इलाम,१९जेठः सूर्योदय नगरपालिका–११ करफोकका सात परिवारले एक रातमा ५० पर्यटक बास बसाउने गरी घरबास कार्यक्रम सुरु गरेको दुई महिना भयो । पर्यटन कार्यालय काँकडभिट्टामा ‘करफोक खलङ्गा सामुदायिक होमस्टे’ दर्ता गरेर घरबास सुरु गरिएको छोटो अवधिमा यहाँ पर्यटकको भिड लाग्न थालेको छ ।
पर्यटन व्यवसायी केदार शर्माले सूर्योदयमा मौषमी पर्यटक भित्र्याउन घरबास सुरु गरिएको बताउनुभयो । ‘हामीले यहाँको कुहिरो बेच्न सकेका छैनाँै । प्राकृतिक एसी बेचेर आम्दानी लिन सक्नुपर्छ ।’ पत्रकार समेत रहनुभएका पर्यटन व्यवसायी शर्माले भन्नुभयो, ‘मौषम अनुसार पर्यटकका लागि प्याकेज निर्माण गर्न सके पर्यटकको आवागमन बढ्ने भएकाले हामीले घरबास सुरु गरेका हौँ ।’
स्थानीय सरकारले दुग्धजन्य परिकार बनाउने र स्थानीयस्तरमा खेती प्रविधिको तालिम दिएपछि करफोकमा होमस्टे संचालनमा आकर्षण बढेको छ । होमस्टे सन्चालक चन्द्र सापकोटाले सूर्योदय नगरपालिकाबाट परिकार बनाउने र खेती प्रविधिको तालिम पाएपछि होमस्टे सुरु गरिएको जानकारी दिनुभयो ।
सात परिवारले एक घरमा ८ जनाका दरले पर्यटकलाई बास बसाउने गरी होमस्टे संचालनमा ल्याउनु भएको हो । ‘धेरै ठाउँका होमस्टेको अध्ययन गरेर रैथाने खानाका परिकार मात्र चखाउने गरी होमस्टे संचालन गरेका हौ ।’ व्यवसायी ज्योती अधिकारीले भन्नुभयो । ‘चिसो मौषममा राखेर कोदो,फापर,ढिँडो,गुन्दु्रक चखाउन सक्दा पर्यटकले आनन्द महशुष गरेका छन् ।’
करफोक पंञ्चकन्या क्षेत्रमा पछिल्लो समय ग्रामिण पर्यटन प्रवर्धन गर्नका लागि सामुदायिक होमस्टे फस्टाएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । ‘करफोक हरीयाली भित्र हुस्सु र कुहीरोले ढाकी रहने ठाउँ हो । तराईको गर्मी छल्न आउनेहरुका लागि करफोक क्षेत्र प्राकृतिक एयर कन्डिसन बन्नेगर्छ ।’ नगरप्रमुख राईले भन्नुभयो, धुपीघारीको बिचमा सजिएको करफोकमा कुहीरोभित्र लुकामारी गर्न पाउँदा पर्यटक आनन्दित बन्ने गरेका छन् ।’ नगरप्रमुख राईले पर्यटन क्षेत्रको बिकासका लागि तीन तहकै सरकार बिच समन्वयको खाँचो रहेको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरे पनि हालसम्म स्पष्ट रणनीति बन्न नसक्दा समस्या भएको बताउनुभयो ।
साविकको मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आएको पर्यटन कार्यालय काकडभिट्टले यी क्षेत्रको पर्यटन बिकासका लागि सरोकारवालाको सुझाव समेत संकलन गरेको छ । कार्यालय प्रमुख छवि खतिवडाले ग्रामिण पर्यटन प्रवर्धन र बिकासका लागि स्थानीयको आवश्यक्ता अनुसार काम गर्नका लागि सरोकारवालाको सुझाव लिएको बताउनुभयो । उहाँँले भन्नुभयो ‘हामीले धेरै स्थानका होमस्टे अवलोकन गर्दा पूर्वमा हस्पिटालिटिमा ध्यान दिन आवश्यक देखिन्छ ।’
पर्यटन कार्यालय काँकडभिट्टाकै कर्मचारी निरोज कट्टेलले कार्यालयले पर्यटकीय गन्तब्यको पहिचान गर्ने, सूचीकृत गर्ने र स्थानीय उत्पादको ब्राण्डिङ गर्ने काम गर्दै आएको बताउनुभयो । इलामको पर्यटनका सवालमा भएको छलफलमा होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले मेची करिडोरमा रहेका पर्यटकीय गन्तब्य र यहाँ गरीने कार्यक्रमको बार्षिक क्यालेण्डर निर्माण गर्न सुझाव दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा काम गर्ने साना ब्यवसायलाई दर्ता गर्न, सूचना केन्द्र स्थापना गरी पर्यटकका लागि प्याकेज निर्माण गर्न र प्रविधि सम्बन्धि तालिम संचालन गर्न सके पर्यटन क्षेत्रमा सुधार गर्न सकिने बताउनुभयो ।
अहिले इलाम आएका पर्यटक मध्ये ७० प्रतिशत पर्यटक सूर्योदयको कन्याम, अन्तु, फिक्कल करफोकबाटै फर्कीने गरेका छन् । ३० प्रतिशत पर्यटक मात्र इलामका अन्य क्षेत्र जाने गरेको पाईएको छ । करफोक क्षेत्रमा नेपालकै पुरानो बिद्यालय करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालय, धुपीघारी , पंचकन्या मन्दिर, एतिहासिक खलङ्गा गडी, पूर्णेडाँडा, स्वामीपार्क जस्ता पर्यटकीय स्थल रहेका छन् । नगरले कन्याम देखि पूर्णे डाँडा सम्मको १२ किलोमिटर लामो साईक्लिङ ट्रयाक समेत निर्माण गरीरहेको छ । इलाममा सानाठूला गरी चार सयको हाराहारी होटल तथा एक सयको हाराहारीमा होमस्टे रहेका छन् ।