सूर्योदय–४ तकपतमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर आयोजना गरिँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सूर्योदय नगरपालिका–४ श्रीअन्तु (तकपत)स्थित विन्ध्यावासिनी मन्दिर परिसरमा विभिन्न रोगको जाँचका लागि विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । विन्ध्यावासिनी मन्दिर संरक्षण समितिले आउँदो मङसिर ०१ गते शिविर सञ्चालन गर्न लागेको हो ।

ओम साई पाथिभरा अस्पताल झापाको विशेषज्ञ सेवा र साना किसान सहकारी संस्थाको सहयोगमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष गोकर्ण प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

शिविरमा कन्सल्टेन्ट फिजिसियन डा.डालिम काफ्ले, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.प्रविन तिम्सिना, कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा.सुवास बस्नेत र कन्सलटेन्ट प्रसुति रोग विशेषज्ञ डा.जय कुमार ठाकुरले सेवा दिने स्थानिय शिक्षक ओमकार खतिवडा(शर्मा) ले बताउनुभयो । उहाँका अनुसार, ई.सि.जि तथा सुगर जाँच निशुल्क हुनेछ ।

‘मन्दिर नजिकै गुम्बा पनि छ । यो क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन गर्ने प्रयास हुँदैछ ।’ शर्माले भन्नुभयो, ‘श्रीअन्तु आफैँमा पर्यटकीय गन्तब्य हो । त्यसमा धार्मिक पर्यटन थप्ने प्रयत्नमा छौँ ।’

०७३ सालमा तकपतमा आयोजित देशभरिका रिजाल बन्धुहरुको भेलामा बरिष्ट डा.भोला रिजालले यहाँ मन्दिर बनाउन प्रोत्साहन गर्दै ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्थानिए जुर्मुराए । ‘सदानन्द रिजालले मन्दिर बनाउन टार बारीको दुई रोपनी जग्गा दान दिनुभयो । विधान समिति बन्यो । जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा दर्ता गर्यौँ ।’ मन्दिर संरक्षण समितिका सचिव बलराम रिजालले भन्नुभयो, ‘दाताहरुबाट रकम उठ्यो, सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारबाट सहयोग मिल्यो । हाल भौतिक रुपमा मन्दिर निर्माण भएको छ । दाताबाट मूर्ती पनि पाएका छौँ ।’

मङसिर १८ गते विधिवत रुपमा मन्दिर. उद्घाटन गर्ने तयारी छ । मन्दिर निर्माण भएको खुसीमा सामाजिक कार्य गरौँ भन्ने ध्येयले शिविर सञ्चालन गर्न लागेको अध्यक्ष रिजालले बताउनुभयो । मन्दिरका लागि शौचालय, खानेपानी लगायतका अन्य संरचना बनाउन भने बाँकी नै रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय