मनोज अधिकारी
इलामःइलामको सूर्योदय नगरपालिका–२ भारतीय सीमासंग जोडिएको वडा हो । पूर्वी क्षेत्रमा अवस्थित नेपाल–भारत व्यापारको महत्वपुर्ण नाका पशुपतिनगर बजार यसै वडामा पर्छ । यहाँका बहुसंंंख्यक मानिस कृषि पेशामा आबद्ध छन् । वडाको बजेटले कृषि क्षेत्रलाई जोड दिएको वडाध्यक्ष डिक बहादुर बम्जनले बताउनुभयो । सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका बम्जनले नगरपालिकाको सामाजिक विकासमा शिक्षा,स्वास्थ्य प्राथमिकतामा रहेको बताउनुभयो । सामाजिक विकास र वडाका गतिबिधि सम्बन्धमा वडाध्यक्ष बम्जनसंग गरिएको संवादको संपादित अंशः
नमस्कार । के मा व्यस्त हुनुहुन्छ ?
योजनाको बाँकी काम चाँडै सक्नुछ । यो अन्तिम समयमा ब्यस्त नै छु ।
सूर्योदयको सामाजिक विकास समितिले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दैछ?
महत्वपूर्ण त सबै छन् र तर, शिक्षा,स्वास्थ्य नै हो । त्यसपछि महिला, बालबालिका र युवावर्गलाई लक्षित गरेर काम गरिरहेका छौँ ।
चालु आ÷व त सकिन लाग्यो । नयाँ बर्षका लागि नयाँ कार्यक्रम के आउँदैछ?
आगामी बर्षको नीति नगरसभाबाट पास नै गरिसक्यौँ । अब योजनालाई कार्यक्रममा ढाल्ने कुरामा व्यस्त छौँ । यसमा नयाँ नविनतम पनि आउँछन् । सबै क्षेत्रलाई समेटिने गरि शिक्षा,स्वास्थ्य लगायतका अन्य आवश्यकता हेरेर योजना तर्जुमा गर्छौँ । स्वास्थ्य क्षेत्रलाई जोड दिएर पोषणमैत्री नगरपालिका बनाउनका लागि पहिलो चरणमा वडा नं ७ र ९ लाई फोकस गरेर काम गरिरहेका छौँ । क्रमशः सबै वडा पोषणमैत्री बनिन्छन् । भैरहेका कार्यक्रमलाई सफल बनाउन लाग्नेछौँ ।
नगरपालिकाको सामाजिक विकास जस्तो महत्वपूर्ण विषयगत समितिको संयोजक पनि हुनुहुन्छ । कार्यालयमा सेवाग्राहीलाई सेवा दिन कत्तिको पर्खाउनुपर्छ?
नगरपालिकाको ४५ प्रतिशत बजेट सामाजिक विकास समितिमा पर्दो रहेछ । नीतिगत कुरा निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने पनि छ । त्यसर्थ विशयगत समितिका सं.योजकहरु व्यस्त हुईँदो रहेछ । यसलाई समय व्यवस्थापन गरेर काम गर्न बढो मुस्किल परेको । तैपनि हाल म वडा कार्यालयमा १२ बजेससम्म बसेर ४ बजेसम्म नगरपालिका गएर पुनः वडाको बाँकी काम ४ बजेपछि गर्ने गरेको छु । म नहुँदा वडासदस्य मित्रहरु कार्यालयमै बसेर सेवा दिने गर्नुभएको छ । सेवाग्राहीले त्यसरी सेवा नै नपाएको वसथा छैन ।
पूर्वी क्षेत्रको मुख्य व्यापारीक नाका पशुपतिनगर बजारको अवस्था हाल कस्तो छ ?
यो पुरानो बजार । व्यापारीक र पर्यटनका दृष्टिकोणले हेर्दा महत्पूर्ण बजार पनि हो । कहिलेकाहीँ समस्या निम्तिने गरेको छ । कोेरोना कहरका बेला थलिएको पर्यटन र व्यापार मज्जाले चलायमान बन्न अझै सकेको छैन । तर, पर्यटकहर भित्रिने क्रम रोकिएको छैन । भारत सहित भुटान, बङ्गलादेश लायतका मुलुकबाट नेपाल आउने पर्यटकको ढोका पशुपतिनगरलाई पुरानै अवस्थामा फर्काउन हामी लागेका छौँ । यस क्षेत्रमा विकासका थुप्रै संरचना बन्निसकेका छन् । बनिनेक्रममा पनि छन् ।
तपाईँ निर्वाचित भएपछि यहाँका जनताले महशुस हुनेगरी विकासका पूर्वाधार निर्माणमा केके परिवर्तन आयो?
सबैभन्दा चुनौती पानीको थियो । ब्यवस्थापन हुँदैछ । नगरपालिका हुनु अघि नै पुरानो पशुपतिनगर स्वास्थ्य केन्द्र थियो । हामीलाई भौतिक संरचना नहुँदा समस्या थियो । हाल एउटा डाक्टर पनि रहेकाले यहाँ स्वास्थ्यमा धेरै समस्या छैन । सडक सञ्जालको विकासमा चै नगरपालिकाले २८ बर्षे दिगो योजना अघि सारेको छ । अलवेदर अन्तर्गत ५ किलोमिटर ग्राबेल सडक हाम्रो वडामा कालोपत्रेको क्रममा छ । वडा कार्यालय भवन संरक्षण गर्न बाँकी छ । कृषियोग्य जमिनलाई उपयोग गरेर आर्थिक लाभ लिन कृषिमुलक कार्याक्रम ल्याएका छौँ । एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत भर्खरै २१ दिने तालिम दियौँ । जसअन्तर्गत ३०० महिलाले तालिम लिनुभएको छ । व्यवसायीक बनाउन तालिम र आयमुलक कुरामा जोड दिईरहेका छौँ ।
व्यस्त समय दिनुभयो धेरै धेरै धन्यवाद ।