इलामः इलाम क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेद्वार काजिमान कागते पूर्वी इलाममा सामाजिक र राजनीतिक रूपमा स्थापित नाम हो । सरल जीवनशैली, सहयोगी स्वभाव र सहज पहुँचका कारण स्थानीय तहमा लोकप्रिय व्यक्तित्वका रूपमा चिनिने कागते सामाजिक काममार्फत नै पहिचान बनाएका नेता मानिन्छन् ।
वि.सं २०१८ सालमा मोहनबहादुर र फूलमाया कागतेका सन्तानका रूपमा जन्मिएका कागते किशोरावस्थामै कम्युनिष्ट विचारसँग नजिकिएका थिए। भारतको पश्चिम बंगालस्थित जलपाइगुडीमा रहँदा भारतीय कम्युनिष्ट पार्टीसँग सम्पर्कमा पुगेका उनी २०४६ सालपछि नेपालमा सक्रिय वाम आन्दोलनमा सहभागी बने ।



उनको जनप्रतिनिधि यात्रा २०४९ सालको स्थानीय निकाय निर्वाचनबाट सुरु भएको हो, जहाँ तत्कालीन कन्याम गाविस वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि गाविस उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका कागते २०७४ सालको निर्वाचनमा इलाम–१ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए। । पार्टी संगठनमा समेत सक्रिय उनले एमाले क्षेत्रीय अध्यक्षको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् ।
माओवादी सशस्त्र द्वन्द्वका बेला पूर्वी इलाममा एमाले कमजोर हुँदा संगठन जोगाउन सक्रिय भूमिका खेलेका कागतेलाई स्थानीय रूपमा पार्टीको “खम्बा” का रूपमा पनि चित्रित गरिन्छ। पार्टी सुदृढीकरणका लागि गाउँगाउँमा सक्रियतापूर्वक काम गर्दै संगठन विस्तारमा योगदान दिएको उनको राजनीतिक यात्रासँग जोडिन्छ ।
चिया किसानका समस्यामा पनि उनले नेतृत्वदायी भूमिका खेलेका छन् । हरियोपत्तीको मूल्यमा उद्योगहरूको सिण्डिकेटविरुद्ध आन्दोलनको अगुवाइ गरेका कागतेले किसानको उत्पादन भारतसम्म निर्यात गरी राहत दिलाउने प्रयास गरेका थिए । चिया क्षेत्रको दीर्घकालीन समाधानका लागि प्रशोधन उद्योग स्थापना अभियानमा सक्रिय उनी चिया तथा कफी विकास बोर्डको सदस्यका रूपमा दुई कार्यकाल काम गरेका छन् । सो अवधिमा चिया रोपणका लागि किसानले लिएको ऋणको ब्याज तथा हर्जना मिनाहा गराउन सफल भएको उनले बताउँदै आएका छन् ।
सामान्य कृषक परिवारबाट राजनीतिमा आएका कागते जनप्रतिनिधि हुनु अघि खेतीपाती, निर्माण र मजदुरीमा संलग्न थिए । वडाध्यक्ष उम्मेदवार बनेपछि अधुरै घर छाडेर चुनावमा होमिएको प्रसंग स्थानीय रूपमा चर्चित छ । सामाजिक काममा व्यस्त रहँदा आफ्नै घर अधुरै रहेको किस्सा उनले हास्य शैलीमा सुनाउने गरेका छन् ।
शिक्षा क्षेत्रमा पनि उनको योगदान जोडिन्छ । कन्यामस्थित श्रीकृष्णाश्रम माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका रूपमा १५ वर्ष काम गर्दै विद्यालयको शैक्षिक सुधारमा भूमिका खेलेका उनले त्यही विद्यालयमा प्लस टु अध्ययन सुरु गराउन पहल गरेका थिए ।
सामाजिक सेवामा सक्रिय कागतेले नागरिकता, पासपोर्ट, जन्मदर्ता लगायत व्यक्तिगत काममा सहयोग गर्ने, बिरामी तथा विपद्मा परेकालाई आर्थिक र मनोवैज्ञानिक साथ दिने कार्यमा पनि सक्रियता देखाउँदै आएका छन्। स्थानीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै उनले धेरै विवाद मिलाएको अनुभव सुनाउने गरेका छन् ।
समाज र विकासका आवश्यकताबारे अनुभवी मानिएका कागते यही सामाजिक र राजनीतिक पृष्ठभूमिका साथ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट मुख्यतः चार उम्मेद्वार बढी चर्चामा छन् । नेकपा (एमाले) का उम्मेदवार काजिमान कागते, नेपाली कांग्रेसका निस्कल राई, नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राई र रष्ट्रिय स्वतन्त्र पार्टीका विमल गधालको चुनावी चर्चा चुलिएको छ ।

