सूर्योदयमा एक अर्ब ४१ करोड बढीको बजेट सार्वजनिक, उत्कृष्ठ ३६ लाई सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाले आ÷ब २०८१÷०८२ को बार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरणको अवसरमा उत्कृष्ठ ३६ जनालाई सम्मान गरेको छ । नगरप्रमुख रणबहादुर राईको अध्यक्षता एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित एक भव्य समारोहका बिच गत एक बर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य गरेर पालिकालाई सहयोग पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको हो ।

उत्कृष्ट भइ सम्मानित हुनेहरूमा स्वास्थ्य स्वयंसेविका संगीता राई, मझुवाखोला सातघरे जल उपभोक्ता समिति, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र, क्रियाशील ज्येष्ठ नागरिक मोहनप्रसाद राई, डेरी उद्योगी चन्द्र सोङमेन राई, सामुदायिक विद्यालय (मावि)का प्रधानाध्यापक बेनुभक्त खनाल, अर्की प्रधानाध्यापक उमादेवी पौडेल र आधारभूत विद्यालयक प्रधानाध्यापक गीताकुमार ढुंगाना, शिक्षक अञ्जना कार्की छन् ।

यसैगरी, साना किसान सहकारी, मौरीपालक हर्कध्वज तामाङ, एथ्लेटिक्समा स्वर्ण विजेता समीर तामाङ, किसान मोहन लाप्चा र चन्द्रकला मादेन, काजीफाटक टोल विकास संस्था, पत्रकार जयकुमार राई पनि सम्मानित भएका छन् । कृष्ण आधारभूत विद्यालय, पञ्चकन्या बोर्डिङ स्कुल, एभरल्यान्ड एकेडेमीका शिक्षक प्रवास कट्टेल, विद्यार्थी गरिमा काजी राई, गायक पूजन प्रधान, फिक्कल खानेपानी तथा सरसफाइ संस्था, युव उद्यमी विवेक राईलाई पनि नगरले सम्मान गरेको छ ।

नगरले बाल सञ्जालका निवर्तमान अध्यक्ष निरोज राई, पालुवा बाल क्लब, विज्ञान शिक्षक सौजन्य भक्तराज, गणित शिक्षक रमेश नेपाली, शिक्षक बासुदेव पौडेल, करफोक विद्या मन्दिर, अर्गानिक किसान उद्यमी विक्रम चेम्जोङ र राजप्रज्वल निर्माण सेवालाई पनि सम्मान गरेको छ ।
नगरले कर्मचारीतर्फ अनिश दुलाल, खगेन्द्र प्रधान, सुनील मोते, भीम विक, रविन खत्रीलाई पनि सम्मान गरेको नगरका अधिकृत खेमराज राईले जानकारी दिए ।

नगरप्रमुख राईले नगरको उन्नयनमा सघाउने व्यक्ति र संस्थालाई नगरले हरेक वर्ष प्रोत्साहित गर्ने प्रयास गरेको बताउन्भएको छ । ‘नगरको शिक्षा, स्वास्थ्य, सञ्चार, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा योगदान गर्नेहरूलाई नगरले सम्मान गर्नेगरेको छ,’ उहाँले भन्नुभयो, ‘नगरको प्रगतिमा हाम्रो एक्लो प्रयासले मात्रै सम्भव हुँदैन, त्यसैले सबै क्षेत्रलाई सँगै लैजान सकियो भनेमात्रै समृद्धिपथमा लम्किन सकिने भएकाले सबैसँग हामी हातेमालो गर्नेछौं ।’ कार्यक्रममा नगरपालिकाले एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सयको बजेट सार्वजनिक गरेको छ ।

कोशीमा चिया सम्मेलन आयोजना गर्नेछौं ः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ ।
इलामको सूर्याेदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हिउँदमा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।
कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँको भनाइ छ । सम्मेलनका महत्वपूर्ण कार्यक्रम इलाममा पनि हुने भन्दै उहाँले इलामको कन्याममा निर्माण भएको चिया टेस्टिङ एन्ड प्रोमोसन सेन्टर नगरलाई हस्तान्तरण गर्ने पनि बताउनुभएको छ ।
२०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै मन्त्री कार्कीले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पर्यटकलाई सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुआत गरिएको बताउँदै उहाँले सूर्याेदयमा पनि पोस्ट स्थापना गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सूर्याेदय नगरपालिकाले नेपालकै सबै पालिकामध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
प्रदेश सरकार नगरको साथमा सधैं रहने उहाँको भाइ छ । शिक्षाको क्षेत्रमा पनि नगरले गरेको प्रगति र लगानी राम्रो रहेको उहाँको भनाइ छ ।
इलाममा पर्यटन र कृषिको विकासका लागि आवश्यक पर्ने अड्डा स्थापना गर्न उहाँले माग गर्नुभयो । प्रदेशसभा सदस्य शमसेर राई, खिनु लङ्वा, संविधानसभा सदस्य लीलादेवी श्रेष्ठलगायतले त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय