‘नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो’

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः हावा त त्यहाँ पनि चलेकै थियो । तर,प्रदुषित धुवाँ, धुलो र तातो घामको मिश्रणले भरिएको थियो । स्वासप्रस्वासका हरेक चरणमा मैले इलामको चिसो मौषम, स्वच्छ हावा र कल–कल खोला सम्झिरहेँ । जब–जब म इलाम छोडेर टाडाको यात्रामा निस्कन्छु, तब मलाई मेरो गाउँ झनै प्रिय लाग्छ । पल–पल सम्झिरहन्छु यहाँको प्राकृतिक एसी । लाग्छ इलाम झैँ सित्तल, शान्त र आनन्दित वातावरण नेपालमै छैन । कवि भूपि शेरचनले त्यसै भनेका रहेनछन्, ‘मलाई नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो ।’ साँच्चै मलाई पनि कवि शेरचनलाई जस्तै यहाँको स्वच्छ हावा सबैतिर छर्न मन लाग्यो । लाखौँ खर्चिएर बनाईएका कृतिम एसीलाई तोड्न इलामको मौषम बाँढ्न मन लाग्यो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्ला प्रतिनिधिहरुलाई भेला गराएर तालिम दिईरहन्छ । त्यसैको सिलसिलामा म तीनपटक चितवन, काठमाण्डौँ र जनकपुर पुगेँ । त्यसक्रममा तराईका अधिकांश जिल्ला पुगियो । सबैजसो जिल्लामा उस्तै मौषम । म तीन पटक नै बिरामी परेँ । मलाई इलामले सम्झाईरह्यो । कलाकार रोशन गुरुङको गीत गुनगनाईरहेँ, ‘इलामले सम्झायो मायाँ….’

जनकपुरमा मेरो तालिम वातावरणीय अधिकारसँग सम्बन्धित थियो । घर फर्किएपछि प्राज्ञ डा.दिनेश भूजूले प्रशिक्षणका क्रममा भनेको सम्झिएँ, ‘विश्वको अर्थतन्त्र, समाज र वातावरण सन् २०१८ सम्म उस्तै गतिमा विकसित छ । सन् २०१८ मा विश्वको प्रतिब्यक्ति आय फराकिलो अन्तरमा बढ्यो । नेपाली समाजमा कुनैबेला मानिसको आयु ३५ बर्ष मात्रै थियो । तर, सोही समयबाट बढेर ७२ बर्षमा पुग्यो । तर, वातावरणमा ठुलो असर छ । कार्बन उत्सर्जन डरलाग्दो छ । विश्वका विकसित देशहरुको कारण नेपालले हानी बेहोरेको छ । देशले क्षतिपूर्ति पाउन विश्वसँग माग गर्नुपर्छ । अब वातावरण जोगाउन नसके हामी बिलिन हुनेवाला छौँ ।’

मलाई इलामको वातावरणप्रति चिन्ता जाग्यो । यहाँ प्राकृतिक उपहार नै सुन्दर वातावरण छ । विकास निर्माण विस्तारै हुँदैछ । मानिस सम्पन्न छैनन् । तर, प्रकृतिको काखमा डुबुल्कि मार्न पाएर उत्साहित पक्कै छन् । त्यैपनि हाम्रो वातावरण जोगाउन नसकेर स्वास फेर्न गाह्रो हुने अवस्था आयो भने इलामको पहिचान मेटिनेछ । विश्वले चिनेको इलाम गुमनाम हुनेछ । गर्मी छल्न स्वर्ग ठानेर हावा लिन आउने पर्यटक फेरी कहिल्यै नआउने गरि हराउने छन् । पर्यटनबाटै आर्थिक समृद्धिको सपना देखेको इलामको अस्तित्व मेटिन सक्छ । त्यसैले प्रिय इलामबासी हामी यहाँको पर्यावरण जोगाउन लागौँ । हातमा हात र काँधमा काँध मिलाएर वृक्षारोपण गरौ । खानेपानी संरक्षण गरौ । यहाँका फोहोर व्यवस्थापन गरौ । स्थानीय सरकारसँग मिलेर वातावरणीय अधिकारका क्षेत्रमा परिणाम आउनेगरि काम गरौँ । म मेरो ठाउँबाट हरदम लाग्ने प्रण गर्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय