खर्च अभावमा मर्मत भएन इलामको मालपोत भवनः पहिरोको जोखिम उत्तिकै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– इलामस्थित मालपोत कार्यालयमा बर्सेनि करोडौं रुपैयाँ राजस्व संकलन हुन्छ । तर, केही वर्षअघि निर्मित आफ्नै कार्यालय भवन मर्मत गर्ने रकम नहुँदा जताततै चर्किएर लड्ने जोखिम बढेको छ ।

त्यतिमात्र होइन, भू–सेवासमेत सञ्चालनमा रहेको यो कार्यालयमा झन्डै दुई दर्जन कम्प्युटर छन् । तर, मर्मत अभावले ती कम्प्युटर पनि कतिपय नचल्ने अवस्थामा पुगिसकेको कार्यालय बताउँछ । कम्प्युटरमा पटक–पटक आउने समस्याले दिनैभरि भिडभाड रहने कार्यालयको काममा अवरोध हुने अवस्था छ ।

कार्यालय व्यवस्थापनका लागि आएको बजेट सधैं अपुग हुनेगरेको कार्यालय प्रमुख चन्द्रप्रसाद मिश्र बताउँछन् । ‘कार्यालय व्यवस्थापनलाई रकम थोरै आउँछ, भवन मर्मतको त कुरै नगरौं,’ उनले भने, ‘भवन जताततै चर्किएको छ, चकिएको कम्पाउन्ड पर्खाल लडेर पहिरो गयो भने कार्यालय भवनको आँगनसमेत लैजाने जोखिम छ ।’

सँगै जोडिएको नापी कार्यालयसमेत यहाँबाट सम्भावित पहिरोको जोखिममा देखिएको छ ।

उनले २०७४ सालमा निर्मित भवनको भित्री भाग पनि मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ‘भवनभित्र पानी चुहिएको छ, भित्तो रसाएर हेरिनसक्नु भएको छ,’ उनले भने, ‘यसको मर्मत कहिले होला भन्ने चिन्तामा छौं ।’

स्थानीय तह गठन हुनुअघि यो कार्यालयमा उठेको राजस्व केन्द्रमै जानेगरेको थियो । त्यसबाट कार्यालय व्यवस्थापनमा पाँच प्रतिशत रकम आउनेगरेको थियो । तर, अहिले उठेको कुल राजस्वको ६० प्रतिशत प्रदेशमा र ४० प्रतिशत राजस्व सम्बन्धित पालिकामा जाने गरेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा यो कार्यालयले नौ करोड ७५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । from palikapage.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय