थुम्केको पर्यटन प्रवर्द्धन गर्न ‘पदयात्रा’(फोटो फिचर)

द्वारा प्रकाशित गरिएको हो |
२०८१ भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलाम,३०भदौः सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ । यहाँ रेडपाण्डा, थरिथरिका चरा, वनस्पतिको अध्ययन गर्न तथा सूर्योदय र कञ्चनजङ्घा हिमाल नियाल्न पर्यटक पुग्ने गर्दछन् ।

पर्यटकको बसोबासका लागि आठ वटा घरमा घरबास सञ्चालित छन् । एउटा हामेस्टेमा छ देखि १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको होमस्टे सञ्चालक रविन बुढाथोकीले बताए । उनका अनुसार सम्भावना भएर पनि भौगोलिक कठिनाइका कारण ओझेलमा परेको थुम्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक सय २० जनाले दुई दिनको पदयात्रा आज सम्पन्न गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ सूर्योदय नगर कमिटी र १ नं वडा कमिटीको अगुवाइमा आयोजित पदयात्रामा वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र युवाको सहभागिता थियो ।

“दुई हजार तीन सय मिटरको उचाइमा रहेको थुम्केमा रेडपाण्डा पाइनुका साथै सूर्योदयको झुल्केघाम देखिन्छ । आठ हजार पाँच सय ८६ मिटिरको कञ्चनजङ्घा हिमाल देख्न सकिन्छ”, पदयात्रा आयोजक समितिका अध्यक्ष सन्देश खड्काले भने, “बस्ती पातलो छ । घना जङ्गल भएकाले यहाँ लेकाली क्षेत्रमा प्रशस्त जडीबुटी पाइन्छन् ।” सूर्योदय–१ ठूलो भूगोल भएकाले मकर्जुङ्गबाट अन्तिम सीमा लामीधुरासम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा पर्यटकलाई समस्ती हुने गरेको उहाँको बुझाइ छ ।

“भारतीय बाटो भएर आउने भारत, भुटान, बङ्गलादेशलगायत देशका पर्यटकलाई केही सकज छ । नेपाली र नेपाली बाटो प्रयोग गरी यहाँ पुग्ने पर्यटकलाई भने यात्रा जोखिमपूर्ण नै छ”, अध्यक्ष खड्काले भने । यो क्षेत्रमा दुर्लभ चरा र जनावरहरु पाइने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँका रुपमा रहेको चरा खोजकर्ता देवेन्द्र खरेलले बताए ।

“दुई वर्षअघि मैले यहाँ सीमधापमा रुप्स नेक्ड हर्नबिल ९नेपाली नाम हङ्रायो० फेला पारेको थिएँ”, उनले भने, “लोप भएका चरा एक सय ९२ वर्षपछि विसं २०७८ पुस ६ गते फेला परेको थियो । अझै पनि यो घना जङ्गलमा थुप्रै चरा भेटिन्छन् । केही दिन बास बसेरै खोज्नुपर्छ ।”

सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा ओझेलिएको पर्यटकीय क्षेत्रलाई उजागर गर्न ठूलो सङ्ख्यामा पदयात्रा आयोजना गरिएको सङ्घका नगर कमिटी अध्यक्ष उदय हाङ फागोले बताए । “यो क्षेत्र विकास निर्माणमा पछि परेको छ । प्रचारप्रसार र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यहाँ अथाह सम्भावना छन्”, उनले भने, “हामीले स्थानीय स्तरका सबै दल र तिनका भातृसङ्घठनको साथ पायौँ । यो कार्यक्रम सबैको साझा प्रयासमा आयोजना भएको हो । हाम्रो यो प्रयास थुम्केको मुहार फेर्न पहिलो खुड्किलो बन्नेछ ।”

थुम्केबाट दुई घण्टाको पैदल यात्रामा भारतीय सीमाक्षेत्र लामिधुरा पुगिन्छ । पदयात्रीले त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएर ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतसमेत गएका छन् । सबै जातजातिको साझा बसोबास भएको ठाउँ भएकाले सूर्योदय–१ संस्कार, संस्कृतिमा धनी रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताए । उनका अनुसार यहाँ क्षेत्री ब्राह्मण, राई लिम्बू, दमाईंकामी, लोपोन्मुख जाति लेप्चा र थामी समुदायको बसोबास छ ।

वडाध्यक्ष शेरेङले भने, “मकर्जुङ्गको सिंह बाहिनी मन्दिर, गोर्खेको राम मन्दिर, बाङ्गिनमा थामी जातिको भुमेथान, साकेला मन्दिरलगायत आआफ्नै जातीका फरक देवालय छन् । सहिस्णुता र सामाजिक सत्भावमा हामी एककदम अगाडि छौँ ।”

पदयात्राका क्रममा समथर मकर्जुङ्ग गाउँको सिंह बाहिनी मन्दिर र सप्तऋषि, सीमधापको नागमन्दिर, बाङ्गिनको सेडुप छ्यार खोलिङ गुम्बा, चुम्लुङ, मिलनचोक, चियाबारी डाँडा ९मगर गाउँ०, भुमेथान, थुम्के, लामिधुरा भएर गोर्खेको देवी मन्दिर, राममन्दिर र यहाँको ऐतिहासिक महत्वका बारेमा जानकारी दिइएको युवा सङ्घ नगर कमिटीका उपाध्यक्ष प्रमोद सापकोटाले जानकारी दिए ।

पदयात्रीलाई विभिन्न टोलले विभिन्न जातजातिका झाँक्री प्रदर्शन गरेर खाँदा माला र अबिरले स्वागत तथा सत्कार गरेका थिए । उनीहरुले यति ठूलो सङ्ख्यामा यात्रा गराएर पर्यटन प्रववर्द्धनमा टेवा पु¥याइदिएको भन्दै युवा सङ्घलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय