
मनोज अधिकारी,फिक्कलःइलामको माईजोगमाई गाउँपालिका वडा नं २ क्षेत्रमा जंगली जनावरको आतंक मच्चिएको छ । रातिको समयमा आउने र खोरभित्र थुनिएका बाख्रा साथै घरमा पालिएका कुकुर खाईदिन थालेपछि स्थानिय त्रसित बनेका छन् । विगतका बर्षहरुमा चितुवा,भालु,बंधेल,मृग,स्याल जस्ता जनावारले सामान्य खेतिमा सताउने गरेको भएपनि यसबर्ष गत एक महिना यता आधा दर्जन बढी बाख्रा र एक दर्जन बढी गाउँका कुकुर मारेपछि सन्त्रास छाएको लोसेका इन्द्रबहादुर गुरुङ्गले बताउनुभएको छ ।
पाईलाको आकार र ब्यवस्थित खोर भत्काएको आधारमा बाघको आक्रमण हुनसक्ने स्थानियको आशंका छ । नजिकै रहेको सामुदायिक वन र घना जंगलका कारण यस क्षेत्र आसपास जनावारले दुख दिने गरेका छन् । गएको एक महिनामा मात्र लोसेका ईन्द्रबहादुर गुरुङ्ग ,गोपाल खड्का,लालीखर्कका चन्द्रबहादुर गुरुङ्ग राजु गु्रुङ्ग, शेरबहादुर गु्रुङ्ग लगायतको आधा दर्जन बढी बाख्रा र गाउँ भरिका एक दर्जन बडी घरपालुवा कुकुर अज्ञात जनावरको सिकार भईसकेका छन् । अधिक समय हुस्सु लाग्ने यो ठाउँ दिउँसै अध्यारो हुने गरेको बताउँदै स्थानिय ईन्द्रबहादुरले भन्नुभयो,“आवतजावत गर्न र विद्यार्थीलाईृ विद्यालय पठाउन समेत डरसरी भएको छ । कुन समय मानिसलाई नै आक्रमण गर्ने होकी भन्ने चिन्ताले सिंगो गाउँलेलाई नै सताउने गरेको छ ।”



बाघ,चितुवा भालु र बँदेल जस्ता आक्रमक जनावरहरुबाट सावधान रहन जरूरी भएको जानकारहरु बताउँछन् । मानवलाई भालुले टाउका र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ । दुईचार जना साथी साथमा हिँड्दा भालु र बँदेल देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै भाग्ने गरेको अनुभव स्थानीयवासीको छ । भालु र बँदेलले जङ्गल आसपासका बारीमा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको छ ।