
मनोज अधिकारी,फिक्कलः मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । इलामको कन्याम– जोरकलश सडक खण्डको भालुझोडामा मंगलबार अपराह्न दुर्घटना भएको हो । झापाबाट इलाम आउँदै गरेको मे ४ प ८३५५ नम्बरको बाइक सोही दिशाबाट आउँदै गरेको मे १ ख ६५४ नम्बरको माज्दा ट्रकसंग ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका वडा नं ४ श्रीअन्तु घर भएका बर्ष ४० का रत्न कुमार थापा मगर रहेका छन् । ट्रक सहित चालक सूर्योदय नगरपालिका वडा नं ९ का ३६ बर्षिय बिमल तामाङ्गलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय पशुपतिनगरमा राखिएको इन्सपेक्टर बलराम गिरीले जानकारी दिए ।
मेचि राजमार्ग अन्तर्गत इलाम सडक खण्डमा दुर्घटना बढ्दै गएको छ । अब्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढेपछि यात्रु र चालकले कष्टकर यात्रा गर्नु परिरहेको छ । पूर्व–पश्चिम राजमार्गको १० कि–मी दूरीमा रहेको झापाको चारआली देखि, इलाम, पाँचथर, ताप्लेजुङ सम्म जोड्ने मेची राजमार्ग अन्तर्गत इलाम खण्डको करिब ९० किलोमिटर सडक जिर्ण बन्दै जाँदा सवारी दुर्घटना बाक्लिएको हो ।
गत आर्थिक बर्ष २०७८÷७९ को एक बर्ष अवधिमा मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा सानाठुला गरि १८ वटा दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख शैलेन्द्र गच्छदारका अनुसार उक्त अवधिमा १० जनाले ज्यान गुमाएका थिए भने १८ जना घाईते भएका थिए ।



दुर्घटनाको मुख्य कारण भत्किएको कालोपत्रे,साँघुरो सडक,प्रतिकुलमौषम,अव्यवस्थित पार्किङ आदि भएपनि सवारी चालकको लापारवाही,मादक पदार्थ सेवन गरि सवारी चलाउनु,तिब्र गति,ब्रेक फेल लगायतका कारण पनि दुर्घटना हुने गरेको प्रमुख गच्छदारले बताएका छन् ।