आत्मानन्द गोल्डकपः दमक भाङबारी सेमिफाइनलमा प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माङसेबुङ (इलाम)ः झापाको दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक ९युथ अफ माङसेबुङ० इलाममाथि ४–१ को सानदार जित निकाल्दै दमक भाङबारी सेमिफाइनल प्रवेश गरेको हो ।

राष्ट्रिय खेलाडी र ए डिभिजन क्लबका खेलाडीको बर्चस्व रहेको दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङ्वा लिम्बूले गोल गरे । आयोजकका लागि भने एकमात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको पहिलो हाफको १२ औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४–१ को जित दिलाए ।

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

प्रतियोगिताअन्तर्गत भोलि मंगलबारको खेल दूधे युथ क्लब झापा र चुलाचुली स्पोर्टिङ क्लब झापाबीच हुने आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् । अन्य उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ ।

मुहिङगुम अङ्सिमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को ७१औं जन्मोत्सव, मुहिङगुम अङ्सिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोहको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता जारी छ ।
फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय