एक–एक घन्टामा नतिजा सार्वजनिक गर्ने सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणनाको नतिजा मतगणनास्थलमा घोषणा गर्ने र त्यसको अंक डिस्प्लेमा सार्वजनिक गर्ने तयारी भएको हो । ‘गणनास्थलको भिड घटाउन र धेरैभन्दा धेरैलाई एकैपटक मतगणनाको नतिजा देखाउन डिस्प्लेमा सार्वजनिक गर्ने तयारी छ,’ उहाँले भन्नुभयो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन् । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताउनुभयो । इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका हिजो राति नै सदरमुकाम ल्याइएको छ ।

मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ । सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन् । ‘गणनाको अंक प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी छ,’ उहाँले भन्नुभयो, ‘इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी छ ं।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय