गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा तीन करोडको परियोजना सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम । काम गर्ने दक्ष जनशक्तिको अभावले चियाको गुणस्तर खच्किदै गएको सरोकारवालाले गुनासो गरेका छन् । दक्ष जनशक्तिको अभावका कारण चियाको गुणस्तरमा प्रश्नचिन्ह नउठोस् भन्दै उद्योगी, किसान र चिया श्रमिकलाई सीप सिकाएर दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनको लागि सीप विकास परियोजना’ सुरु भएको छ । युरोपेली युनियनको लगानी, ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता कार्यक्रम अन्तर्गतको ‘गुणस्तरीय चिया उत्पादनको लागि सीप विकास परियोजना’ केन्द्रीय चिया सहकारी संघ लिमिटेड इलामले १२ जिल्लामा कार्यान्वयनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी इलाम, पाँचथर, झापा, ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुरमा दक्ष जनशक्ति उत्पादन गर्ने गरी सीप सिकाउने जनाइएको छ । परियोजनाद्वारा सञ्चालित तालिममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक÷एक वटा तालिम स्थान रहनेछ ।

तालिममा नयाँ चियाखेती विस्तार हुदै गरेको क्षेत्रका चिया किसान, सहकारी सदस्य, चिया कामदार, चिया उद्योगीलाई सीप विकास गरेर गुणस्तरीय चिया उत्पादन गर्ने दक्ष जनशक्ति उत्पादन गरी परिचालन गरिनेछ । तालिम १५ महिना अवधिको रहनेछ । सीप विकास तालिमबाट तीन सय जना दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालिम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक ९तह १० को सीप तालिममा सिकाइनेछ ।

तालिमका लागि परियोजनाले आवेदनको सूचना जारी गर्दै सार्वजनिक आह्वान गर्नेछ । आवेदन पेस गरेकाहरुबाट छनोट गरिनेछ । तालिम तीन सय ९० घण्टाको हुनेछ । छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० मापदण्डको तालिम गराउने परियोजनाका डा। सुमित अधिकारीले बताए ।

उनले भने, ‘२० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक रुपमा तालिम दिइनेछ । तालिमबाट व्यवाहारिक सीप सिकाई गुणस्तरीय चिया उत्पादनमा दक्ष बनाई कृषि पर्यटन तथा निर्माणको क्षेत्रमा परिचालन गरिनेछ ।

वि।सं।१९२० मा इलाममा चिया खेती सुरु भएको इतिहास छ । नेपालमा चिया खेतीका लागि पहिलो जिल्लाका रुपमा इलाम परिचित भएको पाइन्छ । यहि तथ्यलाई आधार मान्दै प्रदेशको नीति तथा कार्यक्रममा इलामलाई चियाको राजधानी घोषणा गरिनेछ भनेर उल्लेख गरिएको प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना मगरले बताए ।

आधुनिक खेती प्रणाली अंगाल्दै प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार पार्न सके इलाम साच्चै चियाको राजधानी बन्न सफल हुन्छ उनले भने । थपमा उनी भन्छन्, ‘नयाँ चिया बगान तयार पारौँ, जहाँ प्रविधिसँग नजिक बन्दै मेसिन प्रयोग गर्न सक्ने बगान बनाऊँ, युवा उद्यमीलाई हाम्रो सदैव साथ र सहयोग रहनेछ ।’

यस्तै दक्ष जनशक्ति उत्पादनमा यस अघि नै इलाम लागी परेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । उनले भने, ‘उत्पादन गर्ने कार्य सफल हुन नसक्दा प्रयास गरिएको भन्नुपर्ने बाध्यता भएको छ । अब भने यस्ता कार्यलाई जोड दिनै पर्छ ।

इलाममा मात्रै एक सय भन्दा बढी चिया उद्योगहरु सञ्चालित छन् । किसान आफैमा उद्योग खोल्न सक्ने क्षमता भएकाहरु छन् । दक्ष जनशक्ति निर्माण गरे गुणस्तरीय चिया उत्पादन गर्न सकिन्छ भन्नेमा ढुक्क हुन सक्ने कार्यक्रममा सहभागीहरुले बताए ।

परियोजना अन्तर्गत एक पटक २० जनालाई तालिम गराइनेछ । विभिन्न ठाउँमा गरेर एकै समयमा पाँच वटासम्म समूहलाई तालिम गराउने तयारी छ । परियोजना अन्तर्गत तीन करोड ११ लाख ५६ हजार चार सय ६३ रुपैयाँ खर्च गरिनेछ । कुल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ । यस्तै पाँच लाख १० हजार छ सय रुपैयाँ सञ्चालन खर्च गरिनेछ । १८ लाख ६५ हजार पाँच सय ६३ रुपैयाँ प्रत्यक्ष खर्चमा खर्च गरिनेछ ।

दुई करोड ८५ लाख १६ हजार चार सय ६३ रुपैयाँ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रिय चिया सहकारी संघ लिमिटेडको २६ लाख ४० हजार रुपैयाँ योगदान रहने संघका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।

कार्यक्रमको उद्देश्यकाबारेमा परियोजनाका डा। सुमित अधिकारीले जानकारी गराएका थिए भने कार्यक्रम संयोजक तथा संघका महासचिव रविन राइले परियोजनाकाबारेमा बताए ।सरलपाटि

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय