
इलाम– साहित्यका माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा आयोजना गरिने साहित्य महोत्सवमा तीन देशका साहित्य–कलाकर्मी सहभागी हुने भएका छन् ।
आयोजकले आईतबार पत्रकार सम्मेलन गरी महोत्सवको तालिकाबारे जानकारी गराएको छ । आउँदो चैत १ र २ गते आयोजना गरिने महोत्सव चौथो संस्करणको हो ।



नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ र बंगलादेशका साहित्यकार, लेखक तथा कलाकर्मी सहभागी हुने महोत्सवको आयोजना इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजले गर्नेछन् ।
महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस हुने आयोजक प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । जिल्लाबाहिरबाट डेढ सयभन्दा बढी आगन्तुक महोत्सवमा भेला हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको पहिलो दिन भारतको जेएनयुका चेयर प्रोफेसर प्रा।आनन्दकुमारको ‘कि नोट स्पिच’ रहनेछ । ‘गाउँको सौन्दर्य’मा हाङयुग अज्ञात, ‘कला र अध्यात्म’मा टीकाराम यात्री, आनी छोइङ डोल्मा र मीन डोल्माबीच बहस हुनेछ ।
‘विभेदविरुद्धका आलाप’मा दीपक सापकोटा र प्रकाश सपुत, ‘कविताको पहिचान’मा फणीन्द्र संगम, श्रवण मुकारुङ, मिश्र वैजयन्ती र अभय श्रेष्ठ तथा ‘मुन्धुम र पर्यावरण’मा प्रदीप मेयाङ्बो, अर्जुनबाबु माबोहाङ र सन्ध्या सुब्बाबीच बहस हुने आयोजकले जनाएको छ । ‘सामाजिक सञ्जाल र मूल्य संकट’ शीर्षकमा रमण पौडेल र पृथ्वीसुब्बा गुरुङ, ‘पर्यापर्यटन स् अबको बाटो’मा गिरिराज बाँस्कोटा, छविलाल खतिवडा, विष्णु काफ्ले र प्रवीण खालिङबीच बहस हुनेछ ।’
दोस्रो दिन ‘इलामे इलम स् पेसा र पैसा’मा टीका क्षेत्री, डा।योगेन्द्रमान श्रेष्ठ, कृष्ण पौडेल र गायत्री थेगिमले बहस गर्नेछन् । ‘युवा सपना र संघर्ष’मा विश्वास खड्काथोकी, आशा उपरकोटी, मिलन ताम्ली र प्रेमिका रानामगर, ‘डिजिटल दुनियाँमा सर्जक’मा दीपा दाहाल, शंकर तिवारी, कृष्ण बराल, शैलेन्द्र अधिकारी, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’मा मधुराज केरुङ, डा।शिव रिजाल, डा।कोमल फुयाल, ‘मन्द्राकान्ता ः पात्र विमर्श’मा सृजना पोख्रेल र बसन्त बस्नेतबीच बहस हुनेछ ।
‘युगदेखि शब्दसम्म’मा मुनाराज शेर्मा, राजन मुकारुङ, नरेश काङमाङ, देवान किराती, ‘जीवन फर्केर हेर्दा’मा दीपक सापकोटा र खगेन्द्र संग्रौला, ‘इम्बोइडिङ डाइभर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन’मा केन सुवेदी, गौरगंगाचन्द्र मेहता, साइद काइस र चन्द्र गुरुङ, ‘आशा र निरासाको राजनीति’मा बसन्त बस्नेत, कृष्ण खनाल, नारायणकाजी श्रेष्ठ, गगन थापा र गोकर्ण विष्टबीच बहस हुनेछ । त्यसै दिन नवराज पराजुलीको ‘इलाम कविता कन्सर्ट’ पनि रहने आयोजकले जानकारी दिएको छ ।
तीन वर्षयता सञ्चालन गरिएका महोत्सवले पनि जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाइराख्न सहयोग गरेकाले यसलाई निरन्तरता दिइएको उनको भनाइ छ । इलाम नगरका मेयर केदार थापाले ग्रामीण अर्थतन्त्र उकास्न पनि साहित्य महोत्सवले सघाउने बताए । ‘दर्जनौं विषयमा बहस, छलफल र कला प्रदर्शनीबाट इलाममा साहित्यको वातावरण सिर्जना गर्नु, समीक्षाको थलो इलामलाई बनाउनु आफैंमा गौरवको काम हो,’ उनले भने, ‘देश र विदेशका विद्वान् व्यक्तित्वको सहभागिता हुने भएकाले महोत्सव आफैंमा ओजपूर्ण हुने आशा छ ।’