
काठमाडौँ– बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलनरत उखु किसान र सरकार चार बुँदे सम्झौता भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो ।
मन्त्रालयमा भएको छलफलमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।



सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, जिल्ल प्रशासन कार्यालय, सर्लाहीले तौल काँटाको बारेमा गरेको निर्णय तुरुन्त स्थगित गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
काठमाडौँमा हाल उखु किसानले गरिरहेको धर्ना तत्काल स्थगन गर्ने सम्झौता भएको छ ।