इलामः श्रीअन्तु पर्यटन व्यवसायी संघको आयोजनामा पर्यटन प्रवर्धन तथा अवलोकन भ्रमण गरिने भएको छ । श्रीअन्तु क्षेत्रका पर्यटकीय गन्तब्यहरु र तीनका विशेषताहरुको प्रचारप्रसार गर्न तीन दिने भ्रमण असार १७ गतेबाट १९ सम्म गरिने संघका अध्यक्ष रुद्र घिमिरेले बताउनुभएको छ । घिमिरेका अनुसार भ्रमण झापा, इटहरी,भेडेटार,धनकुटा, वसन्तपुर,तिनजुरे, देउराली हुँदै धरानसम्म पुग्नेछ ।
‘हामीले विच–बिचमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार लगायतका सरोकारवालासंग छलफल गर्दै मायाको चिनो वितरण गर्ने र हाम्रो ठाउँका विशेषता बारे पनि जानकारी दिने उद्धेश्य राखेका छौँ ।’ संघका अध्यक्ष घिमिरेले भन्नुभयो, ‘त्यस क्षेत्रसम्म आएका पर्यटकलाई अन्तुमा ल्याउन त्यहाँका पर्यटन व्यवसायीसंग समन्वय र सम्वन्ध विस्तार गर्ने पनि लक्ष्य हो । हामी उहाँहरुलाई निम्तो दिएर फर्किन्छौँ ।’
यस भ्रमणले कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रका व्यवसायीसंग सम्पर्क स्थापित गर्ने आयोजकले विश्वास लिएको छ । ‘यहाँ देश विदेशबाट पर्यटक आउनुहुन्छ । तर, आफ्नै प्रदेशका पर्यटन व्यवसायीसंग समन्वय गर्न ढिला भईरहेको महसुस गरेर यो भ्रमण तय गरेका हौँ ।’ आयोजक संघकी कोषाध्यक्ष कञ्चना बरालले भन्नुभयो,‘अन्यत्रै अलमल्लिरहेका पर्यटकलाई खास गन्तब्य अन्तु हो भनेर चिनाउन प्रचारप्रचार गर्दैछौँ ।’
पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमण गर्न लागिएको महासचिव रत्न खड्काले बताउनुभयो । ‘पर्यटन क्षेत्रको विकास नेपालको आर्थिक विकास र समृद्धिको आधार हो । अझ आन्तरिक पर्यटन प्रवर्द्धनले सम्बन्धित जिल्लाको प्रचारप्रसारमा सहयोग गर्छ, यही उद्देश्यले तीनदिने अध्ययन अवलोकन भ्रमण हुँदैछ, ’खड्काले भन्नुभयो ।
भ्रमणमा ३५ जनाको सहभागिता रहने सचिव पदम ओलिले जानकारी दिनुभएको छ । उहाँका अनुसार अन्तु पर्यटन क्षेत्रबाट सबै व्यवसायीहरुको सहभागितामा हुने यो भ्रमण हालसम्मकै ठुलो हो ।