इलाममा मनाइयो रोपाईजात्रा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः अघि–अघि पञ्चेबाजा, पछि बाउसे र रोपाहार । नयाँ अनि चिटिक्क गरेको सारीमा रोपाहार त कोट, पाइन्टमा सजिएका बाउसे । यो हो इलामको देउमाई नगरपालिकाको मंगलबारेमा निकालिको रोपाइँजात्रा । सारी चोली अर्थात् बेहुलीको भेष धारण गरेर रोपाहार त बेहुलाको भेष धारण गरेर बाउसे ।

विभिन्न जानजातिका पोशाकमा सजिएका युवायुवतीले रोपाहार र बाउसेको अभिनय गर्दै मंगलबारेमा रोपाई जात्रा निकालेका थिए ।पञ्चैबाजाको तालमा संगीतमय रोपाइँ गर्दै मनाइने यो पर्व जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ । इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा यस्तै गरेर धुमधामका साथ यो पर्व मनाइयो।

५० वर्ष अघिदेखि मनाउन सुरु गरिएको यो पर्व जनै पूर्णिमा पछिको बुधबार लाग्ने हटियाको अवसरमा मनाइने गरिन्थ्यो । तर यस वर्ष जनै पूर्णिमाका अघिल्लो दिन नै यो जात्रा निकालिएको छ । स्थानीय भानुभक्त माविले आयोजना गरेको यो जात्रामा विभिन्न किसिमका मौलिक पराम्परा र जातीय झाँकी प्रदर्शन गर्ने गरिन्छ । भानुभक्त माविको आयोजनामा २०१८ सालदेखि यो पर्व मनाउने गरिएको छ ।

किसानले रोपाइँ सकेपछि फुर्सदको समयसँगै रमिता हेरेर थकान मेटाउन समेत रोपाईजात्रा निकालिने गरिन्छ । वास्तविक किसानले हटियाको दिन मंगलबारे बजारमा रोपाइँ जात्राको अवलोकनपछि आफूहरुले बर्खामा गरेको दुःख भुल्न समेत यसले मद्दत गर्ने गरेको किसानहरुको भनाइ छ ।

पञ्चै बाजाको तालमा रोपाहार र बाहुसेले वजार बीचमा रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । मंगलबारेमा निकालिने रोपाइँजात्रा विशिष्ठ किसिमको हुने भएकाले आन्तरिक पर्यटकहरको समेत उल्लेख्य उपस्थिति रहन्छ ।

सुरुमा विद्यालयको स्थिति नाजुक रहेको अवस्थामा रकम जुटाउन र शिक्षकलाई तलब खुवाउनका लागि सहयोग संकलन गर्न जात्रा निकाल्न थालिएको विद्यालयमा पूर्व प्रधानाध्यापक तथा हालका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र खनालले वताए । उनले हाल विद्यालयको अवस्था राम्रो रहेको र संस्कृतिको जगेर्ना गर्न रोपाई जात्रा निकालिएको बताए ।

विद्यार्थीहरुले रोपाहार, बाहुसेलगायत साधु, जोगी, मुङ्ग्रे, सहित जातीय झाँकी प्रदर्शन गर्ने गर्दछन् । लोप हुन लागेको बेठी समेत प्रस्तुत गरिन्छ । रोपाइँ जात्रामा मंगलबारेका उद्योगी, ब्यवसायी, स्थानीय संघसंस्था लगायतले साथ दिँदै आएका छन् ।

संगिनी, बालन लगायतका संस्कृति झल्कने विभिन्न प्रस्तुतिले यहाँको वातावारण संगीतमय बन्छ । साथै विभिन्न लोकभाका सहित वजारमा देउसीभैली झैँ घरघरमा गीत गाउने चलन समेत छ ।

यस वर्ष शेर्पा र भुजेल जातिको झाँकी थप भएको शिक्षक प्रमोद रिजालले बताए । उनले रोजाईसँगै ३० भन्दा बढी विधामा कलाकारले अभिनय प्रस्तुत गरेको बताए । यहाँको रोपाइँ जात्रा हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट स्थानीयको घुइँचो लाग्ने गरेको छ ।

इलाममा यस वर्ष आइतबार

एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा मनाइने गरिन्छ ।

जनै पुर्णिमापछि आउने पहिलो बिहिबार यहाँ रोपाइँजात्रा निकालिन्ने गरिएको भएपनि यस वर्ष आइतबार यो पर्व मनाइने भएको छ ।

यस बिहिबार नै जनै पुर्णिमा र गाईजात्रा परेकाले १७ गते आइतबार गाईजात्रा निकालिने बताइएको छ । १७ गते आइतबार रोपाइँजात्रा निकालिने भएको छ ।

राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि। सं। १९७२ मा सुुरु गरेको रोपाइँ जात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ ।

यसले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास छ ।

इलाम कला–संस्कृतिको धरोहर भएकाले युवापुस्तामा कला संस्कृति जगेर्ना गराउन सिकाउने उद्देश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँ जात्रा सञ्चालन भइरहेको छ ।

जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदासमेत दिइने गरिन्छ ।

रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ । नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ ।

त्यस्तै इलामको माइजोगमाईको नामसालिङ र देउमाई नगरपालिकाकै जितपुर माई नगरपालिकाको शुक्रबारे बजारमा पनि यो जात्रा निकालिने गरेको छ । यस जात्रालाई हिले जात्रा पनि भन्ने गरिन्छ । from sutradharonline

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय