फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नं १० को एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ । सदाबहार टोलका डिल्लिराम राईको घरमा गत सोमबार अचानक आगलागी भएको थियो । साँझ ५ बजेको समयमा भएको आगलागीबाट घरमा रहेको डेढ तोला सुन,४८ तोला चाँदी,टिभी,सोलार,लत्ताकपडा साथै सम्पुर्ण महत्वपुर्ण कागजात जलेर नष्ट भएको पिढित राईले बताए ।
२ छोरा र श्रीमान श्रीमती भएको परिवार विस्थापित भएपछि उनिहरु भाई सुभाष राईको घरमा बसिरहेका छन । टिनले बेरा गरिएको सानो घरमा २ बालक हुर्काउँदै आएका डिल्लिरामलाई घर जलेपछि थप समस्या भएको छ । घरमा बच्चा मात्र भएको बेला आगलागी कसरी भयो कारण खुल्न नसकेको उनले बताए । उनले भने,“उसै त २ छाक टार्न मुस्किल थियो । भएको सानो घर पनि जल्यो । भाईलाई पनि मुस्किल छ । चौतर्फी समास्याले सतायो।”
पिढित परिवारलाई नेपाल रेडक्रस सोसाईटी फिक्कल उपशाखाले १० केजी चामल सहित एउटा त्रिपाल, नुन, तेल, बेसार लगायतका खाद्यान्न उपलब्ध गराएको छ । वडा नं १० का अध्यक्ष पेमा उगेन लामा लगायतले घटनाको स्थलगत निरिक्षण गर्नुभएको र राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको राईले बताएका छन् ।