इलाम– विश्व बैंकले इलामको सूर्योदय नगरपालिकामा उत्थानशील भवन निर्माणका लागि लगानी गर्ने भएको छ ।
स्थानीय सामग्रीका साथ स्थानीय तहलाई सक्षम बनाउने उद्देश्यले विश्व बैंकले देशभरका आठ पालिकामा सूर्योदयलाई पनि रोजेको हो ।
विश्व बैंकको यो परियोजनामा अमेरिका, क्यानडा, युकेलगायतले समेत सघाउनेछन् ।
सरकारले निर्माण गर्ने हरेक योजना–परियोजनामा आइपर्नसक्ने जोखिम र विपद् न्यूनीकरणका लागि युएनडिआरआरले विश्व बैंकसँग सम्झौता गरेको थियो । तर, लामो समय कार्यान्वयन हुन नसकेको यो परियोजना अब सुरु हुने भएको हो ।
सूर्योदयका मेयर रणबहादुर राईले विश्व बैंकले आफैं सम्भाव्यता अध्यनन गरी परियोजना कार्यान्वयनमा लैजाने बताए । ‘हुन त अहिले पनि सूर्योदयले चाहिँ विपद् जोखिम न्यूनीकरण अध्ययन गरेरमात्र कुनै पनि परियोजना सञ्चालन गरिरहेकै छ,’ उनले भने, ‘हाम्रो यही प्रयासलाई विश्व बैंकले पनि सघाउनेछ ।’
अहिले विपद् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघले तोकेका १० पक्षलाई आधार बनाएर सूर्योदयले योजना कार्यान्वयन गरिरहेको छ । नगरका योजना, परियोजना र गतिविधि निरीक्षण गर्न गतवर्ष विपद् जोखिम न्यूनीकरणको क्षेत्र हेर्ने विश्व बैंक प्रतिनिधि आएका थिए । उनी सूूर्योदयका कामप्रति उत्साहित भएपछि यो वर्ष सूर्योदयलाई परियोजना प्राप्त भएको मेयर राईले बताए ।
उनका अनुसार परियोजनाका लागि देशका आठ पालिका छानिएकामा सूर्योदयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्न विश्व बैंक प्रतिनिधिको आग्रह पनि छ । सूर्योदयले विद्यालय पाठ्यक्रममा समेत विपद् जोखिम न्यूनीकरण व्यवस्था गरेर सबैलाई यसबारे सचेत गराइरहनुलाई विश्व बैंकले प्रशंसा गरेको मेयर राई बताउँछन् ।
यो परियोजनाले चाहिँ सूर्योदयमा भवन निर्माणका काम गर्नेछ । विपद् जोखिम न्यूनीकरणसहित विद्यालय, स्वास्थ्य चौकीलगायत भवन निर्माण गर्ने नगरले जनाएको छ । ‘स्थानीय स्रोत–साधन प्रयोग गर्ने, स्थानीयकै क्षमता अभिवृद्धि गर्नेगरी परियोजनाको कार्य सञ्चालन हुनेछ,’ मेयर राईले भने, ‘स्थानीयलाई नै उद्यमी र रोजगार बनाउने पनि यसको लक्ष्य छ ।’
संघीय सरकार र राष्ट्रिय योजना आयोगले हरेक योजना बनाउँदा दिगो विकास लक्ष्यलाई नै प्राथमिकता दिएपछि सूर्योदयले पनि मानव संशाधन विकासलाई नै नगर विकासको आधार बनाएको हो ।
मेयर राईले नगरको सुदूर भविष्यका लागि दिगो विकासका लक्ष्यअनुसार अघि बढ्न दिगो विकासका राष्ट्रिय लक्ष्य अवलम्बन गरिरहेको बताए ।
चालु वर्षदेखि दिगो विकासका लक्ष्यलाई स्थानीयकरण नै गरेर नगरले योजना सञ्चालन गरिरहेको मेयर राई बताउँछन् । ‘अब नगरका कुनैपनि कामको प्रगति झट्ट देखिनेगरी होइन, त्यसको दिगो प्रतिफल पाउनेगरी हुनेछ,’ उनले भने, प्रतिफल पाउन बरु केही समय कुर्नुपरोस् तर योजनाबद्ध र दिगो काम गरौं भन्ने ध्येयले यसलाई स्थानीयकरण गरेका छौं ।’
यसैअन्तर्गत रहेर विकास योजना सञ्चालन गर्दा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनालाई पनि स्थानीय कानुनकै रूपमा पारित गरेको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसंघले नेपालका विशेषगरी स्थानीय सरकारले गरिरहेका विकास आयोजनाका काममा विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्छ । त्यसमा सूर्योदय पनि सहभागी छ ।
राष्ट्रसंघले आयोजना गरेको सेमिनारमा विश्वका दर्जनौं देशका स्थानीय सरकार सहभागी हुँदा नेपालबाट तीन नगरपालिका ९इलामको सूर्योदय, इलाम नगरपालिका र बाँकेको नेपालगञ्ज० सहभागी थिए ।
‘हरेक काममा जोखिम र विपद् न्यूनीकरणको प्रयास गरेका छौं,’ उनले भने, ‘विभिन्न योजना बनाउँदा हेरिने रिक्स फ्याक्टर हो यो । बाटो, पुल, भवनलगायत संरचना बनाउँछौं तर कुन ठाउँमा खोलो, पहिरो वा विपत्ति आइलाग्छ कि भन्ने पनि हेर्नुपर्छ । भूकम्प पनि विपद् हो । कृषिमा लगानी गर्दा बालीनाली कीरा–फट्याङ्ग्राले खानु, वन्यजन्तुले नास गर्नु पनि जोखिम नै हो ।’ frompalikapage