सूर्योदय वडा–९ को कार्यक्रम सार्वजनिकीकरण, गत बर्षको समिक्षा र सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका–९ ले गत आ÷ब २०७९÷८० कोे समिक्षा गर्दै चालु आ÷ब २०८०÷८१ मा सञ्चालन गरिने कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अवसरमा बहुदलिय प्रजातन्त्रपछि र संघियता अगाडीका स्थानीय निर्वाचनका १४ जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको वडाध्यक्ष देबेन्द्र आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार, शिक्षा क्षेत्रमा लामो समय शिक्षणको माध्यमबाट योगदान दिनुभएका चन्द्र बहादुर राई, पुरानो सवारी चालक गणेश कुमार राई,लम्पी स्किन रोगको महामारीको समयमा किसानको घरघरमा पुगेर पशुज्यान बचाउन खटिएका प्राविधिक भुपाल पोख्रेल र नगरपालिकाका सव इन्जिनियर शिवसागर यादवलाई वडाले सम्मान गरेको छ ।

त्यसैगरी पाँच जना ब्यवसायीक युवा कृषक सोमकुमार राई,रिता राई,गणेश ढुङ्गाना,खिन कुमारी राई र कृष्ण लामिछाने समेतलाई सम्मान गरिएको आचार्यले जनाउनु भएको छ ।  उहाँले भन्नुभयो, “विभिन्न माध्यमबाट योगदान दिएर वडाको आर्थिक समाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुर्याउनु भएकाहरुलाई धन्यवाद सहित सम्मान गरेका हौँ ।” कार्यक्रममा सहभागिहरुलाई डाले घाँस, निवारोका बिरुवा र तरकारीका विउविजन वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईले यस वडाको अध्यक्ष नै नगरको आर्थिक विकास समिति संयोजक भएकाले वडाबासीलाई समस्या नभएको बताउनुभयो । किसानका क्षेत्रमा भएका प्रयास प्रशंसायोग्य रहेको बताउँदै प्रमुख राईले सम्मान पाउने सामाजिक ब्यक्तिहरुलाई बधाई ज्ञापन गर्नुभएको छ ।

यस वडामा चालु आ÷ब भित्र करिब चार करोडको कार्यक्रम सञ्चालन हुने वडाधयक्ष आचार्यले बताउनुभयो । वडागत बजेट सिलिङ्गबाट ७९ लाख, समपुरक अनुदान १ करोड, सघन सहरी विकास कार्यक्रमबाट कृषि उपज संकलन केन्द्र २ करोड, प्रदेश सरकारको पुष्पलाल मार्गमा २० लाख रकम खर्च हुने बताईएको छ ।

कार्यक्रममा नगर उप–पमुख दुर्गाकुमार बराल र प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको थियो । साथै वडाका जनप्रतिनिधि, सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि,टोल प्रतिनिधि,कर्मचारी लगायत वडाबासी गरि दुई सय बराबरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय