मुन्धुमले सदियौंदेखि मानव सभ्यता चिनाएको छः उपराष्ट्रपति पुन

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,१८ मङ्सिर ९रासस० ः उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौंदेखि मानव सभ्यर्ता चिनाउँदै आएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव समारोह उद्घाटन गर्दै उपराष्ट्रपति पुनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह समेत गर्नुभयो ।

“विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो ।” उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक, बहुुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ ।”
उहाँले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएको बताउनुभएको छ । “यो ठाउँ प्राकृतिक रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध छ । आदिमकालदेखि किरातीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ ।” उहाँले भन्नुभयो, “मुन्धुम सबै नेपालीको जीवन दर्शन हो । परम्परागत र मौखिक रूपमा रहेको मुन्धुमलाई परिस्कृत गर्दै अघि बढाउन फाल्गुनन्दको खास योगदान छ।”

किरात धर्मगुरुका प्रगतिशील धारणा बारे खुलेर प्रशंसा गर्नुभएका उहाँले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताउनुभयो । “छोरीलाई छोरासमान शिक्षा र अंश दिने, स्वदेशी उत्पादनका सामानको प्रयोग, किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचार प्रगतिशिल हुन् । यसले मानवजातिलाई सकरात्मक सन्देश दिइरहेको छ ।”

फरक प्रसंगमा उहाँले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई र नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिनुभएको छ। उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिन चाहान्छु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय