खानेपानीको मुहान बनिँदा फिक्कलका एक हजार ६ सय परिवारलाई राहात

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलाम,१८असोजः सूर्योदय नगरपालिका–१० फिक्कल बजारका एक हजार छ सय परिवारको खानेपानी समस्या समाधान भएको छ । पहिरोले मुहान बगाएपछि खानेपानी वितरण प्रभावित हुँदा अभाव झेलिरहेका स्थानीयको पानी समस्या नगरपालिकाले समाधान गरिदिएको छ । ५ दिनपछि शुक्रबार(साँझ) बाट खानेपानी पुनः वितरण सुरु भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा ४ अनुसार प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी र सरसफाईको हक हुने छ भनि उल्लेख गरिएको छ । नागरिक खानेपानीबाट वञ्चित हुनु नपरोस भनि पालिकाले तीनवटा ट्याङ्करबाट पानी वितरण गरिरहेको थियो ।

गत साता भारी बर्षाका कारण पानीको मुहान क्षेत्र सूर्योदय–१ स्थित श्रीखोलामा पहिरो जाँदा पाँच सय मिटर मुख्य पाईपलाईन र सडक बगाएको थियो । पहिरोले खानेपानीमा ४५ लाख बढीको क्षति गरेको फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एवम् नगर उपप्रमुख दुर्गा कुमार बरालले बताउनुभयो ।

‘मुहानसम्म पुग्ने सडक बगाएको थियो । सडक बनाउँन मोटो रकम लाग्ने भयो । पहिरोले ३० वटा पाईप बबगायो । त्यहाँ नयाँ पाईप बिछ्याउन पनि नयाँ रुट खोल्नुपर्ने भयो ।’ अध्यक्ष बरालले भन्नुभयो, ‘१५ लाखको पाईप खरिद गरि मुहानमा पुर्र्याएर पानीझरीमा काम गरियो । निर्माण कार्य धमाधम भयो । पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत अन्य कामदार दिनरात खटिइएर पानी आयो ।’

नगरपालिकाको केन्द्र फिक्कल बजार सहित आसपासका गाउँमा उक्त आयोजनाले खानेपानी धानेको छ । दैनिक पाँच लाख लिटर पानी खपत हुने गरेको आयोजनामा क्षति हुँदा एक हजार छ सय मध्ये करिब एक हजार घर परिवारलाई पानीको हाहाकार भईरहेको थियो ।

कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयको केन्द्र फिक्कल बजारमा दिनहुँ पर्यटकको बाक्लो चहलपहल हुन्छ । यहाँको दर्जनौ होटल व्यवसाय खानेपानी अभावमा चौपट भएका थिए । व्यवसायीहरुले स्थानीय धारो, कुवा लगायत आकासको पानी जम्मा गरेर व्यवसाय चलाईरहेका थिए ।

बर्सेनी पहिरोले श्रीखोलास्थित खानेपानीको मुहान बगाउँदा लाखौँको क्षति हुने गरेको छ । एक करोड लिटर पानी रिजर्भ हुनेगरि ट्याङ्की बनाउने समितिको योजना टुङ्गोमा पुग्न बाँकी रहेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय