इलामः नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.(एनएमसी) इलाम शाखाको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको इलामबजार सेवा केन्द्रगत उपसमिति संयोजक बद्रि खड्काको अध्यक्षता एवं इलाम नगरपालिका-७ का वडाध्यक्ष नरेस श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले १ अर्ब ५१ करोड ३९ लाख ५४ हजार ३ सय ५७ बराबरको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने र सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थामा सदस्यले नियमित मासिक बचत गर्नेतर्फ प्राथमिकता दिनुपर्ने बताउँदै लगानीलाई व्यवसायिक क्षेत्रमा लगानी लगाई संस्थाबाट लिएको कर्जा समयमा तिर्नुपर्नेमा जोड दिनुभएको छ ।
संस्थाबाट कर्जा लिई तिर्न अटेर गर्ने सदस्यहरुलाई संस्थाले कानूनी प्रक्रियाबाट असुल उपर गर्नेतर्फ प्राथमिकता दिएकाले कर्जा नर्तिने सदस्यहरुलाई समयमै कर्जा चुक्ता गर्न कार्यक्रमका अध्यक्ष खड्काले आग्रह गर्नुभयो।
वि.सं २०५० फागुन २४ गते स्थापित उक्त संस्थामा हाल एक लाख ५३ हजार आठ सय ३ जना सेयर सदस्य रहेको कर्मचारी अन्जना पाठकले जानकारी दिनुभएको छ । संस्थाको एकाई नं २ सदस्य महेन्द्र बस्नेतले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन ब्रान्च मेनेजर विपुल सापकोटाले गर्नुभएको थियो ।
साधारण सभामा संस्थाको प्रगति विवरण, भावि नीति, कार्यक्रम र बजेटसँगै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो । सभाले ठाकुर प्रसाद सिवाकोटीको संयोजकत्वमा १५ सदसिय संचालक समिति समेत गठन गरेको छ ।