
इलामः पहिरोले अवरुद्ध भएको फिक्कल–नयाँबजार सडकखण्ड सुचारु भएको छ । अविरलको बर्षापछि सूर्योदय नगरपालिका–९ ढोडेमा गएको ठुलो पहिरोले कालोपत्रे सडकको बिच भागसम्म बगाएको थियो ।
बिहिबार दिउँसो सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, वडा नं ९ का वडाध्यक्ष देबेन्द्र आचार्य लगायतले स्थलगत निरिक्षण गरेर सुरक्षाको लागि सवारी आवात जावत पूर्ण रुपमा बन्द गरिएको थियो ।



शुक्रबार(आज) बिहान नगरप्रमुख राई र प्रदेश साँसद खिनु लङ्वा लिम्बूले पुनः अनुगमन गरि तत्कालका लागि एकतर्फी बाटो सञ्चालनमा ल्याउन भनेपछि साँझबाट सवारी सञ्चालन हुन थालेको छ ।
भत्किएको सडकको नालीमा माटो भरेर भित्तापट्टि सवारी चल्न सक्ने बनाईएको छ । ‘यो अस्थाई समाधान हो ।’ नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, ‘पहिरो ठुलो छ । तत्काल निर्माण गर्न असम्भव हुनेभएपछि चाडपर्वको समयलाई मध्यनजर गर्दै सवारी चल्दै गर्ने बाटो बनाएका हौँ ।’ उपल्लो तहको सरकारसँगको समन्वयमा छिट्टै बजेट छुट्यार दिर्घकालिन रुपमा गुणस्तरीय सडक निर्माण गरिने नगरप्रमुख राईले बताउनुभयो ।
दशैँको समयमा आवातजावत बन्द हुँदा गाउँबाट बजार गएर सामान खरिद गर्ने उपभोक्ता समस्यामा परेका थिए । नगरपालिकाले तत्कालै अवरोध खुलाईदिँदा उत्तरपुर्वी क्षेत्रका बासिन्दाले राहात महसुस गरेका छन् ।