इलामः इलामका विभिन्न क्षेत्रमा जंगली जनावारको आतंक मौलाएको छ । सन्दकपुरको सुलुबुङ र इलामको सुम्वेकमा चितुवाले पुर्याएको क्षती र जनमानसमा बढेको त्रासको समाचार सम्प्रेषण भएको एकदिन नवित्तै फाकफोकथुम गाउँपालिकामा पाटे बाघको बिगबिगी बड्न थालेको पाईएको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेका जितबहादुर योङहाङ गोठमा बाधेर राखेको ७ वटा बाख्रा बाघले खाएको छ । भने केही बाख्रालाई मारेर गएको वडा नम्बर ७ का वडा सदस्य पञ्च योङहाङले जानकरी दिए ।
जितबहादुरको एउटा बोका, तीन वटा खसी, दुई वटा माउ बाख्रा र एउटा पाठा गरी दुई लाख २५ हजार रुपैयाँको क्षति भएको फाकफोकथुम प्रहरी इन्चार्ज घनश्याम लाखेले जानकारी दिए । गाउँमा बाघको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।



यसअघि
जंगली जनावरले गोठमै आएर चौपाया खान थालेपछि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका बासिन्दा त्रसित भएका छन्। सन्दकपुर–३, सुलबुङ र इलाम नपा–२, सुम्बेकका बासिन्दा चार दिनयता जंगली जनावरको त्रासमा रहेका हुन्।
जंगली जनावरले सुम्बेकका चार किसानको गोठमा पालेका बाख्रा खाइदिएको छ। सुलुबुङमा पनि दुई किसानले पालेका बाख्रा खाइदिएको स्थानीयले जनाएका छन्। सुलबुङका खेमराज ढकालले आज ९सोमबार० बिहानको राति जंगली जनावरले लैजाँदैगरेको खसी खोसेर ल्याएको बताए। ‘आइतबार र शनिबार राति चितुवाले गोठमै आएर बाख्रा–खसी खाइदिएको छ,’ उनले भने, ‘एउटा करिब २५ किलोको खसी चाहिँ खोसेर ल्याएका छौं।’
उनले गोठमै आएर चौपाया खाने जंगली जनावर चितुवा नै भएको जनाए। ‘दिनैपिच्छे घर–घरमा आएर पशु–चौपाया लैजान थालेपछि हिँड्डुल गर्नसमेत त्रास भएको छ,’ उनले भने, ‘बालबालिका स्कुल पठाउन सबैभन्दा धेरै डर लागिरहेको छ।’
सुम्बेकका विष्णु गड्तौलाले गाउँका चार किसानले पालेका बाख्रा चितुवाले खाइदिएको बताए। गत १६ गते राति सुम्बेकका भैबहादुर देवानको गोठका दुई, भुवन राई र राजकुमार राईका एक–एक वटा बाख्रा चितुवाले खाएको बताए। सोमबार राति पनि स्थानीय लीला कठेत र प्रवीण नेपालले पालेका बाख्रा चितुवाले खाएको उनले जनाए।
सन्दकपुर गाउँपालिका–५ का दीपक गुरुङले गाउँमा चितुवाको आतंक बढेको बताए। ‘दिनहुँजसो जंगली जनावरले गोठमै आएर घरपालुवा पशु खाइरहेको छ,’ उनले भने, ‘कुनै उपायले नियन्त्रण नगरे मानिसलाई यसको जोखिम धेरै छ।’
सन्दकपुर र माइजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकाका उत्तरी क्षेत्रमा वर्सेनि जंगली जनावरको आतंक हुने गरेको छ। यो क्षेत्रका बासिन्दा पटक–पटक जंगली जनावरको आक्रमणमा समेत परिरहेका छन्। नियन्त्रणका लागि कसैले पहल नगरेको स्थानीयको गुनासो छ।
‘जंगली जनावरले घरमै आएर मान्छे खाँदा पनि नियन्त्रणका लागि कसैले वास्ता गरेनन्,’ माइजोगमाई गाउँपालिकाका रविन राईले भने, ‘सम्मन्धित निकायले तुरुन्त यसको उचित नियन्त्रण गर्नुपर्छ। नभए ठूलो मानवीय क्षति हुनसक्छ।’

