ज्योति मा.विका विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०८२ पुष १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रविन बिसी, इलामः इलामको सूर्योदय नगरपालिका–१३ स्थित ज्योति माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष सोमप्रसाद कटेल तथा अभिभावक घनश्याम कटेलको सहयोगमा करिब ३८ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम चाम्लिङ राई, प्रविन बिसीसहित विद्यालयका पदाधिकारी, शिक्षकहरू तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पूर्व प्रधानाध्यापक शिक्षक दीपक पौडेलका अनुसार पोशाक निःशुल्क उपलब्ध गराइए पनि सिलाइ खर्च भने अभिभावकहरूको सहमतिमा वहन गरिएको हो। यसबाट अभिभावकहरूलाई ठूलो आर्थिक भार नपर्ने र सहज वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो।

विद्यालयका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि पिन कलरको सर्ट र खैरो पाइन्ट विद्यालय पोशाकका रूपमा निर्धारण गरिएको छ। आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म पनि यही पोशाक अनिवार्य गर्ने तयारी भइरहेको छ। कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि भने गत वर्षदेखि नै कोट–पाइन्ट कायम गरिएको विद्यालयले जनाएको छ।

सामुदायिक विद्यालयको छुट्टै पहिचान कायम गर्दै विद्यार्थीहरूमा उत्साह थप्ने तथा आर्थिक रूपमा कमजोर अभिभावकहरूलाई राहत दिने उद्देश्यले पोशाक वितरण गरिएको शिक्षक–अभिभावक संघका अध्यक्ष सोमप्रसाद कटेल र दाता घनश्याम कटेलले बताए।

निःशुल्क पोशाक पाएपछि विद्यार्थीहरू खुसी देखिएका थिए भने अभिभावकहरूले पनि आर्थिक भार कम भएको भन्दै दाताहरूप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै निमित्त प्रधानाध्यापक ठविराज कटेल, शिक्षक तेजकुमार राईलगायतले विद्यालयजस्तो पवित्र शैक्षिक क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थी र शिक्षक दुवैमा उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम चाम्लिङ राईले विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर तथा विद्यार्थी हितका लागि समिति निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो। हाल विद्यालय होस्टेलमा बसोबास गर्ने २८ जना विद्यार्थीले निःशुल्क खाना र बसोबासको सुविधा पाइरहेको र पहिलो चरणमा निःशुल्क कापीसमेत वितरण गरिएको उहाँले बताउनुभयो।

विद्यालयको आफ्नै लोगो र क्यालेन्डर छापिएको कापी सुलभ मूल्यमा विद्यालयमार्फत वितरण भइरहेको जानकारी दिँदै अध्यक्ष राईले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरूले आफ्नो विषयप्रति पूर्ण जिम्मेवारी वहन गरी उत्कृष्ट नतिजा ल्याउनुपर्ने धारणा राख्दै विद्यार्थीको भविष्य सुरक्षित गर्न अभिभावकहरू सामाजिक खम्बाका रूपमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमको सञ्चालन पूर्व प्रधानाध्यापक शिक्षक दीपक पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय