सुनील शंकर
इलाम– नवराज शंकर र रेशम बराइलीको स्मृतिमा स्थापित ‘नवराज–रेशम स्मृति दलित पत्रकारिता पुरस्कार छनोट तथा वितरण कार्यविधि–२०८१’ पारित गरिएको छ ।
इलामस्थित राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो पूर्ण बैठकले कार्यविधि पारित गरेको हो । दलित समुदायको हकहित, उत्थान र मुक्तिका लागि कलम चलाउने दलित पत्रकारलाई वार्षिक रूपमा सम्मान गर्नेगरी पुरस्कार स्थापना गरिएको हो ।
संघका इलाम शाखा अध्यक्ष बलराम बराइलीको अध्यक्षतामा सम्पन्न बैठकमा मानवअधिकारकर्मी तथा अगुवा देवेन्द्र विश्वकर्मा, मानवअधिकारकर्मी मनकुमार बराइली, सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष देवेन्द्र शंकर र व्यवसायी पम्फा बराइलीलगायतले कार्यविधिमा सुझाव राखेका थिए ।
पत्रकारिता र दलित आन्दोलन क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै समग्र समाजकै परिवर्तनका निम्ति सामाजिक, राजनीतिक, सामुदायिक क्षेत्रमा कलम चलाएका नवराज शंकर तथा दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा कलम चलाएका रेशम बराइलीको कोरोना संक्रमणका कारण अल्पायुमै निधन भएको थियो ।
शंकर र बराइलीको स्मृतिमा संघले पुरस्कार स्थापना गरेको हो । ‘शंकर र बराइलीको योगदान जीवन्त राख्दै दलित पत्रकारलाई लेखनमा हौसला, प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो,’ संघका जिल्ला अध्यक्ष बराइलीले भने, ‘यसरी पुरस्कृत हुने व्यक्तित्व छनोटका लागि कार्यविधि तयार गरी पारित गरिएको हो ।’