इलाम– इलामको माइजोगमाई गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा साथ खोप समन्वय समितिले यस्तो घोषणा गरेको हो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क तथा सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले बताए ।
‘राष्ट्रिय खोप तालिकाअनुसार पालिकाका छ वटै वडाका खोप लगाउने उमेरसमूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो,’ उनले भने ।



प्रत्येक वडाका वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेका छन् । कार्यक्रम गाउँपालिका खोप समन्वय समिति संयोजक तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको अध्यक्षता एवं जिल्ला खोप समन्वय समितिसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
गाउँपालिका खोप समन्वय समिति सहसंयोजक तथा पालिका उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, छ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, वडाका जनप्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालगायत कार्यक्रममा सहभागी थिए ।
पूर्णखोप अभियानमा खटिएका छ स्वास्थ्य स्वयंसेविका र छ स्वास्थ्य संस्थालाई कार्यक्रम अवसरमा सम्मान पनि गरियो ।

