फिक्कलः सत्तारुण दल नेकपाको आन्तरिक किचलोका कारण जारी विवाद वडादेखि टोलस्तर सम्म देखिएको छ । केन्द्रिय राजनीतिमा देखिएको फुटको प्रभाव इलामको सूर्योदयमा पनि देखिएको हो । सूर्योदय नगरपालिका वडा नं १० मा ओलि समुहले वडास्तरिय कमिटि र फिक्कल बजार कमिटि गठन गरेको छ भने आरुबोटे टोलमा समेत ओलि समुहको छुट्टै कमिटि गठन भएको छ । सोमबार नेकपा ओलि समुहका केन्द्रिय सदस्य तथा प्रदेश नं १का प्रदेश सभा सदस्य काजिमान कागतेको उपस्थितिमा बसेको भेलाले रोहित भट्टराईको संयोजकत्वमा नेकपा ओलि समुहको वडास्तरिय ३१ सदसिय कमिटि गठन गरेको हो । उक्त भेलाले दुर्गा राई संयोजक रहने गरि फिक्कल बजार कमिटि गठन गरेको छ । सो समितिको सह संयोजकमा प्रेम कट्टेल र सचिवमा दिनेस पाख्रिङ्ग रहनुभएको छ । आरुबोटे टोलमा बसेको भेलाले आरुबोटे टोलस्तरिय कमिटि समेत गठन गरिएको ओल समुहका रमेह राईले जानकारी दिनुभएको छ ।
नेकपाको आन्तरिक कलह प्रदेश, स्थानीय तह हुँदै वडासम्म पुगेको हो । भ्रातृ संगठनमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । प्रदेशका सबै जिल्लामा पार्टी र भ्रातृ संगठनले छुट्टाछुट्टै भेला गर्न थालेका छन् । एक पक्षले बोलाएको बैठक अर्को समूहले आधिकारिक नभएको भन्दै उपस्थित नहुन अपिल गर्दै आएका छन् । दुवै समूहले प्रतिस्पर्धाकै रूपमा जारी राखेका भेला, बैठक र छलफलमा नेतृत्वकै चर्को आलोचना हुने गरेको छ । जिल्ला तहले निर्णय नै गरेर तल्लो तहसम्म विवाद प्रवेश गराएका हुन् ।