इलाम– इलाम र देउमाई नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुंगे पुल निर्माण नसकिँदै हेर्न आउनेको घुइँचो लाग्नथालेको छ ।
इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ वडाबीच पुवाखोलामाथि बनेको यो झोलुंगे पुल तीन सय ६६ मिटर लम्बाईको छ । खोलाभन्दा करिब डेढ सय मिटर उचाईमा रहेको पुल आफैंमा पर्यटकीय भएकाले हेर्न आउनेको भिड लागेको हो ।
दैनिक सयौं मानिस पुल हेर्न र वारिपारि गर्न आउनेगरेको स्थानीय बुद्धिमान राईले जानकारी दिए । शनिबार र सार्वजनिक बिदाका दिन हजारभन्दा बढी मानिस यहाँ आएर रमाउनेगरेको उनको भनाइ छ ।
इलाम चियाबारीबीचबाट पश्चिमतर्फ बाह्रबस्ती हुँदै सेतीदेवी मन्दिर जाने बाटामा यो पुल पर्छ । सेतीदेवी मन्दिरको नजिकै रहेको पुल निर्माण सम्पन्न भइनसकेपनि वारपार गर्न भने सकिने भएको छ । बिदाको दिन यहाँ १० हजार रुपैयाँभन्दा बढीको त चटपटे नै विक्री हुनेगरेको एक व्यवसायी महिलाले बताइन् । ‘अरू खाजा पनि बनाउने हो भने त राम्रो बिक्ने थियो,’ उनले भनिन्, ‘तर, चटपटे नै १० हजारको बेच्नुपरेपछि अरू खाजा बनाउनै भ्याइन्नँ पनि ।
प्रायः जंगल रहेको यो ठाउँमा पुल बनेर मानिसको आउ–जाउ बढेपछि सुरुमा एउटा चिया पसल खुल्यो । अहिले थपिँदै पसलको संख्या चार पुगेको छ ।
पुलमा कहिलेकाहीं भिड धेरै हुने भएकाले जोखिमसमेत हुनेगरेको छ । भिडकै कारण जोखिम बढेपछि इलाम नगरपालिकाले नगर प्रहरीसमेत खटाएर पुलमा एकै पटक धेरै मानिस चढ्न नियन्त्रण गर्नेगरेको छ । यहाँ खटिएका नगर प्रहरीले एकै पटक सयौं मानिस चढ्ने भएकाले नियन्त्रण गर्नुपरेको जनाए ।
‘कतिपयले त पुलको बीचमा गएर हल्लाइदिनेगरेकाले पनि नियन्त्रण गर्नु आवश्यक भएको छ,’ उनले भने, ‘जोखिम घटाउन हामी प्रयत्नरत छौं ।’
लामो दूरी भएकाले कतिपय चाहिँ बीच भागमा पुगेपछि पुल हल्लिँदा डराउनेगरेका छन् । त्यतिमात्र होइन, देउमाईको पाटोमा चाहिँ पुलमुनिबाट बिजुलीको तार लगिएकाले जोखिम बढेको छ । पुलमा भार बढ्दैजाँदा पुलको सुरक्षाका लागि लगाइएको तारले बिजुलीको तार छुने डर स्थानीयलाई छ । स्थानीय हेमकुमार लिम्बूले भने, ‘बिजुलीको तार चाहिँ निकै जोखिमयुक्त छ यो पुलमा ।’
पुल निर्माण सक्न बाँकी नै रहेको इलाम नगरले जनाएको छ । नगर प्रवक्ता नुतनदेव दुलालले भने, ‘यो पुललाई इलाम नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउन खोजेको छ ।’
नगरका निवर्तमान मेयर महेश बस्नेतले आफू मेयर हुँदा यो पुललाई बन्जी जम्पसमेत बनाउनेगरी योजना अघि सारेका थिए । त्यसैबेला यो पुल निर्माण थालिएको थियो । वर्तमान मेयर केदार थापाले पनि यहाँ बन्जी जम्पको सम्भावना अध्ययन गरिने बताए । frompalikapage.com