इलाम । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।
सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । ‘अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्रै शैक्षिक संस्थाहरु सञ्चालन गर्नु भनेर सरकारले निर्णय गरेको छ’,प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले भने, ‘सरकारले नभनेसम्म शैक्षिक संस्थाहरु खुल्नु भएन ।’प्रमुख जिल्ला अधिकारीले सवै स्थानीय तहलाई सरकारको निर्णय सहितको पत्र पठाइसकेको बताउँछन् ।
इलाममा स्थानीय तहले शैक्षिक संस्था खुलाउन निर्णय गरेर विद्यालय सञ्चालन भइसकेका छन् नि भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी सेडाईले ‘सरकारको निर्णय विपरित काम गर्दा केही भए त्यसको जिम्मा कसले लिन्छ’ भनेर प्रतिप्रश्न गरे । उनले संक्रामक रोग नियन्त्रण ऐनको प्रयोग गरेर भएपनि सरकारले सञ्चालन नगर्नु भनेका संस्था या व्यवसायलाई बन्द गर्ने बताए ।यता इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत भने सरकारकै निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउँछन् । ‘मन्त्री परिषदले पारित गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार यहाँको परिस्थिति अनुसार विद्यालय चलाउने प्रयत्न गरेका हौ’, प्रमुख बस्नेतले भने,‘शैक्षिक शत्र खेर जानु हुँदैन भनेर पठन पाठन थालेका हौ, कोभिड–१९बाट सुरक्षित राख्ने नाममा विद्यार्थीको भविश्य खेर नजाओस् भन्ने हामी चाहान्छौ ।’प्रमुख बस्नेतले माथिबाट शासन चलाउन खोजेको र सरकारको नीति प्रष्ट नहुँदा समस्या भएको प्रतिक्रिया दिए । ‘कोभिड लाग्छ भन्ने नाममा नागरिकलाई पठमुर्ख बनाउने कुरा राम्रो हुँदैन, यो मेरो निजी विचार हो’, प्रमुख बस्नेतले भने ।कोरोना संक्रमणको कारण पाँच महिनादेखि बन्द रहेका केही विद्यालयले आइतबारदेखि पठन पाठन थालेका थिए । स्थानीय तहले विकल्प सहितको कार्ययोजना पेश गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि केहीले पठन पाठन थालेका थिए भने अधिकाशं संस्थागत विद्यालयहरुले विद्यालय खुलाउने तयारी गरेका थिए ।जिल्लाको इलाम, सुर्योदय, देउमाई र माई नगरपालिका यस्तै चुलाचुली र माइजोगमाई गाउँपालिकामा असोज पहिलो साताबाट नै पठनपाठन सुरु गरेका थिए ।
स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी अविभावक शिक्षक दोधारमा परेका छन् ।सुर्योदयमा सामुदायिक ६४, सस्थागत २९ र धार्मिक २, देउमाईमा सामुदायिक ५०, सस्थागत १३, बाल विकास केन्द्र २ र धार्मिक १, इलाममा सामुदायिक ४९, संस्थागत १३, माईमा सामुदायिक ४४, सस्थागत १४ रहेका छन् ।यस्तै माइजोगमाइमा सामुदायिक ३३, सस्थागत ८ र धार्मिक २, सन्दकपुरमा सामुदायिक २६, सस्थागत ३ र धार्मिक २, चुलाचुलीमा सामुदायिक २१, सस्थागत ६, फाकफोकथुममा सामुदायिक ४१, सस्थागत ८ र धार्मिक १, रोङ्गमा सामुदायिक ३०, सस्थागत २, माङ्गसेबुङ्गमा सामुदायिक ३२, सस्थागत ४, धार्मिक १ गरी जिल्लाका १० स्थानिय तहमा कुल विद्यालय ५०१ रहेको छ । जसमा ८६ सस्थागत छन् भने ९ वटा धार्मिक र २ बालविकास केन्द्र रहेका छन् ।बिहीबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, परीक्षा सञ्चालन, सबै प्रकारका सभा गोष्ठि, तालिम र सेमिनार, सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, सैलुन ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल जिमखाना लगायतका हेल्थ क्लब, समुहमा खेलिने खेल र खेल मैदानमा हुने प्रस्तुती, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण तथा प्रारम्भीक चरणका खेलहरु, सबै प्रकारका धार्मिक खेल तथा प्रारम्भीक चरणका खेल, सवब प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रालय र चिडिया खानलाई अर्को सूचनाले तोकेको मितिदेखि मात्रै सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको हो ।न्युज संजालबाट