रास्वपाको निष्कर्षः यही शैलीले पार्टी अघि बढ्न सक्दैन

द्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

२१ वैशाख, काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले धक्का लागेको ठहरसहित निर्मम समीक्षा गर्ने भएको छ ।

इलाममा प्राप्त परिणाम रास्वपाका लागि अनपेक्षित भएको पार्टी बैठकमा छलफल भएको छ । रास्वपालाई प्राप्त नतिजाले शिक्षा दिएको शुक्रबार बसेको सचिवालयको बैठकले निष्कर्ष निकालेको छ ।

‘जनताले मतको घण्टी नबजाएर सांकेतिक घण्टी बजाइदिएको रूपमा ग्रहण गर्ने निर्णय भएको छ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

उपनिर्वाचनमा चौथो स्थानमा खुम्चिएकाले पार्टीभित्र कमी कमजोरी भएको निष्कर्ष निकालिएको छ । पार्टीले अहिलेसम्म गरिरहेका कार्यको पुनर्मूल्यांकन गरिने भएको छ ।

‘पुनर्मूल्यांकन गर्दा पार्टीले लिएको संगठनको आधार, क्याडर बेस्डमा जाने वा मास बेस्डमा जाने सबै कुराको पुनरावलोकन गर्ने निर्णय भएको छ,’ ढकालले भने ।

कमजोरीहरू पहिल्याउनका लागि देशभर भ्रमण गरी अध्ययन प्रतिवेदन पेस गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गर्ने भएको छ । ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।

सहरी क्षेत्रले पनि पत्याएन

रास्वपाले सहरी क्षेत्रबाट मत बढाउने नेताहरूको अपेक्षा थियो । सहरी क्षेत्रमा मत सोचेअनुसारको मत नआउनुमा अन्य दलले चलाएको अनर्गल प्रचारले काम गरेको बैठकको निचोड छ ।

अन्य दलले चलाएको भ्रमको निवारण गर्नलाई संगठनको आवश्यकता रहेको विचार बैठकमा आएका थिए । बैठकमा संगठनको आवश्यकता हुनुपर्ने र हुनु नहुने विचार व्यक्त भएको ढकालले बताए ।

सहरी वडाबाट रास्वपाले कहींबाट पनि सन्तोषजनक मत ल्याउन सकेन । ६ वटा पालिका रहेको निर्वाचन क्षेत्रमा इलाम नगरपालिका बाहेक सबैमा रास्वपा चौथो शक्ति रह्यो ।

इलाम नगरपालिकामा १६ सय ५५ मत पाएर तेस्रो रह्यो भने अन्य सबै पालिकामा चौथो स्थानबाट माथि चढ्न सकेन ।

निर्वाचन क्षेत्रमा रहेका ४२ वडामा रास्वपा उम्मेदवारले सर्वाधिक मत इलाम नगरपालिका वडा नम्बर ९ मा पाए । उक्त वडामा पाएको ३५६ मत पनि तेस्रो स्थानको थियो ।

एमाले–कांग्रेसका पार्टी पंक्तिले चलाएको अफवाहले सहरी क्षेत्रमा मत सोचेमुताविक आउन नसकेको बैठकमा चर्चा भएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

अघिल्लो निर्वाचनमा रास्वपाले प्राप्त गरेको समानुपातिक मतबाट लिम्बुले ३६३ मत मात्रै बढाए । ४ मंसिर २०७९ सालमा रास्वपाले इलाम–२ बाट समानुपातिक मत ४६८७ पाएका थिए ।

तत्कालीन समयमा रास्वपा उम्मेदवारले १३८० मत पाएका थिए भने हाल लिम्बुले ५ हजार ५० मत पाए ।

नेताको लर्को, परिणाम नकारात्मक

पार्टीको सारा शक्ति एउटा क्षेत्रमा केन्द्रित गरिएको थियो । दलहरूबाट शीर्ष तहका नेताहरू निर्वाचन क्षेत्रमा खटाउनेमा सबैभन्दा अघि रास्वपा देखिएको थियो ।

त्यस विषयमा सचिवालय बैठकमा समेत चर्चा भएको छ । सरकारमा सहभागी भए पनि नीतिगत तहमा गरिएका कार्यहरू तल्लो तहमा प्रचार गर्न नसकिएको महसुस सचिवालय बैठकले गरेको छ । ‘मन्त्रीहरूलाई पार्टीको खर्चमा पठाएका हौं । कहीं न कहीं त्रुटि भयो कि भन्ने छ,’ ढकालले भने ।

उम्मेदवारी दर्ता हुनुअघि देखि नै रास्वपाले नेताहरूलाई पटक पटक क्षेत्रमा पठायो । पार्टीको शीर्ष तहमा रहेका सबै नेता, केन्द्रीय सदस्य, सांसद, कार्यकर्ता व्यापक रूपमा क्षेत्रमा परिचालन गरियो । इलाम बाहिरबाट लगेर समेत कार्यकर्तालाई निर्वाचन क्षेत्रमा परिचालन गरिएको थियो ।

उम्मेदवारी दर्तासँगै रास्वपा नेताहरूको ताँती लागेको थियो । सभापति एवं गृहमन्त्री लामिछाने प्रचार अवधिमा तीनपटक निर्वाचन क्षेत्र पुगे । प्रचारका लागि जाँदा प्रत्येक पटक दुई दिने कार्यक्रम बनाएर क्षेत्रमा खटिए । चुनावी प्रयोजनले पहिलोपटक जाँदा गृहमन्त्री लामिछानेले किरात धर्मगुरु आत्मानन्द लिङ्देन भेटे ।

चुनावी कोणसभालाई सम्बोधन गर्ने गरी ७ र ८ वैशाखमा दोस्रो पटक र ११ र १२ मा तेस्रो पटक चुनावी प्रचारमा खटिए ।

उनी बिहान सबेरैदेखि राति अबेरसम्म घरदैलो र चुनावी सभामा सहभागी भए । २४ चैतमा उम्मदेवारी दर्ताको पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल गएका थिए ।

गृहमन्त्री लामिछानेसँगै उनी प्रत्येक पटक चुनावी प्रचारमा गए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ ५ र ६ वैशाखमा र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ ९ र १० वैशाख चुनावी प्रचारमा सहभागी भए ।

गत वर्ष तनहुँको उपचुनावमा प्रचारको संयोजन गरेका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा पनि परिचालन संयोजक तोकिएको थियो । सहप्रवक्ता रमेश प्रसाईं उम्मेदवारी दर्तादेखि चुनावी वक्ताका रूपमा सबै पालिकामा पुगे ।

रास्वपाले कस्तो उम्मेदवार उठाउनुपर्ने विषयमा जनधारणा समेत संकलन गरेको थियो । ६ सांसदलाई ६ पालिका पठाएर जनमत संकलन गरिएको थियो ।

युवा र जनजातिबाट उम्मेदवार हुनुपर्ने मतदाताको अभिमत रहेको निष्कर्षमा रास्वपा पुग्यो । युवा र जनजाति दुवै मापदण्ड पूरा भएको ठहर गरी लिम्बुलाई उम्मेदवार बनाइयो । अन्य ६ जनालाई ‘ब्याक’ गराएर उनी उम्मेदवार बने ।

चुनावी प्रचारमा रहेका बेला रास्वपा नेताहरूले सम्माजनक मत ल्याउने प्रतिक्रिया दिंदै आएका थिए । कथं परिणाम आफ्नो पक्षमा नआए पनि निराशाजनक मत नआउनेमा उनीहरू ढुक्क जस्तै देखिन्थे ।

उम्मेदवारी चयन गर्दा ध्यान पुर्‍याउन नसकिएको बहस पनि बैठकमा भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार उम्मेदवार चयन गर्दा कार्यकर्तामा निरासा पैदा भएको विचार गर्न नसकिएको छलफल भएको थियो । fromonlinekhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय