सूर्योदयमा प्रभावकारी बन्दै ‘किसानसंग समृद्धि अभियान’

द्वारा प्रकाशित गरिएको हो |
२०८१ जेष्ठ ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलाम,३१जेठः सूर्योदय नगरपालिका–१० का विजय लामिछानेले नगरपालिकाबाट अनुदानमा च्यापकटर पाएपछि व्यवसायिक गाईपालन गर्ने सोच बनाउनुभएको छ । ‘मेसिनमा काटेर हाल्दा कम घाँसले नै पुग्ने रहेछ । केही गाई थपेर दुग्ध उत्पादन वृद्धि गर्ने विचार छ ।’ लामिछानेले भन्नुभयो । वडा नं ३ पशुपतिनगरका जगलाब तामाङ पनि पचास प्रतिशतमा च्यापकटर पाउँदा खुसी हुनुहुन्छ । ‘गाई धेरै भएपनि मेसिन नहुँदा घाँस पुर्याउनै मुस्किल थियो । अब ढुक्क हुनेभयो ।’ उहाँले भन्नुभयो, ‘एक्लैले चार–पाँच माउ गाई पाल्न सकिने रहेछ । बाख्रापनि थप्छु ।’

सूर्योदय नगरपालिकाले बुधबार एकैदिन ६० जना किसानलाई च्यापकटर वितरण गरेको छ । नगरपालिकाको ‘किसानसंग समृद्धि अभियान’ अन्तर्गत पालिकाले यस बर्ष पशु सेवा साखा मार्फत १७१ र कृषि जोन कार्यक्रम मार्फत ८६ थान च्यापकटर किसानलाई पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको आर्थिक विकास समितिका संयोजक देबेन्द्र आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार, १९६ थान काउम्याट, ३८ थान मिनिटिलर, एक थान कृषि एम्बूलेन्स र चार हजार डाले घाँसका बिरुवा वितरण गरिएको छ । ३०० थान चिया टिप्ने मेसिन वितरणको क्रममा रहेको आचार्यले बताउनुभएको छ ।

किसानसंग समृद्धि अभियान प्रभावकारी बन्दै गएको आचार्यले बताउनुभएको छ । ‘किसानलाई समृद्ध बनाउने यस अघिका सबै प्रयास सफल भएका छन् ।’ उहाँले भन्नुभयो, काउम्याट लगेपछि किसानले उन्नत जातको गाईपालन थालेका छन्, जताततै खाली जमिनमा उन्नत प्रजातिको डाले घाँस छ, हाते मेसिनले चियाको टिपानमा सुधार आएको छ ।’

किसानको उत्पादनले बजार र मूल्य दुबै पाउनलाई उत्पादन गुणस्तरको हुनुपर्ने नगरप्रमुख रणबहादुर राईको भनाई छ । ‘हामी किसानलाई व्यवसायिक र उत्पादनलाई गुणस्तरीय बनाउनुपर्छ भन्ने अठोट लिएर काम गरिरहेका छौँ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘किसानको आर्थिक उपार्जन कसरी हुन्छ भन्ने कुरामा जति चिन्तित छौँ उत्तिनैै उत्पादन अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ भनेर लागेका छौँ ।’

किसानलाई उपकरणमा, तालिममा वा बिउविजनमा अनुदानका प्याकेज पालिकाले विगतबर्षहरु बाट नै प्रशस्त ल्याएको नगरप्रमुख राईको भनाई छ । ‘३० लाख बराबरको फलफुलखेती प्रवर्धन, माछापालन प्रवर्धन, छुर्पी प्रवर्धन, जस्ता कार्यृक्रम मार्फत यसपाली २४ जना ब्यवसायीक किसानलाई तालिम दिएका छौँ ।’ राईले भन्नुभयो, ‘नगरपालिकाको एउटै मात्र लक्ष्य भनेकै किसान व्यवसायिक बन्नुपर्यो, उत्पादन वृद्धि हुनुपर्यो, यहाँ उत्पादित कृषिजन्य उपज खान लायक हुनुपर्छ भन्ने हो ।’

भारतिय सीमासंग जोडिएको सूर्योदयका किसानले अकबरे, साग, कोपी, टमाटर लगायतका कृषि उपज धेरे उत्पादन गर्छन् । सीमाक्षेत्र पशुपतिनगर, मानेभञ्ज्याङ, फाटक लगायतका बजारमा यहाँको सब्जी बढी निर्यात हुन्छ । स्थानीय फिक्कल, हर्कटे, आईतबारे, गोर्खे लगायतका बजारमा बाँकी सब्जि खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय