इलामः हरियो मौनताभित्र समयसँगको संवाद(नियात्रा)

द्वारा प्रकाशित गरिएको हो |
२०८३ श्रावण ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 14 मिनेट

तोमनाथ उप्रेती (उपसचिव, नेपाल सरकार)
बिराटनगरको बिहान सधैँ व्यस्त हुन्छ। सडकहरू हतारमा हुन्छन्। मानिसहरू घडीसँग दौडिरहेका हुन्छन्। कतै कार्यालय पुग्ने आतुरता छ, कतै विद्यालयको घण्टी समात्ने हतार, कतै बजार खुल्ने प्रतीक्षा र कतै जीवनको दैनिक संघर्ष। सहरको प्रत्येक चोकमा समयले अदृश्य सिठी फुकिरहेको हुन्छ र मानिसहरू त्यसैको तालमा दौडिरहेका हुन्छन्। तर त्यो बिहान मेरो यात्रा घडीसँग होइन, समयसँग थियो। म इलामतिर निस्किएको थिएँ।पहाड हेर्न मात्र होइन, चियाबारी घुम्न मात्र होइन, आफ्नै चेतनाको अर्को तह भेट्न।

मलाई सधैँ लाग्छ, यात्रा भनेको एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन। यदि यात्रा दूरी घटाउने प्रक्रिया मात्र हुन्थ्यो भने संसारका सबैभन्दा महान् यात्री जहाज र रेल हुने थिए। तर यात्रा दूरीको गणित होइन, अनुभूतिको रसायन हो। बाटाहरूले शरीरलाई अघि बढाउँछन्, तर यात्राले आत्मालाई। गन्तव्यले स्थान बदल्छ, यात्राले दृष्टि बदल्छ। त्यसैले कुनै पनि यात्रा सकिँदा हामी पहिलेका जस्ता रहँदैनौँ।

जीवन स्वयं पनि एउटा यात्रा नै हो। जन्म पहिलो पाइला हो, मृत्यु अन्तिम विश्राम। यी दुई किनाराबीच हामी असंख्य उकालो, ओरालो, मोड र दोबाटाहरू पार गर्छौँ। कहिले सफलता फूलझैँ फुल्छ, कहिले असफलता काँडाझैँ बिझाउँछ। तर यात्राको मूल्य हामी कति छिटो पुग्यौँ भन्नेमा हुँदैन, हामी कति गहिरो भयौँ भन्नेमा हुन्छ। यात्रा मानिसलाई बाहिरी संसारभन्दा पहिले आफ्नै भित्री संसारसँग परिचित गराउने विद्यालय हो।
घरभित्र बस्दा संसार एउटा झ्यालबाट मात्र देखिन्छ। यात्रा सुरु भएपछि पृथ्वीका हजारौँ झ्यालहरू एकैपटक खुल्न थाल्छन्। प्रत्येक घुम्तीले एउटा नयाँ दृश्य मात्र देखाउँदैन, एउटा नयाँ प्रश्न पनि सोध्छ। प्रत्येक नदीले समयको कथा सुनाउँछ। प्रत्येक पहाडले धैर्य सिकाउँछ। प्रत्येक वनले मौनताको भाषा बोल्छ। अनि प्रत्येक अपरिचित अनुहारले सम्झाउँछ,मानिसको पहिचान उसको ठेगानाले होइन, उसको संवेदनाले बन्छ।

गाडी बिस्तारै पूर्वतर्फ अघि बढ्दै थियो। झ्यालबाहिर बिहानको सुनौलो घाम खेतका हरिया बालीमाथि छरिन थालेको थियो। चराहरू आकाशमा आफ्नै लयमा उडिरहेका थिए। सूर्य क्षितिजबाट बिस्तारै माथि उक्लँदै थियो। त्यस क्षण मनमा एउटा विचार आयो।सूर्य कहिल्यै हतार गर्दैन, तर ऊ कहिल्यै ढिलो पनि हुँदैन। प्रकृतिमा समयसँग कुनै संघर्ष छैन। संघर्ष त मानिसले आफैँ सिर्जना गरेको हो। घडीको काँटाले मानिसलाई बाँधेको छ, तर नदी, वन र हिमाल अझै पनि आफ्नै शाश्वत लयमा बाँचिरहेका छन्।

सायद त्यसैले यात्रा आवश्यक हुन्छ। यात्राले हामीलाई केही समयका लागि घडीको शासनबाट मुक्त गराउँछ। यात्राले फेरि प्रकृतिको समयसँग जोडिदिन्छ। नदीको बहावसँग, हावाको स्पर्शसँग, बादलको यात्रासँग र आफ्नै मुटुको धड्कनसँग। जब मानिस प्रकृतिको लयमा फर्किन्छ, तब उसले थाहा पाउँछ शान्ति कुनै गन्तव्यमा भेटिने वस्तु होइन, त्यो त यात्राको बीचमा, प्रत्येक सासमा, प्रत्येक दृश्यमा र प्रत्येक मौनतामा लुकेको हुन्छ।

बिराटनगर बिस्तारै पछाडि छुट्दै थियो। तर मलाई लाग्यो, म कुनै सहर मात्र छोडिरहेको थिइनँ। म आफ्नै दैनिकी, आफ्नै हतार, आफ्नै निश्चितता र आफ्नै अहंकारबाट पनि केही पर जाँदै थिएँ। साँचो यात्राको पहिलो गन्तव्य नयाँ ठाउँ होइन, नयाँ दृष्टि हो। इलाम अझै धेरै टाढा थियो, तर यात्राले मेरो भित्रको एउटा नयाँ क्षितिज भने त्यही क्षणदेखि खोलिसकेको थियो।

सहरका अग्ला भवनहरू क्षितिजमा साना बिन्दु बन्दै गए। कङ्क्रिटका संरचनाहरू विस्तारै धानका खेतमा बदलिन थाले। हरिया खेतहरू फेरि साल, सिसौ र खयरका वनमा रूपान्तरित भए। वनहरू फेरि चुरेका उकालाहरूमा हराए। अनि ती उकालाहरू क्रमशः महाभारत पर्वतशृंखलाको विशाल काखमा विलीन हुँदै गए। केही घण्टाअघि एउटै भूगोलमा उभिएको मानिस अहिले अर्को भूगोलको भाषामा प्रवेश गरिरहेको थियो। प्रकृतिले कुनै घोषणा गरेन। उसले दृश्य बदल्दै गइन्। मैले मात्र परिवर्तन देख्न सिकेँ।

त्यो परिवर्तन केवल भूगोलको थिएन। त्यो समयको पनि परिवर्तन थियो। समथर भूमिबाट उकालोतिर उक्लँदा लाग्यो, मानौँ पृथ्वी आफैँ कुनै अदृश्य ग्रन्थ पल्टाइरहेकी छ। प्रत्येक उकालो एउटा अध्याय थियो। प्रत्येक घुम्ती एउटा प्रश्न। प्रत्येक डाँडो एउटा उत्तर। म सडकमा यात्रा गरिरहेको थिएँ, तर भित्रभित्रै चेतना पनि अर्को उकालो चढ्दै थियो।

त्यस क्षण एउटा गहिरो अनुभूति आयो—सभ्यता सिधा रेखामा अघि बढ्दैन। यदि इतिहास सिधा हुन्थ्यो भने मानिसले कहिल्यै संघर्ष गर्नुपर्दैनथ्यो। कुनै पनि महान् सभ्यता समथर भूमिमा जन्मिएको छैन। उसले नदी तरेको छ, पहाड चढेको छ, जंगल काटेको छ, आँधी र विपत्तिसँग जुधेको छ। विकासको प्रत्येक पाइला घुमाउरो छ। त्यसैले जीवनको मार्ग पनि सिधा हुन सक्दैन। जहाँ मोड छैन, त्यहाँ नयाँ दृश्य पनि हुँदैन।

गाडी प्रत्येक घुम्तीमा मोडिँदा मलाई आफ्नै जीवन सम्झना आयो। मैले पनि धेरै पटक आफूले रोजेको बाटोभन्दा परिस्थितिले दिएको बाटो हिँड्नुपरेको थियो। कतिपय मोडमा फर्किनुपरेको थियो। कतिपय उकालामा विश्राम लिनुपरेको थियो। त्यतिबेला ती मोडहरू बाधाजस्तो लागेका थिए। आज भने बुझ्दै थिएँ—घुम्तीले यात्रा लम्ब्याउँछ, तर दृश्य पनि त्यहीँबाट खुल्छ। जीवनका सबैभन्दा सुन्दर क्षितिजहरू सधैँ सिधा बाटोको अन्त्यमा होइन, घुमाउरा मोडपछाडि लुकेका हुन्छन्।

पूर्वका यी पहाडहरू करोडौँ वर्षको भूगर्भीय इतिहासका जीवित अभिलेख हुन्। भारतीय भूभाग उत्तरतर्फ धकेलिँदा पृथ्वीको गर्भबाट उठेका यी पर्वतहरूले हिमालयलाई जन्म दिए। त्यसपछि यिनले किराँत सभ्यताको पाइला देखे। लिम्बु र लेप्चाहरूको संस्कृति सुने। गोर्खाली एकीकरणको इतिहास भोगे। चियाका पहिलो बिरुवाहरूको हरियाली देखे। यिनले समयलाई बगिरहेको मात्र देखेनन्, आफ्नै काखमा सुरक्षित पनि राखे।

गाडीको झ्यालबाट बाहिर हेर्दा लाग्थ्यो, पृथ्वी आफैँ ध्यानमा बसेकी छ। वनहरू मौन थिए। हावा विस्तारै पातहरू चलाइरहेको थियो। कुनै हतार थिएन। कुनै प्रतिस्पर्धा थिएन। त्यस मौनताले एउटा आध्यात्मिक सत्य सम्झायो प्रकृतिले कहिल्यै आफूलाई प्रमाणित गर्न खोज्दिन। सूर्य आफ्नो प्रकाशको विज्ञापन गर्दैन। नदी आफ्नो बहावको घोषणा गर्दैन। पहाड आफ्नो उचाइको घमण्ड गर्दैन। महानता सधैँ मौन हुन्छ। सायद मानिसले पनि आफ्नो जीवनलाई शब्दभन्दा कर्मले, कोलाहलभन्दा शान्तिले, र अहंकारभन्दा विनम्रताले अर्थ दिनुपर्छ।

बिराटनगर धेरै पछाडि छुटिसकेको थियो। तर यात्रा अब मात्र सुरु भएको जस्तो लाग्दै थियो। मैले एउटा सहर छोडेको थिएँ, तर बदलामा एउटा दर्शन भेटिरहेको थिएँ। भूगोल अब नक्साको विषय रहेन। ऊ गुरु बनेको थियो। र म, उसका प्रत्येक घुम्तीबाट जीवनको अर्को पाठ सिकिरहेको एक साधारण यात्री।

जीवनको लय पनि यही हो। नदी सिधा बग्दैन, पहाड एकैचोटि उभिँदैन, इतिहास एकै दिनमा बन्दैन। प्रकृतिले सधैँ घुमाउरो बाटो रोज्छ, किनकि उसलाई गन्तव्यभन्दा यात्राको मूल्य थाहा छ। मानिसले मात्र सिधा बाटो खोज्छ। तर सिधा बाटोले धेरै टाढा पुर्‍याउँदैन। घुम्तीहरूले दृष्टि फराकिलो बनाउँछन्। उकालाहरूले धैर्य सिकाउँछन्। ओरालाहरूले विनम्रता। त्यसैले सभ्यताको विकास र मानिसको आत्मविकास दुवैको भाषा एउटै छ घुम्दै, लड्दै, उठ्दै र फेरि अघि बढ्दै।

केही बेरपछि इटहरी आइपुग्यो। सूर्य अब पूर्वको क्षितिज छोडेर आकाशको मध्यभागतिर उक्लिसकेको थियो। बिहानको कोमल उज्यालो विस्तारै परिपक्व प्रकाशमा बदलिँदै थियो। पूर्व–पश्चिम राजमार्गमा दौडिरहेका ट्रक, बस, मोटरसाइकल र मालवाहक कन्टेनरहरूले आधुनिक नेपालको एउटा जीवित चित्र कोरिरहेका थिए। कतै पहाडबाट आएका तरकारी तराईतिर झर्दै थिए। कतै भारतबाट आएका सामान हिमालतिर उक्लँदै थिए। मानिस, वस्तु, विचार र संस्कृतिहरू यही सडक हुँदै एकअर्कासँग भेटिरहेका थिए। लाग्थ्यो, सडकमा केवल सवारीसाधन मात्र दौडिरहेका छैनन्स एउटा राष्ट्रको अर्थतन्त्र, आशा र भविष्य पनि सँगै गुडिरहेका छन्।

इटहरीलाई हेर्दा मलाई यसको पुरानो इतिहास सम्झना आयो। कुनै समय यो भूभाग घना सालवनले ढाकिएको थियो। जङ्गली हात्ती र गैँडाको पदचाप सुनिने ठाउँमा आज व्यापारिक सहर उभिएको छ। कोशी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको संगमले एउटा सानो बस्तीलाई पूर्व नेपालको प्रवेशद्वार बनाइदियो। त्यस क्षण मैले महसुस गरेँ,भूगोलले सम्भावना दिन्छ, तर इतिहास त्यो सम्भावनालाई बाटोले साकार बनाउँछ।
म सोच्दै थिएँ,सडक केवल कालोपत्रे होइन। यो राज्यले समयमाथि कोरेको एउटा हस्ताक्षर हो। जहाँ बाटो पुग्छ, त्यहाँ विद्यालय पुग्छ। अस्पताल पुग्छ। पुस्तक पुग्छ। बजार पुग्छ। विचार पुग्छ। कहिलेकाहीँ एउटा सडकले दशकौँदेखि अलग्गिएको समाजलाई एउटै राष्ट्रिय संवादमा जोडिदिन्छ। इतिहासका धेरै परिवर्तनहरू युद्धले होइन, बाटोहरूले सम्भव बनाएका छन्। सभ्यताहरू नदी किनारमा जन्मिए, तर सडकले तिनलाई संसारसँग परिचित गरायो।

इटहरीलाई पछाडि छोड्दै गाडी पूर्वतर्फ अघि बढिरह्यो। केही बेरमै बायाँपट्टि चुरे पर्वतका हरिया रेखाहरू देखिन थाले। टाढाबाट हेर्दा ती कुनै चित्रकारले आकाशको किनारमा कोरेका मसीका हल्का रेखाजस्ता लाग्थे। तराईको गर्मी अझै हावामा बाँकी थियो। घामको तापले समथर भूमि तताइरहेको थियो। तर त्यही हावाभित्र कतै पहाडको चिसोपन मिसिइसकेको थियो। प्रकृतिले परैबाट अभिवादन गरिरहेकी थिई—ूआऊ, अब अर्को संसार सुरु हुँदैछ।

चुरे केवल पहाड होइन। ऊ तराई र हिमालबीचको मौन प्रहरी हो। उसले शताब्दीयौँदेखि उत्तरका नदीहरूलाई सम्हालिरहेको छ। भूमिगत जलको भण्डार जोगाइरहेको छ। वन्यजन्तुको आश्रय बनेको छ। भूगोलका पुस्तकहरूले उसलाई पर्वतश्रेणी भन्छन्, तर प्रकृतिको भाषामा ऊ जीवनको संरक्षक हो। चुरेको हरियाली हरायो भने तराईको हरियाली पनि धेरै दिन टिक्न सक्दैन।

झ्यालबाहिर हेर्दा मनमा एउटा सहज विचार आयो,प्रकृतिले कहिल्यै सीमारेखा कोर्दिन। नदीले आफ्नो किनारमा अध्यागमन कार्यालय राख्दैन। हावाले जिल्ला सोधेर बहँदैन। बादलले नक्सा हेरेर वर्षा गर्दैन। सूर्यले कुनै देशलाई बढी र कुनैलाई कम उज्यालो दिँदैन। सीमाहरू मानिसले बनाएको राजनीतिक सम्झौता हुन्स प्रकृतिको चेतनामा त पृथ्वी एउटा अखण्ड घर मात्र हो।

दमक आइपुग्दा पूर्व नेपालको अर्को लय भेटियो। इटहरीको द्रुत गतिभन्दा केही फरक, चारआलीको उकालोभन्दा केही अगाडिको तयारीजस्तो। यो सहरलाई हेर्दा लाग्थ्यो, यहाँ समयले केवल वर्तमान मात्र लेखेको छैनस विगतका अनेकौँ पाइला पनि सुरक्षित राखेको छ। सडकछेउका बजार, पसलहरू, चिया पसलमा गफिँदै गरेका मानिस, तरकारीले भरिएका ट्र्याक्टर र पूर्व–पश्चिम राजमार्गमा अविराम गुडिरहेका सवारीहरूले एउटा जीवित समाजको धड्कन सुनाइरहेका थिए। दमक केवल एउटा नगरपालिका होइन, पूर्व नेपालको परिवर्तनको एउटा साक्षी हो।

पहिलो दृष्टिमा दमक व्यापारको केन्द्र देखिन्छ। तर यसको वास्तविक कथा बजारभित्र होइन, मानिसहरूको स्मृतिभित्र लुकेको छ। विसं २०२० को दशकपछि मलेरिया नियन्त्रण, चन्द्रगढी–चारआली–दमक हुँदै सडक सञ्जालको विस्तार र तराईको उर्वर भूमिले हजारौँ पहाडी परिवारलाई यहाँ तान्यो। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा र संखुवासभाबाट मानिसहरू नयाँ जीवनको खोजीमा झरे। उनीहरूले जंगल फाँडे, खेत बनाए, बस्ती बसाए र भविष्य निर्माण गरे। एउटा भूगोलले अर्को भूगोललाई केवल ठाउँ दिएन, अवसर पनि दियो।
त्यस क्षण मलाई लाग्यो—तराईले पहाडलाई बोलाएको थियो। त्यो बोलावट शब्दमा थिएन, उर्वर माटोमा थियो। सहज जीवनको सम्भावनामा थियो। अनि पहाडले पनि त्यो निम्तो अस्वीकार गरेन। उसले आफ्ना संस्कृति, भाषा, गीत, परम्परा र श्रम बोकेर तराईलाई अँगाल्यो। यही आलिङ्गनबाट नेपालको आधुनिक सामाजिक भूगोल निर्माण भयो। देशको एकता कुनै राजनीतिक घोषणाले मात्र बनेको होइनस बसाइँसराइका हजारौँ मौन यात्राहरूले पनि त्यसलाई गहिरो बनाएका छन्।

मानिसहरू सरे। तर उनीहरूले आफ्नो इतिहास छोडेनन्। उनीहरूसँगै लोकगीत झरे। पर्वहरू झरे। बोलीहरू झरे। देवस्थलका विश्वास झरे। रोटीका स्वाद झरे। नयाँ ठाउँमा पुराना संस्कृतिहरूले नयाँ रूप लिन थाले। एउटा गाउँमा राईको साकेला, लिम्बूको चासोक तङ्नाम, गुरुङको ल्होसार, ब्राह्मण–क्षेत्रीको दशैँ–तिहार, मधेसी समुदायका पर्व र आदिवासी संस्कृतिहरू एउटै आकाशमुनि उत्सव बन्न थाले। विविधता प्रतिस्पर्धा बनेनस सहअस्तित्व बन्यो।

मलाई इतिहासकार फर्नाँ ब्रुडेलको एउटा विचार सम्झना आयो—सभ्यता राजाहरूले कम, मानिसहरूको दैनिक आवागमनले बढी बनाउँछन्। साँच्चै, नेपालको इतिहास बुझ्न दरबारहरू मात्र हेरेर पुग्दैनस बसाइँसराइका पदचाप पनि पढ्नुपर्छ। किनकि मानिस जहाँ पुग्छ, त्यहाँ आफ्नो संस्कृतिको एउटा बीउ रोप्छ। समयसँगै त्यो बीउबाट नयाँ पहिचान उम्रन्छ।

गाडी अगाडि बढिरहँदा म झ्यालबाहिर फैलिएका बस्तीहरू हेर्दै थिएँ। ती घरहरू इँटा, सिमेन्ट र टिनले मात्र बनेका थिएनन्। ती आशाले बनेका थिए। संघर्षले बनेका थिए। एउटा पुस्ताले देखेको सपना अर्को पुस्ताले पूरा गरिरहेको थियो। त्यसैले दमकलाई पार गर्दा मलाई एउटा सहर पार गरेको अनुभूति भएन। मैले नेपालभित्रको अर्को नेपाल देखेँ—जहाँ पहाड र तराईले एकअर्कालाई जित्न खोजेका छैनन्, बरु एकअर्कामा मिसिएर नयाँ नेपालको कथा लेखिरहेका छन्।

दमकबाट चारआलीतर्फ मोडिँदा यात्राको लय नै बदलियो। केही बेरअघिसम्म पूर्व–पश्चिम राजमार्गको समथर विस्तारसँगै दौडिरहेको गाडी अब उत्तरतर्फ मोडियो। दिशासँगै मन पनि मोडियो। समथर भूमिको निश्चितता विस्तारै समाप्त हुँदै थियो। अगाडि उकालाहरू प्रतीक्षारत थिए। राजमार्गले गति दिएको थियो, तर अब पहाडले गहिराइ दिन थालेको थियो। यात्राले जति भूगोल परिवर्तन गरिरहेको थियो, त्यति नै चेतनाको संरचना पनि।

चारआली सधैँदेखि मलाई एउटा साधारण चोकभन्दा बढी लागेको छ। यहाँ केवल सडकहरू छुट्टिँदैनन्स जीवनका दुई भिन्न संसारहरू पनि अलग हुन्छन्। एउटा बाटो समथरतर्फ जान्छ, अर्को उकालोतर्फ। एउटा सहज देखिन्छ, अर्को चुनौतीपूर्ण। यही दोबाटोमा उभिँदा मलाई लाग्यो—जीवनले पनि मानिसलाई बारम्बार यस्तै चारआलीहरू दिन्छ। जहाँ निर्णय सानो हुन्छ, तर त्यसको प्रभाव धेरै टाढासम्म फैलिएको हुन्छ। मानिसको नियति प्रायः यस्तै अनौपचारिक मोडहरूमा लेखिन्छ।
मेची राजमार्ग सुरु भयो। यही सडकले दशकौँदेखि तराईलाई इलाम, पाँचथर, ताप्लेजुङ र हिमाली सीमासम्म जोड्दै आएको छ। यो केवल यातायातको मार्ग होइन, पूर्व नेपालको सांस्कृतिक, आर्थिक र ऐतिहासिक धमनी हो। चियाको सुगन्ध, अलैँचीको व्यापार, पहाडका उत्पादन, विद्यार्थीका सपना, बिरामीको आशा र यात्रुहरूको उत्साह यही बाटो हुँदै आवतजावत गर्छन्। एउटा सडकले केवल दूरी घटाउँदैनस उसले मानिसहरूका अनुभवलाई पनि एकअर्कासँग जोडिदिन्छ।
गाडीले पहिलो उकालो समात्यो। इन्जिनको स्वर फेरियो। झ्यालबाहिरका रूखहरू अब तलबाट माथि उभिएका देखिन थाले। पहिलो घुम्ती आयो। त्यस घुम्तीले कुनै शब्द बोलेन, तर मेरो मनभित्र एउटा प्रश्न जन्मायो—तिमी पहाड चढ्दै छौ कि आफ्नै भित्र म केही क्षण मौन भएँ। साँच्चै, हामी यात्रामा कहाँ पुग्न खोजिरहेका हुन्छौँरु गन्तव्यसम्म कि आफैँसम्मरु मानिसले संसारका सयौँ ठाउँ घुम्न सक्छ, तर यदि उसले आफ्नै अन्तर्मनसँग भेट गर्न सकेन भने उसको यात्रा केवल स्थान परिवर्तन मात्र रहन्छ। आत्मबोध नभएको यात्रा पर्यटन होस आत्मबोध भएको यात्रा तीर्थयात्रा।

त्यही क्षणदेखि इलाम जाने यो यात्रा बाहिरी रहेन। सडक बाहिर उकालो लागिरहेको थियो, तर भित्र चेतनाले पनि आफ्नै उकालो समातिसकेको थियो। प्रत्येक घुम्तीले एउटा स्मृति खोल्न थाल्यो। प्रत्येक उकालोले एउटा अहंकार झार्न थाल्यो। प्रत्येक मोडले जीवनका पुराना प्रश्नहरू फेरि उठाउन थाल्यो। लाग्थ्यो, पहाडको बाटो पृथ्वीमा कम, मनभित्र बढी बनेको छ।

बुद्धले ज्ञानको खोजमा वन रोजे। उपनिषद्का ऋषिहरूले हिमालय रोजे। सिद्धार्थले दरबार छोडेपछि मात्र गौतम बुद्ध हुन सके। सायद त्यसैले महान् आध्यात्मिक यात्राहरू सहरको कोलाहलमा होइन, प्रकृतिको मौनतामा सुरु हुन्छन्। पहाड मानिसलाई उत्तर दिँदैनस उसले प्रश्न गर्न सिकाउँछ। र सही प्रश्न नै ज्ञानको पहिलो ढोका हो।

मेची राजमार्ग अब बिस्तारै पहाडको काखभित्र हराउँदै थियो। पछाडि तराई फैलिएको थियो। अगाडि कुहिरोले ढाकेका डाँडाहरू उभिएका थिए। मलाई लाग्यो, म केवल इलामतर्फ जाँदै छैन। म आफैँभित्रको त्यो प्रदेशतर्फ उक्लिँदै छु, जहाँ पुग्न कुनै नक्सा चाहिँदैन, केवल खुला मन चाहिन्छ।
गाडीले विस्तारै उकालो समात्न थाल्यो। सडक साँघुरो हुँदै गयो। प्रत्येक घुम्तीले पछाडिको दृश्य लुकाइदियो र अगाडिको नयाँ दृश्य खोलिदियो। यही त पहाडको सौन्दर्य हो। यहाँ भविष्य एकैपटक देखिँदैन। ऊ विस्तारै खुल्छ। एउटा मोड पार गरेपछि अर्को संसार देखिन्छ। अर्को मोड काटेपछि फेरि अर्को। जीवन पनि यस्तै रहेछ। सबै उत्तर एकैपटक प्राप्त हुँदैनन्। प्रत्येक अनुभवले अर्को अनुभवको ढोका खोल्दै जान्छ।
जति माथि उक्लिँदै गयौँ, त्यति नै मौनता गाढा हुँदै गयो। शहरको कोलाहल पछाडि छुटिसकेको थियो। अब केवल हावाको सुस्केरा, चराहरूको स्वर र गाडीको इन्जिनको धुन बाँकी थियो। त्यो मौनता खाली थिएन। त्यसभित्र हजारौँ वर्षको समय बोलिरहेको थियो। पहाडहरू बोल्दैनन्, तर उनीहरूको मौनता शब्दभन्दा धेरै अर्थपूर्ण हुन्छ। प्रकृतिको सबैभन्दा गहिरो भाषा ध्वनिमा होइन, मौनतामा लेखिएको हुन्छ।

त्यही मौनताभित्र मलाई अचानक इलाम शब्द सम्झना आयो। लिम्बु भाषामा इ अर्थात् घुमाउरो र लाम अर्थात् बाटो। घुमाउरो बाटो। मैले झ्यालबाहिर हेरेँ। साँच्चै, सडक पनि त्यस्तै थियो—एकपछि अर्को घुम्ती, एकपछि अर्को उकालो। नाम र भूगोल एकअर्काको प्रतिध्वनिजस्ता लागे। कतिपय ठाउँहरूको परिचय इतिहासले दिन्छ, कतिपयको प्रकृतिले। इलामले आफ्नो परिचय आफ्नै नामभित्र लुकाएर राखेको रहेछ।
यात्राले मलाई अर्को सत्य पनि सिकायो। सायद मानिसको जीवन पनि इलाम नै हो—घुमाउरो बाटो। हामी सिधा लक्ष्यमा पुग्दैनौँ। कहिले फर्किन्छौँ, कहिले अल्मलिन्छौँ, कहिले विश्राम गर्छौँ, कहिले फेरि अघि बढ्छौँ। तर ती सबै घुम्तीहरूको अर्थ हुन्छ। नदी किन सिधा बग्दैनरु किनकि उसलाई भूगोलसँग संवाद गर्नुपर्छ। मानिसको जीवन पनि त्यसैगरी घुमाउरो हुन्छ, किनकि उसलाई अनुभवसँग संवाद गर्नुपर्छ।

गाडी अर्को मोडतर्फ उक्लिँदै थियो। तलको तराई अब कुहिरोभित्र हराउन थालेको थियो। अगाडि इलामको हरियाली अझै टाढा थियो। तर मलाई लाग्यो, मैले इलामको पहिलो दर्शन चियाबारीमा होइन, एउटा शब्दमा गरिसकेको थिएँ। एउटा नामले नै भूगोलको आत्मा खोलिदिएको थियो। त्यसपछि मैले महसुस गरेँ—कतिपय ठाउँहरू नक्सामा पुग्नुअघि भाषामा पुग्नुपर्छ, अनि मात्र तिनको वास्तविक यात्रा सुरु हुन्छ। तर इतिहास सधैँ एउटै हुँदैन। ऊ नदीजस्तो हो—एउटै मूलबाट बगे पनि अनेकौँ धाराहरू बनाउँछ। इलामको नामसँग पनि यस्तै अनेक कथा गाँसिएका छन्। कसैले भन्छन्, यो इला नामकी राजकुमारीको भूमि हो, जहाँ पुराणका स्मृतिहरूले भूगोललाई पवित्र बनाएका छन्। कसैले भन्छन्, लेप्चा अर्थात् रोङ भाषाको इलोमू बाट इलाम बनेको हो, जहाँ इ भनेको पुत्का -मौरीको एक प्रजाति र लोम भनेको बासस्थान। मौरी, मह र प्रकृतिसँग जोडिएको त्यो व्युत्पत्तिले यस भूमिको आदिम जीवनशैली सम्झाउँछ। फेरि अर्को मतले केरलका ब्राह्मणहरूको इल्लमूघर वा निवास शब्दसँग यसको सम्बन्ध देखाउँछ। त्यहाँबाट आएका विद्वान् र संस्कृतिको प्रभावसँगै इल्लम शब्द अपभ्रंश हुँदै इलाम भएको विश्वास पनि सुनिन्छ। अर्कातिर, लिम्बु भाषामा इू अर्थात् घुमाउरो र लामू अर्थात् बाटो भन्ने अर्थले पनि यस भूगोलको स्वभावलाई अद्भुत रूपमा व्यक्त गर्छ।
म यी सबै कथाहरू सम्झँदै उकालो चढिरहेको थिएँ। मनमा एउटा प्रश्न उठ्यो,यीमध्ये सत्य कुन होरु तर अर्को क्षण आफैँले उत्तर पनि पाएँ।सायद सत्य एउटै हुँदैन। इतिहास अदालतको फैसला होइन, जहाँ एउटा पक्ष मात्र सही ठहरिन्छ। इतिहास त स्मृतिहरूको विशाल वन हो। त्यहाँ अनेकौँ आवाजहरू हुन्छन्। केही पुराणबाट आउँछन्, केही लोककथाबाट, केही भाषाशास्त्रबाट, केही पुरातत्त्वबाट र केही मानिसहरूको सामूहिक विश्वासबाट। इतिहासको सुन्दरता पनि यही हो। ऊ अन्तिम निष्कर्षभन्दा खोजको निरन्तरतामा बाँच्छ।

त्यसैले मलाई लाग्यो, कुनै ठाउँको इतिहास बुझ्नु भनेको एउटा कथालाई स्वीकार गर्नु मात्र होइन, सबै कथाहरूलाई सम्मानपूर्वक सुन्नु पनि हो। एउटा समाजको पहिचान एउटै जाति, एउटै भाषा वा एउटै स्मृतिले निर्माण हुँदैन। ऊ धेरै पुस्ताहरूको पदचाप, धेरै संस्कृतिहरूको सहयात्रा र धेरै विश्वासहरूको समन्वयबाट बनेको हुन्छ। इलामको नामभित्र पनि त्यही बहुलताको सौन्दर्य लुकेको रहेछ। एउटा शब्दले पुराण, आदिवासी सभ्यता, भाषिक विकास र मानवीय बसाइँसराइको इतिहासलाई एकै ठाउँमा जोडिदिएको थियो।

गाडी निरन्तर उकालो चढ्दै गयो। केही बेरअघिसम्म नीलो देखिएको आकाश विस्तारै कुहिरोले ढाक्न थाल्यो। पहाडको काखबाट बादल उठे र सडकतिर झर्न थाले। क्षणभरमै गाडी सेता बादलभित्र हरायो। झ्याल खोल्दा चिसो हावाले अनुहार छोयो। लाग्यो, बादल धेरै टाढाको वस्तु रहेन। उसले त पृथ्वीमै झरेर हामीसँग हात मिलाइरहेको थियो। त्यो दृश्य केवल सुन्दर थिएनस आध्यात्मिक पनि थियो। प्रकृति त्यस क्षण कुनै चित्रकार होइन, ध्यानस्थ ऋषिजस्तो देखिन्थी।

त्यही मौन क्षणमा मैले एउटा गहिरो सत्य महसुस गरेँ—उचाइ भनेको दूरी होइन, दृष्टिको परिवर्तन हो। पहाड चढ्दै जाँदा पृथ्वी सानो भएको थिएनस मेरो दृष्टि ठूलो भएको थियो। तलका गाउँहरू अब बिन्दुजस्ता देखिन्थे। सडकहरू धागोजस्ता लाग्थे। केही घण्टाअघि ठूलो लागेका वस्तुहरू अहिले साना भइसकेका थिए। जीवनका धेरै समस्या पनि यस्तै रहेछन्। हामी तल हुँदा ती पहाडजस्ता देखिन्छन्स चेतनाको उचाइ बढेपछि तिनै समस्या ढुङ्गाजस्ता मात्र लाग्न थाल्छन्।

सायद यही कारणले संसारका धेरै ऋषि, योगी र साधकहरू पहाडतिर गएका हुन्। उनीहरू उचाइ खोज्न होइन, दृष्टि खोज्न गएका थिए। हिमालले मानिसलाई आकाशभन्दा नजिक पुर्‍याउँदैनस उसलाई आफ्नै अन्तरात्मासँग नजिक पुर्‍याउँछ। उकालो चढ्नु भनेको पृथ्वीमाथि उठ्नु मात्र होइन, अहंकारबाट तल झर्नु पनि हो। त्यस क्षण इलाम जाने बाटो कुनै राजमार्ग रहेन। ऊ मौन ध्यानको एउटा लामो पथमा रूपान्तरित भइसकेको थियो।

पहिलो चियाबारी देखियो। उकालोको अर्को घुम्ती काट्नेबित्तिकै डाँडाभरि हरियो लय फैलिएको थियो। सानासाना चियाका बोटहरू एउटै उचाइमा, एउटै अनुशासनमा, एउटै मौनतामा उभिएका थिए। तिनले पहाडलाई ढाकेका थिएनन् पहाडको आत्मालाई उजागर गरेका थिए। टाढाबाट हेर्दा लाग्थ्योकुनै अदृश्य कलाकारले पृथ्वीलाई क्यानभास बनाएर हरियो कविताका पङ्क्तिहरू कोरेको छ। हावा बिस्तारै बहन्थ्यो, ती हरिया पङ्क्तिहरू लहराउँथे। मानौँ प्रकृतिले आफ्नै कविता आफैँ पढिरहेको हो। सूर्यको किरणले चियाका मुनामाथि सुनौलो वर्ण छर्दा प्रत्येक पात एउटा अक्षरजस्तो चम्किन्थ्यो। पृथ्वीले शब्द बोल्न सक्दिनथी, त्यसैले उसले हरियालीमा आफ्ना भाव लेखेकी थिई।

त्यो दृश्य केवल सौन्दर्य थिएन। त्यो श्रम र समयको समन्वय थियो। प्रत्येक बोटलाई कुनै किसानको हातले रोपेको थियो। प्रत्येक पातमा वर्षौँको प्रतीक्षा थियो। प्रकृतिले वर्षा दिएकी थिई। माटोले जीवन दिएको थियो। मानिसले धैर्य दिएको थियो। चियाबारी भनेको अन्ततः प्रकृति र श्रमबीच भएको एउटा मौन सम्झौता रहेछ। जहाँ दुवैले आफ्नो अहंकार त्यागेका छन्, त्यहाँ मात्र यस्तो हरियाली जन्मन्छ।

चियाका ती पातहरू मौन थिए। तर इतिहास बोलिरहेको थियो। यही इलामको माटोमा नेपालले पहिलोपटक संगठित रूपमा चिया खेती सुरु गरेको थियो। उन्नाइसौँ शताब्दीमा चीनबाट उपहारस्वरूप आएका चियाका बिरुवाहरू यही पहाडको काखमा रोपिए। पछि यही भूमिमा नेपालको पहिलो चिया उद्योग स्थापना भयो। त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन होला आज रोपिएको यो सानो बिरुवा एक दिन नेपालको पहिचान, अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रतिष्ठाको प्रतीक बन्नेछ भनेर। एउटा बिरुवाले राष्ट्रको स्वाद बदलिदिनेछ भनेर। इतिहासले सधैँ युद्धका कथामात्र लेख्दैनस कहिलेकाहीँ ऊ एउटा पातको हरियालीमा पनि लेखिन्छ।

त्यही सोचमा डुबिरहेको बेला मेरो दृष्टि एउटा वृद्ध महिलातिर पुग्यो। उनी ढल्कँदो उमेरमा पनि चियापत्ती टिपिरहेकी थिइन्। उनको हातको गति असाध्यै सहज थियो। न हतार। न थकाइको गुनासो। केवल लय। उनी दुई पात र एउटा सुइरो अत्यन्त सावधानीका साथ टिप्थिन्, टोकरीमा राख्थिन्, फेरि अर्को बोटतिर सर्दथिन्। उनको अनुहारमा पसिना थियो, तर त्यसभन्दा गहिरो शान्ति पनि थियो। त्यो शान्ति श्रमबाट जन्मिएको थियो। त्यहाँ प्रदर्शन थिएन। केवल समर्पण थियो।

फिक्कल पार गर्दै कन्यामतर्फ उकालो लाग्दा इलामले आफ्नो सबैभन्दा हरियो अनुहार देखायो। सडकका दायाँबायाँ अनन्तसम्म फैलिएका चियाबारीहरू पृथ्वीमाथि ओछ्याइएका हरिया गलैँचाजस्ता देखिन्थे। आँखाले जहाँसम्म पछ्याउन सक्थ्यो, त्यहाँसम्म हरियाली नै हरियाली थियो। चियाका बोटहरू पहाडका ढल्काइसँगै लहरै मिलेर उभिएका थिए। तिनका बीचबाट साँघुरा पदमार्गहरू तलमाथि घुम्दै गएका थिए, मानौँ हरियालीभित्र कुनै कविले मौन कविता लेख्न हिँडेको हो। प्रकृतिले यहाँ रेखा कोरेकी थिइन, लय सिर्जना गरेकी थिई।

त्यही बेला हल्का कुहिरो डाँडाको काखबाट उठेर चियाबारीमाथि फैलियो। केही थोप्ला पानी झरे। झ्यालको सिसामा वर्षाका साना अक्षरहरू कोरिए। मैले सोचेँ, अब दिनभरि पानी पर्ने होला। तर केही मिनेट नबित्दै बादल एकातिर सर्‍यो। घामले फेरि पहाडलाई सुनौलो बनाइदियो। चियाका मुनाहरू हिराजस्तै टल्किए। फेरि अर्को क्षण कुहिरो फर्कियो। इलामको मौसम घडीले होइन, आफ्नै मनले चल्ने कलाकारजस्तो लाग्थ्यो। यहाँ परिवर्तन अपवाद होइनस स्वभाव हो। स्थिरता खोज्नु भनेको नदीलाई नबग्न भन्नुजस्तै रहेछ।

त्यही परिवर्तनले एउटा पुरानो दर्शन सम्झाइदियो। बुद्धले संसारको मूल स्वभाव अनित्य हो भनेका थिए। केही पनि स्थिर छैन। दुःख पनि होइन, सुख पनि होइन। जन्म, यौवन, सम्बन्ध, शक्ति, सम्पत्ति—सबै परिवर्तनशील छन्। अर्कोतर्फ, प्राचीन ग्रीक दार्शनिक हेराक्लिटसले भनेका थिए—एकै नदीमा दुईपटक उत्रन सकिँदैन, किनकि नदी पनि बदलिसकेको हुन्छ र मानिस पनि। कन्यामको हरियालीमा उभिँदा यी दुवै दर्शन पुस्तकका पानाबाट निस्केर दृश्य बनेका थिए। यहाँ एउटै पहाड दुई मिनेटसम्म उस्तै देखिँदैन। बादल आउँछ। घाम जान्छ। फेरि कुहिरो फर्कन्छ। फेरि उज्यालो फैलिन्छ। प्रकृतिले मौन भाषामा भनिरहेकी थिई—परिवर्तन नै जीवनको शाश्वत नियम हो।

त्यस क्षण मलाई आफ्नै जीवन सम्झना आयो। मैले पनि केही दुःखहरू स्थायी ठानेको थिएँ। केही खुसीहरू कहिल्यै नहराउने विश्वास गरेको थिएँ। तर समयले सबै बदलिदियो। आज बुझ्दै थिएँ—समस्या परिवर्तन होइन, परिवर्तनलाई स्वीकार गर्न नसक्ने हाम्रो मन हो। यदि कुहिरो सदैव रह्यो भने हामी घामको मूल्य बुझ्दैनौँ। यदि घाम कहिल्यै अस्ताएन भने बिहानको सौन्दर्य हराउँछ। अनित्य नै अस्तित्वको संगीत रहेछ।
कन्याम पुग्दा पर्यटकहरूको चहलपहल थियो। कोही चियाबारीको बीचमा उभिएर तस्बिर खिचिरहेका थिए। कोही भिडियो बनाइरहेका थिए। कोही सेल्फीमा आफ्नो मुस्कान सुरक्षित गरिरहेका थिए। आधुनिक समयले स्मृतिलाई मोबाइलको स्क्रिनमा कैद गर्ने कला सिकाएको छ। प्रत्येक सुन्दर दृश्यसँग मानिसको पहिलो प्रतिक्रिया क्यामेरा निकाल्नु भएको देख्दा मलाई समयको अर्को रूप पनि देखियो—हामी कहिलेकाहीँ दृश्यलाई हेर्नुभन्दा पहिले सुरक्षित गर्न खोज्छौँ।

मैले पनि केही क्षण मोबाइल हातमा लिएँ। तर त्यसपछि फेरि झोलाभित्र राखिदिएँ। मनमा एउटा प्रश्न उठ्यो—के सुन्दरता साँच्चै तस्बिरमा अटाउँछरु तस्बिरले आकृति समात्छ, तर सुगन्ध समात्दैन। उसले रंग समात्छ, तर हावाको स्पर्श समात्दैन। उसले मुस्कान देखाउँछ, तर त्यस क्षणको मौन आनन्द सुरक्षित गर्न सक्दैन। सुन्दरता आँखाले देख्ने वस्तु मात्र होइनस चेतनाले अनुभव गर्ने अवस्था पनि हो।

त्यसैले केही क्षण म केवल मौन भएर चियाबारीलाई हेरिरहेँ। कुहिरो फेरि बिस्तारै झरिरहेको थियो। हावाले चियाका पातहरू हल्लाइरहेको थियो। टाढाबाट कुनै चरीको स्वर आइरहेको थियो। त्यो दृश्य मैले क्यामेरामा कैद गरिनँ। त्यसलाई मनमा बस्न दिएँ। किनकि केही दृश्यहरू स्मृतिमा रहँदा नै सुन्दर हुन्छन्। केही यात्राहरू लेख्नका लागि होइन, बाँच्नका लागि हुन्छन्। कन्यामले त्यस दिन मलाई यही सिकायो अनुभूतिको आँखाले देखिएको संसार कुनै पनि तस्बिरभन्दा धेरै विशाल, धेरै गहिरो र धेरै दीर्घजीवी हुन्छ।

अन्तुतिर दृष्टि पुग्दा क्षितिज आफैँ एउटा विशाल चित्रकला बनेको थियो। टाढा हिमालहरू साँझको सुनौलो प्रकाशमा टल्किरहेका थिए। तल हरिया चियाबारीहरू पृथ्वीको मुस्कानजस्तै फैलिएका थिए। तिनको माथि कुहिरोको सेतो चादर विस्तारै बिछिँदै थियो। अनि सबैभन्दा माथि गहिरो नीलो आकाश निस्पृह साक्षीजस्तै फैलिएको थियो। पृथ्वी, वन, बादल र आकाश चार तहको यो संसारले मलाई अस्तित्वको अर्को व्याख्या सुनायो। मानिसको जीवन पनि यिनै चार तहभित्र बाँधिएको रहेछ। पृथ्वीले शरीर दिन्छ। वनले सास दिन्छ। बादलले आशा दिन्छ। आकाशले अनन्तताको बोध गराउँछ। प्रकृतिको यो मौन संरचनाभित्र नै मानव जीवनको सम्पूर्ण दर्शन लुकेको छ।

अन्तुबाट तल हेर्दा इलाम एउटा जिल्ला जस्तो लागेन। ऊ एउटा जीवित ग्रन्थजस्तो लाग्यो, जसका प्रत्येक पानामा प्रकृतिले आफ्नै अक्षरले इतिहास लेखेकी छ। यहाँको हरियाली केवल आँखाको सुख होइनस पृथ्वीको दीर्घ स्मृति हो। यही वनमा रेड पाण्डाका मौन पदचाप छन्। यही पहाडी भेगमा दुर्लभ सुनगाभाहरूले मौसमसँग संवाद गर्छन्। हाँसपोखरीको शान्त जलमा आकाश आफैँ प्रतिबिम्बित हुन्छ। लेप्चा सभ्यताका पुराना पदचिन्हहरू अझै हावामा बाँचिरहेका छन्। उत्तरका पहाडबाट जन्मिएका चार माई जोगमाई, पुवामाई, देउमाई र माई दक्षिणतिर बग्दै केवल पानी मात्र बगाउँदैनन्स उनीहरूले शताब्दीयौँको सभ्यता, कृषि, संस्कृति र जीवनको कथा पनि सँगै बोकेर लैजान्छन्। यहाँ प्रत्येक नदी एउटा अध्याय हो। प्रत्येक वन एउटा अभिलेख। प्रत्येक पहाड एउटा मौन इतिहासकार।

त्यस क्षण मैले महसुस गरेँ—सभ्यता शहरले मात्र बनाउँदैन। यदि सभ्यता केवल दरबार र बजारको उपज हुन्थ्यो भने संसारका सबै वन इतिहासविहीन हुने थिए। तर वास्तविकता त्यस्तो छैन। सभ्यताको पहिलो पाठ मानिसले नदी किनारमा पढ्यो। पहिलो देवता उसले पहाडमा भेट्यो। पहिलो औषधि उसले जडीबुटीबाट पायो। पहिलो ध्यान उसले वनको मौनतामा सिक्यो। चियाका ती साना बोटहरूले पनि एउटा राष्ट्रको अर्थतन्त्र, श्रमसंस्कृति र विश्वसँगको सम्बन्धलाई नयाँ अर्थ दिएका छन्। त्यसैले सभ्यता भनेको अन्ततः मानिस र प्रकृतिबीच भएको एउटा नैतिक सम्झौता हो—जहाँ मानिसले संरक्षणको वाचा गर्छ, र प्रकृतिले जीवनको।

बिस्तारै साँझ इलाम बजारमा झर्‍यो। दिनभरि हरियालीले उज्यालिएको सहर अब बत्तीहरूको मधुर प्रकाशले चम्किन थाल्यो। कुहिरोले सडक, घर र रुखहरूलाई विस्तारै आफ्नो सेतो आलिङ्गनभित्र समेट्दै गयो। बजारमा मानिसहरूको चहलपहल थियो, तर त्यो चहलपहलमा पनि एउटा अद्भुत शान्ति मिसिएको थियो।

त्यही मौन साँझमा एउटा गहिरो अनुभूति मनमा उदायो। मैले इलाम देखेको थिइनँ। इलामले मलाई देखेको थियो। उसले मेरो हतार पढ्यो। मेरा मौन प्रश्नहरू सुनेको थियो। उसले मेरो अहंकारलाई उकालोमा थकाइदियो। मेरो अधैर्यलाई कुहिरोमा हराइदियो। चियाका पातहरूले श्रमको अर्थ सिकाए। बादलले अनित्यको। पहाडले धैर्यको। नदीहरूले निरन्तरताको। र इतिहासले विनम्रताको। कुनै शब्द नबोली इलाम मेरो गुरु बनेको थियो। प्रकृतिका कक्षामा पढाइएको त्यो पाठ कुनै विश्वविद्यालयले दिन सक्दैनथ्यो।

फर्किने दिन आयो। मेरो झोलामा कुनै बहुमूल्य वस्तु थिएन। न सुन थियो। न चाँदी। न कुनै महँगो स्मृति–चिन्ह। तर म खाली पनि थिएन। मसँग एउटा अदृश्य सम्पत्ति थियो—प्रकृतिप्रतिको गहिरो विनम्रता, इतिहासप्रतिको सम्मान, श्रमप्रतिको श्रद्धा र परिवर्तनप्रतिको स्वीकृति। मैले बुझेँ, जीवनलाई जित्ने उपाय उसलाई नियन्त्रण गर्नु होइन, उसको परिवर्तनशील लयसँग सहयात्रा गर्नु रहेछ।

गाडी फेरि तराईतिर झर्न थाल्यो। पहाडहरू बिस्तारै पछाडि छुट्दै गए। तर यसपटक छुटेको भूगोल मात्र थियोस चेतना होइन। इलाम अब मेरो अगाडि थिएन, ऊ मेरो भित्र थियो। त्यही बेला अन्तिम सत्य मनमा उज्यालो भएर आयो।जीवनका सबैभन्दा सुन्दर यात्राहरू गन्तव्यमा पुगेर समाप्त हुँदैनन्। ती त फर्किएपछि सुरु हुन्छन्। किनकि यात्रा सडकमा सकिन्छ, तर त्यसले जन्माएको दृष्टि जीवनभरि हिँडिरहन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय