
फिक्कल,कच्चि सडक बढी रहेको इलाममा स्थानीय तह आफैले सडक कालोपत्रे गर्न थालेका छन् । १२ महिना नै यातायातका साधन संचालन हुनेगरि प्राथमिकताका आधारमा सडक कालोपत्रे गर्दै आएका हुन् ।
प्रदेश नम्बर १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो सूर्योदय नगरपालिकाकाले धमाधम सडक कालोपत्रे गर्दै आएको छ । नगरपालिकाले हरेक वडामा एक एक वटा सडक ग्राभेल गरि त्यहि सडक कालोपत्रे गर्ने निति लिएको हो ।
नगरपालिकामा प्राथमिकतामा परेका ६ वटा सडकहरु चालु आर्थिक वर्षमा कालापत्रे भइसकेको नगर प्रमुख रणबहादुर राईले बताए । क्रमागत रुपमा सडक कालोपत्रे गर्ने निति अनुसार नगरपालिका भित्रको रणनैतिक महत्वका ६ वटा सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । कालोपत्रेको काम सम्पन्न भएका सडकहरुमा गोर्खे बजार सडक, पालटाँगे सिद्धिखोला, दावागोलाई बरबोटो सडक, फिक्कल पान्दा जिल गोर्खे बजार सडक, फिक्कल पुरानो बजार सडक र नगर पालिकाको केन्द्र हुँदै सुवेदीगाउँ जोड्ने सडकमा कालोपत्रे गर्ने काम सकिएका छन् ।



नगरपालिकाका अधिकृत खेम राईका अनुसार आइतबारे बजार, रामपथ बुद्धपार्क कट्टेबुङ्ग सडक र पालटाँगे सिद्धिखोला सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । गोर्खे बजारमा ५ सय ३० मिटर सडक कालोपत्रे गरिएको छ । जसका लागि एक करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यो सडक निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा निर्माणको सम्झौता भएको थियो ।
पालटाँगे सिद्धिखोला सडकको पहिलो खण्डको नगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा निर्माणको संझौता गरेको थियो । संझौता अनुसार पहिलो खण्डको ६ सय ८० मिटर सडक कालोपत्रेका लागि ७८ लाख ५३ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा निर्माणको संझौता भएको दावा गोलाई बरबोटे सडक कालोपत्रेका लागि ५१ लाख ३४ हजार १ सय ९३ रुपैयाँ खर्च भएको छ । सो सडक खण्डमा ४ सय ९० मिटर सडक कालोपत्रे भएको हो । त्यस्तै फिक्कल पान्दाम जिल गोर्खे मानेभञ्ज्याङ्ग सडक स्तरोन्नती र कालोपत्रेका लागि ८ करोड २८ लाख ५५ हजार ३ सय ९८ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६र७७ मा स्तरोन्नती र कालोपत्रेको निर्माण संझौता भएको सडकको एक किलोमिटर काम सम्पन्न भएको हो । नगरपालिकाको केन्द्रबाट सुबेदीगाउँ जोड्ने सडकको ८ सय मिटर आर्थिक वर्ष २०७५र०७६ मा कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि ८० लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै फिक्कल पुरानो बजार कालोपत्रेको काम आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरिएको थियो । ५ सय मिटर सडक कालोपत्रेका लागि नगरपालिकाबाट ९ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ । नगरपालिकाबाट इलामको पुरानो सदरमुकाम रहेको आइतबारे बजार क्षेत्र कालोपत्रेको काम पनि सम्झौता भएको छ । सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा निर्माण सम्झौता भएको छ । ४ सय ५० मिटर सडक कालोपत्रेका लागि ५९ लाख ९५ हजार रुपैयाँमा निर्माणको सम्झौता भएको हो । त्यस्तै रामपथ वुद्धपार्क कट्टेबुङ्ग सडक कालोपत्रेको काम पनि शुरु भएको छ । चालु आर्थिक वर्षमा सो सडकको ७ सय १८ मिटर कालोपत्रेका लागि आर्थिक वर्ष २०७७र०७८ मा निर्माणको सम्झौता भएको छ ।
त्यस्तै पालटाँगे सिद्धिखोला सडकको दोस्रो खण्डमा पनि सडक कालोपत्रेको काम शुरु भएको छ । सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ९५ लाख ९१ हजार निर्माणको सम्झौता भएको छ ।
सडक कालोपत्रेको काम भएपछि स्थानीयले उत्पादन गरेको कृषि उपजले बाह्रै महिना बजारको पहुँच पाउने अपेक्षा गरिएको छ ।स्थानियसन्देश