प्रधानमन्त्री आज इलामको जौबारी आउनुहुँदैः नेपाल भारत सीमा क्षेत्रको निरिक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःप्रधानमन्त्री केपी शर्मा ओली मंसिर ८ गते आज इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा आउने हुनुभएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारी इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा प्रधानमन्त्री आउने कार्यक्रम तय भएको हो। नेपाल भारत सीमा निरीक्षणका लागि प्रधानमन्त्री ओली सन्दकपुर कालपोखरी निरिक्षण गर्दै जौबारी आउने कार्यक्रम रहेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंका अनुसार प्रधानमन्त्रीले नेपाल सरकारले जौबारीमा स्थापना गरेको बोर्डर आउट पोस्ट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको कार्यालयबाट ५ गतेका लागि तय भएको कार्यक्रम ८ गतेका लागि सरेको थियो । ताप्लेजुङ्गको कार्यक्रम सकेर प्रधानमन्त्रीले नेपाल भारत सीमा क्षेत्रको निरिक्षण गर्दै जौबारीमा आएर जौबारीमा अवतरण गर्ने कार्यक्रम रहेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नविनराज राईका अनुसार प्रधानमन्त्री दिउँसो एक बजेदेखि दूई बजेको समयमा जौबारी आइपुग्ने जानकारी आएको छ । जौबारी आएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले जानकारी दिनुभयो ।

ताप्लेजुङको घुन्सालगायत क्षेत्रमा सीमा अवलोकन गरी प्रधानमन्त्री ओली इलाम आउने हुनुभएको हो । प्रधानमन्त्री आउने भएपछि जौबारी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चार वटै सुरक्षा निकायको सुरक्षा टोली कार्यक्रमस्थलमा परिचालन गरिएको हो ।
इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको छ । यी क्षेत्रमा सरकारले अहिले धमाधम बिओपी स्थापना गरिरहेको छ ।

पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ, सलकपुरमा सरकारले शसस्त्र प्रहरीको बिओपि स्थापना गरिसकेको छ । कोबिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा राखिएका टोलीलाई नै स्थापना भएका बिओपिमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय