मनोज अधिकारी
इलाम,२०चैतः सूर्योदय नगरपालिका–५ समाल्बुङका सबैजसो मानिस कृषि पेशामा आबद्ध छन् । चिया,अम्रिसो अदुवा जस्ता खेती गरेर जिविकोपार्जन गरिरहेका मानिसहरु फरक जाती भाषा, र धर्ममा आस्था राखेपनि सामाजिक सहिष्णुता छ । तर, चेतनास्तरमा अपेक्षाकृत सुधार नहँदा गर्भवति महिलाप्रति संवेदनशिल नहुने र ब्यक्तिगत घटना दर्ता गराउन अलमल हुने समस्याको समाधानमा जनप्रतिनिधि खट्नु परेको छ । २४ बर्षे उर्गेन बम्जन ०७९ को निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएपछि उहाँको टिमले महिलाले घरमै बच्चा जन्माउने विषयलाई गम्भिर ठानेर स्वास्थ्य संवेनशिलताका लागि ‘म अस्पताल जान्छु’ भन्ने स्व घोषणा कार्यक्रम र वडाले नै जन्मदर्ता बनाईदिएर घरघरमा पुर्याईदिने अभियान सुरु गरेपछि परिवर्तनको संकेत पाईएको छ । यसै सन्दर्भमा वडाध्यक्ष उर्गेन बम्जनसंग गरिएकोे भलाकुसारीको संपादित अंशः
यहाँका मानिसकोे आय–आर्जनको श्रोत के छ?
केही बाहेक सबैजसो किसान हुनुहुन्छ । खेतीपातीमा आबद्ध हुनुहुन्छ । एकहात मानिस जागिरे हुनुहोला । बाँकी सबैको जिवनयापन कृषिबाटै भैरहेको छ ।
किसानले के खेती गर्छन् ?
वडाको माथिल्लो भुभाग चियाको लागि स्विटेवल छ । तल्लो भेगतिर मौरी ब्यवसाय गरेर मह उत्पादनमा किसान लाग्नुभएको छ । विशेषगरी कम क्षेत्रमा पाईने पुत्काको मह उत्पादनमा किसानको लगाभ छ । अम्रिसो खती गरेर कुच्चो मनग्गे उत्पादन भैरहेको छ । कफि खेतीको राम्रो सम्भावना भएको थाहापाएपछि वडाले यसअघि नै बिरुवा बाँड्यो । कतिपय कफिले उत्पादन दिन थालेको छ । अब यहाँ उत्पादन भएका कफिलाई यहीँ प्रशोधन गर्न गृहकार्य गरिरहेका छौँ । अरबिटाको पर्वन भन्ने जातचैँ कफिको उन्नत जात रहेछ । त्यही बिरुवा यस क्षेत्रमा रोपण भएकाले उत्पादन राम्रो हुनेमा आशावादी छौँ ।
यहाँको उत्पादन बिक्री गर्ने बजार चैँ कुन हो?
हाम्रो वडा भारतीय सीमासंग जोडिएको छ । यहाँको सम्बन्ध अति पुरानो पनि हो । सीमाक्षेत्रका मानिस रुपैयाँ भन्दैनन रुपे भन्छन् । भारतमा लैजान ल्याउन खुल्ला सीमाका कारण सहज नै भएपनि पछिल्लो समयमा केही कानुनी अफ्ठ्यारा छन् । तर, इलामकै फिक्कल, हर्कटे र श्रीअन्तु बजार नजिकै छ । झापाको विर्तामोड, चारालि वा दमकसम्म लगेर यहाँको उत्पादन बिक्री भैरहेको छ । करेसावारीमा साग रोप्ने, प्याज रोप्ने, गोलभेँडा खेती, अकबरे लगायतमा हाम्रा किसानलाई प्रोत्साहन गर्नुछ । त्यतातिर किसानको आकर्षण केही कम भईरहेको छ ।
वडाका सडकहरुले सबै टोललाई समेटेको छ ? निर्माणको काम के हुँदैछ?
म सुरुमा निर्वाचित भएर आउँदा गाडी हिलोमा फसेर नचल्ने नै अवस्था थियो । तर, सडक डिविजन कार्यालय र नगरपालिकासंग समन्वय गरेर मुख्य सडकहरुमा हुने हिलो चै हटायौँ । अहिले मुख्य सडकका कतै हिलोकै कारण सवारी नचल्ने अवस्था छैन । वडा कार्यालय देखि मुनितिर उदयचोकसम्म अत्याधिक हिलो हुने बाटो सोलिङ गरेर ब्यवस्थित गरेका छौँ । अर्को गोरख आधारभूत विद्यालय आसपास अत्याधिक हिलो हुने गथ्र्यो । अहिले, त्यहाँ पनि काम भएको छ । पक्कि सडक नै बन्न बाँकी छ । तर, हिउँद बर्खा सवारी चल्ने बाटो बनिएका छन् ।
तपाईका वडाका मानिसले आधारभूत स्वास्थ्य उपचार कहाँबाट लिन्छन्?
वडाभित्र समाल्बुङ स्वास्थ्य चौकी छ । तर, त्यहाँ बिरामीको चाप केही कम पाएका छौँ । यहाँका माथिल्ला झुल्केघाम टोल, अन्तुडाँडा टोल, गोरख नमुना टोलका मानिसहरुलाई वडा नं ४ को भञ्ज्याङपट्टि जान सहज हुने भएकाले त्यतातिर जानुहुन्छ । यसअघि १४ जना महिलाहरुले घरमै बच्चा जन्माएछन् । गत साल पनि सात जनाको त्यस्तै समस्या दोहोरियो । हामीले समाधान गर्न घरमा बच्चा जन्माएका जति सबैको घरमा पुगेर कारण बुझ्यौँ । त्यहाँ जाँदा सडक अभाव, गरिबि वा यस्तै कारणले होला भन्ने लागेको थियो । तर कारण खतरनाक रहेछ । घरका अभिभावकले पहिलेका उदाहरण दिएर घरमै बच्चा जन्माउन लगाउँदा रहेछन् । मैले त बारीमा काम गर्दैगर्दा जन्माएको तिमिले किन सक्दैनौ भनेपछि बाध्य भएर घरमै होम डेलिवेरी भएको रहेछ । अर्को कुरा महिलालाई अस्पतालमा लगेपछि सोझै सिजर गरिदिन्छन् भन्ने मनस्थिति बनेको रहेछ । सिजरबाट जन्मिएको बच्चा कमजोर हुन्छ भन्नेसम्मको गलत मानसिकताका कारण समस्या भैरहेको देखियो । र घरमा बच्चा जन्माउने महिला चैँ शक्तिशालि हो भन्ने कुराबाट प्रभावित बनाएर महिलाको स्वास्थ्य संवेदनशिलतामा बेवास्था गरेको पायौँ ।
पर्यटकीय नगरी सूर्योदयका मानिस । अझ पर्यटकीयस्थल श्रीअन्तुको काख रहेको वडाका मानिसमा किन चेतनास्तर बढेन? अब के गर्नुहुन्छ?
शिक्षा अभाव र केही परम्परागत रुडिवादी सोचले जकेडिएका कारण पनि यस्ता समस्या देखिएका छन् । अब हामीले म घरमा सुत्केरी गराउँदिन, स्वास्थ्य संस्था लैजान्छु भन्ने स्वघोषणा गर्ने कार्यक्रम राखेका छौँ । करुणा फाउण्डेसनले दिएको १५ हजारलाई सुत्केरीलाई अस्पताल लैजान भाडा एक महिनाका लागी सात हजार पाँच सयका दरले दिन थालेका छौँ । यस बर्ष एकजनाले मात्र घरमा बच्चा जन्माएको पायौँ ।
जन्मदर्ता घरघरमै पुर्याउन थाल्नुभएको छ । यो चैँ किन?
म जनप्रतिनिधि हुनुअघि यहाँको अन्तु एकाडेमिमा शिक्षण गर्थेँ । त्यो बेला कक्षा आठका दुई तीन जना विद्यार्थीको जन्मदर्ता थिएन । त्यो खोजी गर्दा अरु थुप्रै बच्चाको जन्मदर्ता पनि नभएको पाईयो । त्यो घटनाले मलाई चिन्तित बनाईरहेको थियो । हामी निर्वाचित हुने बित्तिकै यहाँका सात सामुदायिक र दुई नीजि विद्यालयमा गएर बच्चाहरुको जन्मदर्ता भए नभएको चेकजाँच गर्दा धेरैको नभएको पाईयो । उनिहरुका अभिभावकलाईृ सल्लाह दिएर जन्मदर्ता बनाउन प्रेरित गर्यौँ । कतिको कम उमेरमै विवाह भएर बच्चा भएकाले, बाबुआमाको विवाह दर्ता नहुँदा बालबालिकाको बनाउन नसकिएको पाईयो । ३५ दिन भित्रमा जन्मदर्ता गरिहाल्दा रकम नलाग्ने थाहा नपाएर वास्ता नभएको पनि पायौँ । त्यो थाहा पाएपछि गाउँमा बुझ्दा अझ नभएको पायौँ । जटिल समस्या ठानेर खोप लगाउँदै गरेका तीन खोपकेन्द्रमा पुगेर तथ्याङ्क हेर्दा त्यहाँ पनि उस्तै समस्या पायौँ । सबैको लगभग उस्तै समस्या भेटिएपछि दिर्घकालिन समस्या समाधान गर्न हामी लागेका हौँ । नेपाल सरकारले अनलाईनबाट जन्मदर्ता गर्न मिल्ने प्रावधान राखेको छ । जनतालाई थाहा छैन । नगरपालिका भरिमा सूर्योदय १२ का एकजनाले मात्र अनलाईनबाट जन्मदर्ता गराउनुभएको रहेछ । उहाँलाई सम्मान गरौँ भनेर खोज्दा मान्छे अमेरिकामा हुनुहुँदो रहेछ । यो समस्या दिर्घकालिन समाधान गर्न घरमै लगेर जन्मदर्ता गराईदिन थालेका छौँ । हालसम्म ६ जना बच्चाको जन्मदर्ता घरमै पुर्याईसकेका छौ ।
विद्यालयको समग्र अवस्था कस्तो छ ? कतै बाल श्रम पो भईरहेका छन् की?
सबै बालबालिका विद्यालय गैरहेका छन् । बाल श्रमको अवस्था छैन । शिक्षामा सुधार तिव्र गतिमा छ । बालभेला बार्षिक गर्छौ । उनिहरुको सहभागिता सकृय छ । आफ्ना समस्या ढुक्कले राख्छन् ।
सबैले बिजुली बत्ति बाल्न पाएका छन्?
सबैतिर पुगेको छ । काठेपोल विस्थापित गर्ने क्रममा छौँ ।
अन्त्यमा के भन्नुहुन्छ ?
शिक्षामा सुधार ल्याएर चेतनास्तर वृद्धि गर्नुछ । कृषिमा आधुनिकिकरण र ब्यवसायिकता ल्याउनुुछ । सबै वडाबासीप्रति साथको ऐकबद्धताको र सुझावको अपेक्षा गरेकोे छु ।
समय दिनुभयो । धन्यवाद ।