खनालले अवसर पाउँदा काम गर्नुभएन, जनताले नयाँ अनुहार खोजेका छन्ः बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,१९ कात्तिकः इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागी नेकपा एमालेका उम्मेद्वार महेश बस्नेतले जनताले नयाँ अनुहार खोजेकाले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्रि एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संग चुनावी प्रतिष्पर्धामा रहनुभएका बस्नेतले इलामे जनताले खनाललाई यो निर्वाचनबाट विदा दिने बताउँदै आफ्नो जित पक्का भएको दाबी गर्नुभयो । केहि दिन अघि खनालले यो पटक आफ्नो प्रतिष्पर्धि नै नदेखेको बताउनु भएपछि पत्रकार सम्मेलन गर्दै बस्नेतले खनालको आलोचना गर्नुभएको छ ।
खनाललाई अबको चुनावबाट ससम्मान विदा गर्नेबेला आएको बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, “खनाल जी लाई हामीले पटक–पटक विजय बनाएर पठायौँ । देशको कार्यकारी प्रधानमन्त्रि बन्नुभयो । तर इलामबासीका समस्या समाधान गर्न सक्नुभएन ।”
तिस बर्ष आफुहरुले नै नेता मानेर जिताएपनि आफ्नो निर्वाचन क्षेत्रका लागी अत्यावश्यक काम समेत नगरेको आरोप लगाउँदै बस्नेतले भन्नुभयो, “यहाँ चियाका समस्या छन्,एउटा भरपर्दो अस्पताल छैन, उच्च शिक्षाका लागी अध्ययन गर्ने क्याम्पस छैन, सडकको अवस्था विकराल छ । अझै म आफैँ जित्छु भन्दै हुनुहुन्छ उहाँ ।”

जनताको मत लिएर देशको नेतृत्व गर्दा सम्म खनालले इलामका लागी केही गर्न नसकेको बस्नेतको आरोप छ । “उहाँ असफल भैसक्नुभएको छ । यहाँका मतदाताले नयाँ अनुहार खोजेका छन् । यस क्षेत्रको समस्या समाधान गर्न र आमुल परिवर्तनका लागी जनताले मलाई निर्वाचित गराउनुहुन्छ भन्नेमा म ढुक्क छु ।”

नेकपा एमाले ताजा जनादेश लिएर सरकारमा पुग्ने बस्नेतको भनाई छ । सत्ता गठबन्धन उहाँहरुको बाध्यता बताउनुभएका बस्नेत सबै दलका साथीहरुले आफुलाई सहयोग गर्नेमा आशाबादी देखिनुहुन्छ । उहाँले भन्नुभयो, “गठबन्धन त एउटा बाध्यता होला तर नेपाली कांग्रेस सहितका अन्य धेरै साथिहरुले मेरो विचार र एजेन्डा मन पराउनुभएको छ । मेरो जित पक्का हो ।”

केही दिन अघि पत्रकार सम्मेलन गर्दै खनालले इलाम क्षेत्र नं १ मा उम्मेद्वार धेरै देखिएपनि आफ्नो प्रतिष्पर्धि नदेखेको बताउनु भएको थियो । खनालको उक्त अभिब्यक्तिलाई चिर्न बस्नेतले पत्रकार सम्मेलन गर्नु भएको पाईन्छ । यता खनाल भने निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ । शुक्रबार मात्र इलाम र झापाको संगमस्थल बहुबनमा कांग्रेस महामन्त्रि विश्वप्रकाश शर्मा संगै आमसभामा रहनुभएका खनालले गठबन्धनलाई हराउने कुनै शक्ति नभएको बताउनु भएको छ । संविधानको रक्षा गर्न पाँच दल एकताबद्ध रहेको भन्दै खनालले गठबन्धनका हरेक उम्मेद्वारलाई जिताउन सबै दल दत्तचित्त भएर लाग्नुपर्ने समेत बताउनु भयो ।

नेपाली कांग्रेस छोडेर इलाम क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका विक्रम पान्डेको पक्षमा समेत जनमत देखिन्छ । गठबन्धनप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ताको मत तान्ने दौडाहामा देखिनुभएका पान्डेले एमालेमा अन्तरघात गर्ने पक्षको मत लिन सक्ने आँकलन छ । प्रतिनिधिसभा सदस्यका लागी इलाम निर्वाचन क्षेत्र १ बाट १२ जनाको उम्मेद्वारी भएपनि मूख्य प्रतिष्पर्धा खनाल र बस्नेत बिचमा नै देखिन्छ । एमाले जिल्ला अध्यक्षलाई सहजै हराउने खनालको दाबि र अवसर पाउँदा काम नगरेकाले विदा गरिने बस्नेतको भनाई मध्ये कस्को अभिब्यक्तिले साकाररुप लिएला? मंसिर चारको आम चुनाव पछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय