इलाम– सूर्योदय नगरपालिकाको १५औं नगरसभाको तेस्रो बैठकमा विभिन्न ऐनका मस्यौदा र प्रतिवेदन पेस गरिएका छन् ।
बैठकमा न्यायिक समितिले उजुरीको कारबाही–किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ उपप्रमुख दुर्गाकुमार बरालले पेस गरे ।
सूर्योदय नगरपालिकामा स्थानीय वनको प्रवर्धन, संरक्षण, वन व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ पेस भएको छ । यो विधेयक वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक राजकुमार सेरेङले पेस गरे ।
शनिबारको बैठकमा सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक कार्यपालिका सदस्य लतादेवी गौतमले पेस गरिन् । नगरसभामा सभाद्वारा गठित विषयगत समितिको प्रतिवेदनसमेत पेस भएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन सभापति गणेशकुमार खड्का, विधायन समितिको प्रतिवेदन समितिका सभापति शरण लिम्बूले पेस गरेका थिए ।
सामाजिक विकास समितिको प्रतिवेदन समिति सभापति विमल राई, सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन सभापति कमलप्रसाद गड्तौला, कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सभापति पुन्यप्राद पोख्रेलले पेस गरेका छन् ।
सभामा नगरपालिकाको अन्तिम लेखापरीक्षण प्रतिवेदन नगरसभा सदस्य चन्द्रकला मैनाली, स्थानीय आर्थिक सर्वेक्षण प्रतिवेदन वडाध्यक्ष देवेन्द्र शर्माले सभामा पेस गरे । सभामा सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, पोखरी, पार्कको विवरण पेस भएको छ ।
प्रतिवेदन ११ नम्बरका वडाध्यक्ष सन्तोष राईले पेस गरेका थिए । नगरसभा अध्यक्ष रणबहादुर राईले आइतबार २ बजे अर्को बैठक बस्नेगरी शनिबारको बैठक स्थगित गरेका छन् । आइतबारको बैठकमा बजेट पेस हुनेछ । नगरसभाको १५औं अधिवेशन वैशाख ७ गते सुरु भएको प्रवक्ता खेमबहादुर भुजेलले जानकारी दिए ।