राजकुमार दाहाल
फिक्कल (इलाम)ः इलामको सूर्योदय नगरपालिकास्थित तीनघरेमा आईतबारबाट सुरु भएकोआदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आज समापन हुनेछ । नेपाल आदिवासी जनजाति महासंघ, सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा दुई दिने महोत्सव भईरहेको हो । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिएको छ ।
महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूका अनुुसार आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका परम्परा, संस्कार, संस्कृति झल्काउने झाँकी नृत्य प्रस्तुत गरियो । लोपोन्मुख लाप्चा, राई, लिम्बू, मगर, नेवार, तामाङलगायत विभिन्न जातिका मौलिक खानाका परिकारका स्टल राखिएको छ ।
योल्मोको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता तथा जिसस उपप्रमुख चित्रकला बराइलीलगायतको आतिथ्यमा उद्घाटनसत्र सम्पन्न भयो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा ११ का अध्यक्ष सन्तोष राई, वडा ३ अध्यक्ष लोकबहादुर प्रधानलगायत विभिन्न जातीय संस्थाका प्रतिनिधि र सरोकावाला, स्थानीयको सहभागिता थियो ।
पत्रकार जय राईले सञ्चालन गर्नु भएको कार्यक्रममा आयोजक सूर्योदय महिला मञ्चका सचिव साधना फागोले स्वागत मन्तव्य राखिन् । कार्यक्रममा अतिथि तथा सहभागी धेरैले महोत्सवले भाषा, संस्कृति, संस्कार संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्नुपर्ने उनीहरूको भनाइ थियो ।
महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा सङ्घ, नेपाल शेर्पा समाज, नेपाल मगर सङ्घ, लाप्चा उत्थान मञ्च, नेवाः दय दबूँ, नेपाल थामी समाज, तमु ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मालगायतको सहभागिता छ ।