रोशन काफ्ले, माइजोगमाई (इलाम)– इलामको माइजोगमाईमा आज (बुधबार) देखि भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
माइजोगमाई–४ स्थित ज्योति स्पोर्टिङ क्लबको आयोजनामा विजया दशमी अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
खेलको सम्पूर्ण तयारी पूरा भएकोआयोजक समितिले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल असोज २४ गते फूलपातीको दिन हुनेछ ।
फाइनलको दिन अन्य मनोरञ्जनात्मक डोरी तान्ने, भाले झिक्ने, पिलो फाइटिङ, हन्डी फुटाउनेजस्ता खेलसमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
ज्योति स्पोर्टिङ क्लबले प्रत्येक वर्ष आयोजना गर्दैआएको प्रतियोगितामा यो वर्ष १७ टिम सहभागी हुँदैछन् । भोलि चार टिमबीच दुई खेल हुनेछन् । उद्घाटन खेल आयोजक ‘ए’ र राइजिङ स्टारबीच हुनेछ । दोस्रो खेलमा चारघरेको सिजिएफसीले सूर्योदय ११, सुन्तलेको सामना गर्नेछ ।
विजेता टिमले नगद ७० हजार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताको भागमा नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालगायतले समेत पुरस्कार प्राप्त गर्नेछन् । सेभेन साइट फम्र्याटमा आयोजक क्लबकै खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।