
फिक्कलः भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आफु अंग्रेजी भाषाको विद्यार्थी भएको बताएका छन् । इलामको रोङ गाउँपालिकामा आयोजित लेप्चा÷लाप्चा भाषा पाठ्यपुस्तक तथा स्थानीय पाठ्यक्रम लोकापर्ण र जग्गादाता सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने ‘ मातृ भाषाको जग छ भने नेपाली पनि बन्छ अंग्रेजी पनि बन्छ । म अंग्रेजी भाषाको विद्यार्थी मेरो मातृ भाषा दरो भएकाले नेपाली पनि काम चलाए । अंग्रेजी पनि राम्रो तरिकाले अघि बढाएको छु । अरु भाषा सिक्न पनि सहयोग मिलेको छ । माृत भाषा टुट्यो भने अन्य भाषा टुट्छ ।’रोङ भाषालाई पुस्तान्तरण गर्दैै लग्नुपर्ने बताएका छन् । उनले पुस्तान्तरण भएको खण्डमा मात्र भाषा सुनिश्चितता हुने बताए ।
उनले नेपालको पहिचानको आधार रोङको पहिचान संस्कृति र भुगोल समेत रहेको बताए । अवस्थीले अरु पालिकाले रोङबाट अरु पालिकाले सिको गरेर मार्गदर्शकको रुपमा लिएर जान समेत आग्रह गरे । उनले निजि विद्यालयहरुले विद्यार्थीहरुको धरातल नै खतरामा पारेको बताए । ‘ अंग्रेजी भाषाको जग भनेको रोङ भाषा, लिम्बु भाषाहरुले अरु भाषाको आधार निर्माण गर्छ । निजि विद्यालयमा समस्या छ विद्यार्थी भविष्यमा खेलवाड भएको छ उसलाई संस्कृतिबाट टुटाइदिने भाषाबाट अलग्याइदिने आयातित कुरा दिँदा उसको धरातल सकिन्छ ।’ उनले भने ‘सन्तुलित रुपमा मातृभाषाको जग दोश्रो भाषाको निरन्तरता र विदेशी भाषाको क्रमागत स्तरोन्नती हुने हिसावले अघि बढौ ।’



उनले गाउँपालिकाले तयार गरेको पाठ्यक्रम रोङ समुदाको लागि मात्र सवैका लागि तयार गर्न सुझाव दिए । अवस्थीले ऐच्छिक बिषयको रुपमा राखेर भएपनि अरु समुदायले लाप्चाहरुको भाषा सिक्नका लागि वातावरण तयार गर्न आग्रह गरेका हुन् । कार्यक्रममा विशेष अतिथि संविधासभा सदस्य टिकाराम सुब्बा लाप्चाले लेप्चा समुदाय एकै स्थानमा लामो समय बस्न नसक्दा कला संस्कृति लोप हुँदै गएको बताए ।
उनले परम्परागत रुपमा पुर्खाहरु घुमिफिरी हिड्ने भएकाले कला संस्कृति स्थायी बन्न नसकेको बताए । ‘बसाइ सरि हिड्ने जुन स्थानमा आवाद हुन्छ १५÷२० बर्ष बस्ने अनि उब्जाउ हुन छाडेपछि अर्को ठाउँमा सरेर जाने त्यो कारण रहेछ लोप हुनुमा ।’ उनले भने ‘ कुन ठाउँमा के हुन्छ त्यसैलाई मान्ने हुँदो रहेछ लाप्चाहरुको परम्परा ।’
लाप्चा समुदाय कन्दमुलका निर्भर रहने जात भएको बताउँदै उनले भने ‘ बनमा हुने तरुल खान्छ एक किसिमको तरुलमा अन्वेषण गर्दा गर्भ निरोधक औषधी समेत पाइएकाले सन्तान फस्टाएन भन्ने अभिप्राय छ ।’
संविधानसभा सदस्य शकुन्तला लेप्चाले धर्म परिर्वतनका कारण परम्परागत भाषा संस्कृति लोप हुँदै गएको बताइन् । उनले विभिन्न प्रलोभनका कारण धर्म परिर्वतनका कारण पुराना भाषा संस्कृति र पहिचानहरु हराउँदै गएको बताइन् । ‘ संविधानसभामा प्रतिनिधित्व गरिरहँदा भाषा, कला संस्कृतिको कुरा धेरै उठायौ । त्यहाँ भाषा परिर्वतनका लागि, धर्म परिर्वतनका लागि कसैलाई प्रलोभन, धाकधम्कीको आधार गरिएको छ । धर्म परिर्वतन गराउन पाइन्न भनेर कुरा उठाइरहेका थियौ । वास्तवमा त्यो सहि कुरा उठाएका थियौ ।’ उनले भनिन् ।
इतिहासविद्ध युद्ध प्रसाद बैद्यले लाप्चा संस्कृति लिम्बुहरुसंग जोडिएर आउने बताए । उनले नेपाल तर्फ लाप्चा भन्ने गरिएपनि भारत तर्फ भने लेप्चा भन्ने गरिएको बताए । ‘ इमानसिंह चेम्जोङले लाप्चा नै लेख्नुभएको छ । सिक्किम, दार्जिलिङमा अध्ययन गरेको विद्धानहरुले नेपाल तर्फ लाप्चा भन्छन् यता तर्फ लेप्चा चलेको छ भनेर लेखिदिनुभएको छ ।’ उनले रोङ गाउँपालिकाले भाषाको पाठ्यक्रम बनाएर जिवन्त राख्ने महत्वपुर्ण काम गरेको बताए ।
कार्यक्रममा करफोक बहुमुखी क्याम्पसका पुर्व प्रमुख जहरसिंह राई, पाठ्यक्रम विज्ञ हरिचन्द्र लावती, जग्गादाता जयनारायण ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वडा कार्यालय निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता क्षेत्रका लागि जग्गादान गर्नेहरुलाई ताम्रपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उनीहरुलाई गाउँपालिका अध्यक्ष शम्शेर राई, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहाल लगायतले सम्मान गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै गाउँपालिको अध्यक्ष लाप्चा समुदायको जनसंख्या घट्दै जाँदा सभ्यता समेत लोप हुँदै गएको बताए । उनले राज्यले अनुसन्धानका लागि स्थानीय सरकार भन्दा माथिको सरकारसंग माग गरे । लाप्चा जातिको बसाई सराईको क्रम नदेखिएपनि जनसंख्या भने क्रमिक रुपमा घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष शम्शेर राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकला राईले स्वागत गरेकी थिइन् । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।