सुकुम्बासीलाई जग्गाको मालिक बनाउँछौंः राज्यमन्त्री राना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

इलाम,प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छोडिने बताएका छन् । संघीय सरकारले स्थापना गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ मातहत रहेर स्थानीय र प्रदेश र सरकारको समन्वयमा प्रदेश भरीका भुमीहिनलाई धनीपुर्जा दिने कार्यलाई तिब्र रुपमा अघि बढाएकाले अब कोही पनि जग्गाविहिन नहुने बताए ।

इलामको माई नगरपालिकामा शनिबार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासको विवरण र तथ्यांक संकलन इकाई कार्यालयको उद्घाटन गर्दै राज्यमन्त्री रानाले ७२ प्रतिशत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबास भएका नगरका बासिन्दाहरुले अबका केही महिनामै आफ्नो स्वामित्वमा धनीपुर्जा पाउने दावी गरे ।

जग्गा र भुमीहीनलाई मालिक, धनीपुर्जा वितरण कार्यालय स्थापना भएपछि स्थानीयस्तरमा लगात संकलन र स्थानीय तहबाट पुर्जा वितरणको कार्यले केही समय भित्रमा नै निर्णायक बिन्दुमा पुग्ने उनले बताए । मन्त्री रानाले जंगल फाडेर बसेका, नदी उकासमा बसेका तथा पुरानो बाटो क्षेत्र मासेर दश बर्षदेखि निरन्तर बसेका सुकुम्बासीहरुलाई चाँडै जग्गाको मालिक बनाईने दाबी गरे ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासका भएकाहरुले चाँडै धनीपुर्जा पाउने गरी अमिनलगायतका कर्मचारी करारमा नियुक्ति गर्न समेत माई नगरपालिकालाई अनुरोध गरे । बिशेष अतिथि रहेका इलामका प्रदेश सांसद काजीमान कागतेले अग्रगमनको बाटोमा लागेको सरकारले नीति कार्यक्रममा उल्लेख गरिएका कुरा पूरा गर्ने दावी गरे ।

सांसद कागतेले चुनावी दौरान प्रतिबद्धता जाहेर गरे अनुसार कार्यान्वयको प्रक्रिया अघि बढेको बताए । उनले इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा पहिलो चरणमा भुमीहिन अन्त्य गर्ने कार्यक्रम सरकारले अघि बढाएको बताए । नेकपाभित्रको असहमतिलाई संकेत गर्दै सांसद कागतेले ‘तपाई कता, म कता’ जस्ता दुविधामा नअल्मलिई अग्रगमनको बाटोमा समाहित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जग्गा ब्यबस्थित गर्न र धनीपुर्जा हातमा आउन धेरै समय पर्खनु नपर्ने धारणा राखे । प्रमुख बरालले एक घर तीन विरुवा वितरण गरी वन व्यवस्थापनका साथै आय आर्जनका लागि जिल्ला समन्वय समितीले सामुहिक कार्यक्रमलाई अघि बढाएको बताए । उनले विपन्न परिवारका लागि फुसका छानालाई हटाइ टिनको छानो बनाउने कार्यक्रमलाई समेत तिव्र रुपमा अघि बढाइरहेको बताए ।

प्रदेश १ का नगरपालिका संघका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जनताको आधारभूत आबश्यक्ता पूरा गर्न सरकारको स्वरुपका आधारमा भर पर्ने दावी गरे । वर्तमान सरकार नागरिकको खाना, छाना र नाना पहिलो प्राप्तिमा लागेको बताए । नगर प्रमुख बस्नेतले शहिदहरुको अमुल्य बलिदानका कारण आज जनताहरु भुमीहिनबाट माथी उठ्न सफल भएको बताए । मनमोहन अधिकारी को कार्यकालमा ऋषि राज लुङसाली आयोगले ५८ हजारलाई पुर्जा वितरण गरेको स्मरण गर्दै बस्नेतले नेपालको संविधान २०७२ ले प्रद्धत गरेको मौलिक हक अनुसार सरकारले कार्यक्रमलाई अघि बढाएको बताए ।

माई नगर प्रमुख दिपककुमार थेबेले भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान गर्न नगर र वडामा सहजीकरण समिती बनाएर समस्या आएको खण्डमा समाधान गरेर समुन्नत नगरको रुपमा अघि बढाइने बताए । उनले ७२ प्रतिशत क्षेत्र अब्यबस्थित रहेको माईमा रातो र सेतो फारम भरी आफ्नो स्वामित्वमा धनीपुर्जा लिनसमेत आग्रह गरे ।

नगर प्रमुख थेबेले चीलिमकोट चिया कमान आसापास ३ सय घरधुरीका जनसंख्या भुमिहिन नभएको र सरकारी जग्गामा बसोबास गरिरहेकाले उनीहरुको व्यवस्थापन चुनौतीको रुपमा अघि बढेको बताए । उनले बाढी पहिरो र अन्य विपदबाट जोखिममा परेकाले सुरक्षित स्थानमा व्यवस्थापनका लागि नगरले प्राथमिकतामा राखेर कामहरु अघि बढाउने बताए ।

लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्नेक्रममा इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । माई नगरपालिकामा ९५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै ३ हजार २३८ घरपरिवार भने अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरुको तथ्याँक छ ।

सुकुम्वासी र अव्यवस्थित गरी चार हजार १९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१ को आठौं संशोधनपछि नियमावलीको १८ औं संशोधनका आधारमा नौवटा कार्यविधि तयार पारेर काम थालेको बताईएको छ । यसका लागि आगामी फागुनसम्ममा लगत संकलनका लागि पालिकाले फारम भराउने छन् ।

अव्यवस्थित रूपमा बसोबास भएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई रातो रङ्गको भराइने छ । उपप्रमुख बिष्णुमाया आचार्यले स्वागत तथा वडा अध्यक्ष मुखराज आङ्गदम्बेले सञ्चालन गरेको कार्यक्रममा नेकपा माईका अध्यक्ष धनकुमार लिम्बु, नेपाली कांग्रेसका मोहन नेम्वाङ्गलगायतले मन्तब्य राखेकोे प्रशासकीय अधिकृत नवीन पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय