मनोज अधिकारी
इलाम,०३जेठः ‘द पोएट आइडल’ दोस्रो सिजनको उपाधि जित्ने अन्तिम चार प्रतिस्पर्धि मध्ये इलामका विजय लुईँटेल गृह जिल्लामा भोट माग्न आईपुगेका छन् । कवितामाथिको पहिलो रियालिटि शो ‘द पोएट आइडल’ दोश्रो सिजनमा टप–१४ बाट छनोट भएर टप–४ मा पुगेका विजय उपाधिका बलिया दाबेदार हुन् । भोटिङ राउन्ड सुरु भएदेखि यता एक पटक पनि रेडजोनमा नपरी फाइनलमा प्रवेश गर्न सफल उनी आइडल जित्नेमा ढुक्क देखिन्छन् । ‘मैले देश विदेशबाट माया पाएको छु । आज आफ्नै घर आएँ । इलाम त मलाई जिताउने अभियानमै छ । ढुक्क छु ।’
वि.सं. २०५३ सालमा बाबु डिल्लिराम र आमा टिकादेवीको कोखबाट सूर्योदय नगरपालिका–६ फाजिगाउँमा जन्मिएका विजयले स्थानीय हर्कटे बजारस्थित ‘गोल्डेन फ्यूचर गार्डेन ईङ्लिस स्कूल’मा कक्षा ३ उत्तिर्ण गरेपछि उनको अध्ययन राजधानीमा भयो । भक्तपुरको एम्बिसन एकाडेमीबाट १२ उत्तिर्ण गरेका उनले ‘नेपाल कलेज अफ ट्राबल एण्ड टुरिज्म मेनेजमेन्ड’ बाट ‘ट्राबल एण्ड टुरिज्म’ विषयमा स्नातक गरे भने हाल पाटन मल्टिपल क्याम्पसबाट ग्रामिण विकासमा स्नात्तकोत्तर गरिरहेका छन् ।
विजय ५ कक्षाबाट कविता लेख्न सुरु गरेको बताउँछन् । उनको एउटा कविता संग्रह ‘समाजका खुकुला चप्पल’ प्रकाशित छ । ‘बाल्यकालबाट नै लेख्न मन भयो । सबैको हौसला र प्रेरणाले गर्दा गत ०८० सालको भदौमा ‘समाजका खुकुला चप्पल’ शिर्षकको कविता संग्रह पनि प्रकाशित गर्न सफल भएँ ।’ उनले भने ।
बाल्यकाल बाट लेखेरै जवान भएका विजय जिवनभर लेखिरहन चाहान्छन् । ‘आजिवन लेखिरहनुछ । कवितामात्र होईन कथा र अन्य साहित्यका विधामा पनि कलम चलाउनुछ । मलाई चलचित्र लेख्न मन छ ।’ उनि भन्छन्, ‘सँधै दर्शक पाठकसंगै रहन्छु । साहित्यमा नयाँ केही गरौँ भन्ने हुटहुटी छ । इलामको छोरो भएकाले पनि सबैको माया पाईरहेको छु । भोट पनि पक्कै पाउँछु ।’
इलामका विजयसहित आइडलको फाइनल राउन्डमा धादिङका डा. मुस्कान पोखरेल, सिक्किमका सिमियोङ सुकिता राई र कैलालीका मोहित जोशी उपाधिका लागि प्रतिस्पधामा छन् ।
विजेताले नगद १० लाख रुपैयाँ र कविता कृति प्रकाशनको सम्झौता पाप्त गर्ने छन् । साथमा अन्य पुरस्कारहरु पनि रहने जनाइएको छ । आइडलको “साहित्य पार्टनर”को रुपमा रहेको साहित्यपोस्टले हरेक हप्ता आइडलको मञ्चबाट बाहिरिने कविलाई पुस्तक उपहार दिँदै आएको थियो ।
पूरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नतिजा सार्वजनिक हुँदैछ । हिमालय टेलिभिजन र OSR Reality युट्युब च्यानलमार्फत शनिबार राति ८ बजेदेखि प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । सोही दिन साँझ ७ बजेसम्म भोटिङ लाइन खुल्ला रहने जनाइएको छ । जेठ १ गते मङ्गलबार रातिबाटै भोटिङ खुल्ला भइसकेको छ । उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका चारै जना कविहरुले यतिबेला सामाजिक सञ्जालमार्फत आफ्नो भोट अभियानलाई तीव्र पारेका छन् ।
उत्कृष्ट १४ अर्थात भोटिङ राउन्ड सुरु भएदेखि यता एक पटक पनि रेडजोनमा नपरीकन फाइनलमा प्रवेश गर्न सफल कविद्वय विजय लुइँटेल र सुकिता राई । आइडलमा रेडजोन त्यो ठाउँ हो, जहाँ हरेक हप्ता सबैभन्दा कम भोट प्राप्त भएका कविहरुमध्ये दुई जनालाई राखिन्थो (दुई पटक चार जना पनि राखियो) र एक–आपसमा अन्तिम प्रतिस्पर्धा गराइन्थ्यो । त्यसमा जसले राम्रो कविता लेख्न सक्यो ऊ सुरक्षित हुन्थ्यो । यसरी हेर्दा कविद्वय विजय लुइँटेल र सुकिता राईलाई जनताको भोटको राम्रो साथ छ ।
फाइनल प्रवेश गरेका बाँकी दुई जनामा कवि डा. मुस्कान पोखरेल एक पटक मात्र रेडजोनमा परे । त्यो पनि अन्तिममा आएर । फाइनल प्रवेश गर्नु अघि उनी रेडजोनमा परेका हुन् । अन्तिम प्रतिस्पर्धामा अन्य दुई कविभन्दा राम्रो अङ्क ल्याएर उनी फाइनल प्रवेश गरे । त्यसैगरी, कवि मोहित जोशी भोटिङ राउन्ड सुरु भएदेखि यता दुई पटक रेडजोनमा परे र दुई पटक नै कविताको बलले आफूलाई आइडलको मञ्चमा सुरक्षित राख्न सफल भए । यसदेखि बाहेक आइडलको दोस्रो सिजनमा सबैभन्दा धेरै पटक रेडजोनमा पर्ने कविमा विनायक पन्त (तनहुँ) हुन् । उनी ४ पटकसम्म रेडजोनमा परे । पहिलो सिजनमा कवि मुनु अधिकारीले यो रेकर्ड बनाएका थिए ।
पोएट आइडलको मञ्चमा हरेक हप्ता उत्कृष्ट ढङ्गले कविता प्रस्तुत गर्ने एक कविलाई “पर्फमेन्स अफ द विक” र प्रस्तुत कविताहरु मध्येबाट कविताको उत्कृष्ट एक पङ्क्तिलाई “लाइन अफ द विक” को उपाधि दिइने गरिएको थियो । त्यसमध्ये “लाइन अफ द विक” मा सबैभन्दा धेरै पटक कवि विजय लुइँटेलले चार पटक सो उपाधि जित्न सफल भए । २०८० सालको माघ २९ गते सोमबारबाट हिमालय टेलिभिजनमा पोएट आइडलको प्रसारण सुरु भएको थियो । हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि टेलिभिजन र “OSR Reality” युट्युब च्यानलबाट प्रसारण हुँदै आएको थियो ।
https://fb.watch/s5FdnC2Zrr/