इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो । मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रिवन काटेर उद्धघाटन गरे ।

कार्यक्रममा बोल्दै मगरले कृषि उपज संकलन केन्द्रका लागि अनुदान प्रदेश सरकारको महत्वपुर्ण कार्यक्रम रहेको बताए । उनले प्रदेश भरका १४ वटै जिल्लाका सहकारी एवम संघसंस्थाहरुसंगको समन्वयमा कृषिजन्य बस्तु संकलन र बजारीकरणका लागि केन्द्र निर्माणमा पर्याप्त लगानी गरिरहेको बताए ।

उनले राजमार्गसंग जोडिएको क्षेत्र भएकाले रोङमा तरकारी र पशुपालनको पर्याप्त सम्भावना रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद काजीमान कागतेले संघीयतापछि बनेको तीन तहको सरकारले विकास निर्माणसंगै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको बताए । उनले अहिले तत्काल किसानहरुले अनुभुत गर्न नपाएपछि यसले दिर्घकालिन रुपमा फाइदा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जुन प्रयोजनका लागि भवन निर्माण भएको त्यसैमा मात्र प्रयोग गर्न आग्रह गरे । उनले अन्य प्रयोजनका लागि भाँडामा दिने काम नगर्न सहकारी संचालक समितीलाई आग्रह गरे ।

वर्देवाले ज्ञान केन्द्र मार्फत १० लाख रुपैया र सहकारीले २५ प्रतिशत लगानी गर्नुपर्नेमा संकलन केन्द्र निर्माणको लागि साना किसानले ५ लाख भन्दा बढि खर्च गरेर थप सुविधासम्पन्न बनाएको बताए । गाउँपालिका अध्यक्ष सम्शेर राईले कृषि क्षेत्र गाउँपालिकाको उच्च प्राथमिकता रहेको बताए ।

उनले तेश्रो बर्षको बजेटबाट कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर कामहरु अघि बढाइएको बताए । राईले कृषिमन्त्रीको जिल्ला भएकै कारण पनि कृषि उत्पादनको बजारीकरणमा कुनै समस्या नआउने विश्वास व्यक्त गरे ।

रोङ–३ का वडाध्यक्ष मातृका बरालले कृषि उपज संकलन केन्द्र निर्माण सम्पन्न हुँदा गाउँपालिका भरीका उत्पादनहरुको बजारीकरणमा सहज हुने बताए । उनले गाउँभरी छरिएर रहेको उत्पादनहरु एकै ठाउँमा संकलन हुँदा किसानहरुले मुल्य समेत उच्च पाउने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष मेघनाथ आचार्यको सभापतित्वमा भएको थियो ।स्थानिय सन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय