ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए ।
उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते गर्दै उनले ठूलो स्वरमा सञ्चो विसञ्चो सोधे । त्यसपछि निरन्तर गुञ्जिए करिब करिब हरेक नेपालीको ओठमा झुण्डिएका नेपथ्यका गीतहरु ।
यसपालिको नेपथ्यको अमेरिका यात्रा कोलोराडोको डेनवर, क्यालिफोर्नियाको सान फ्रान्सिस्को, ओहायोको कोलम्बस, टेक्सासको डालस, न्युयोर्क, मेरील्याण्ड र अन्तिममा ७ सेप्टेम्बरमा पेन्सिलभेनियाको ह्यारिसवर्ग सहरमा सातौं प्रस्तुति दिएर टुङ्गिनेछ ।
यस अन्तर्गतको पाँचौं श्रृंखला थियो, अमेरिकामै सबैभन्दा बढी नेपालीको बसोबास रहेको टेक्सास राज्यको डालस सहर नजिकैको अर्भिङ । यहाँ रहेको टोयोटा म्युजिक फ्याक्ट्रीमा २४ अगस्टको साँझ करिब साढे दुई घण्टा नेपथ्यका अमृत गुञ्जिए ।
अलिकति भासिएको झैं सुनिने स्वरमा आफ्ना प्रिय गायकलाई दशकपछि सुनेका नेपाल अमेरिका पत्रकार संघ ९नेजा०का अध्यक्ष सुरज भण्डारी विश्वभरि फैलिएका नेपालीलाई संगीतको माध्यमबाट जोड्न यसखाले प्रस्तुतिको ठूलो भूमिका रहने बताँउछन् ।
‘मलाई मात्र यस्तो महसुस भएको पक्कै पनि होइन । उहाँको प्रस्तुति सुनेका कैयौं दिनसम्म पनि कानमा उहाँ एकोहोरो गुञ्जिरहनुहुन्छ,’ उनी भन्छन् ।
अमृतले गाउञ्जेल हलमा ताली मात्रै सुनिएन, उनको स्वरमाथि आफ्नो स्वर खाप्दै दर्शकहरुले मनोरञ्जन लिए । शब्द, स्वर र संगीतको मुर्छनाले दर्शकलाई ध्यान अन्त मोड्नै दिएन । संगीतले लोलाएका दर्शकहरुले ध्यानमग्न भएर नाच्दै मजा लिए ।
प्रस्तुतिको बीचबीचमा अमृतले दर्शकहरुलाई गाउँघर सम्झाए । नरनाता, खेतखलियान, भीरपाखा, गामबेंसी, मेलापात, रोधी(मादल आदि अनेक थोक सम्झाँउदै र बेलाबेला मातृभुमि जान समेत आग्रह गरे । समग्रमा भनौं उनले देश सम्झाए ।
अमृत थप्थे, ‘पढ्न नपाएका बच्चा र उपचार पर्खिरहेका रोगीहरुलाई गच्छेअनुसार आफ्नो कमाइको थोरै भएपनि भाग छुट्याउनुहोस है ।’ आज्ञाकारी बच्चा झैं हरेक दर्शकले एकै स्वरमा भन्थे, ‘हुन्छ ।’
भीडमा नाचिरहेका एक दर्शक वेद बस्नेत नेपथ्यलाई नेपाली डायस्पोराका लागि अनौपचारिक सांस्कृतिक दूत ठान्छन् । पछिल्लो पाँच वर्षमा दोस्रोपटक नेपथ्यका कन्सर्ट हेरेका बस्नेत भन्छन्, ‘यो ब्यान्डले लामो भविष्यसम्म नेपाली मनोरञ्जन जगतमा प्रभाव कायम राख्नेछ ।’
तीन दशकअघि स्थापित नेपथ्य बितेको १८ वर्षमा संसारका १८ वटा देशमा पुगिसकेको छ । नेपथ्यको इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था नेपालयका निर्देशक अर्पण शर्माका अनुसार यस बीचमा विश्वका ४४ सहरमा ८५ वटा कन्सर्ट नेपथ्यले गरिसकेको छ । पश्चिम एसियका खाडी मुलुकदेखि युरोप, अमेरिका र अस्ट्रेलियाका हरेकजसो नाम चलेका सहरमा नेपाली संगीत स्वाद लिएर पुगेको छ ।
नेपथ्यका गीतबारे अर्पण भन्छन्, ‘नेपथ्यका प्रस्तुतमिा ठेट नेपाली शब्द र संगीतमा थोरै आधुनिकता मिसाइएको हुनाले हजुरबुबादेखि नातिसम्मको पुस्ताले सुन्ने गरेको हो ।’
लोकरक बान्कीमा गाइएका गीतका कारण नेपथ्य नेपालभित्र र नेपाल बाहिरको नेपाली समाजमा सर्वाधिक रुचाइएको सांगीतिक ब्यान्ड बन्न सफल भएको हो । संगीतको माध्यमबाट लोकप्रियता हासिल गर्नु अलग कुरा भयो, नेपथ्यले त्यसका अतिरिक्त बलियो सामाजिक पहिचान समेत बनाएको छ ।
विशेषगरी द्वन्द्वले थिलथिलो बनाएको समाजलाई शान्ति र शीतलता महसुस गराउन नेपथ्यले चलाएको अभियानलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । ‘हामी प्रस्तुतिको गुणस्तर खस्किन दिंदैनौं,’ अर्पण भन्छन्, ‘दर्शकको नेपथ्यप्रतिको रुचि र माया बढिरहनुको खास कारण यही हो ।’ from onlinekhabar