इलाम,१६पुसः माईजोगमाई गाउँपालिका–३ नाम्सालिङका रोशन काफ्ले परिवार लिएर मकर नुहाउन जाने तयारीमा हुनुहुन्छ । ‘पोहोर पनि जाने भन्दाभन्दै भ्याईएन, भाकल मात्रै भयो । यसपाली त परिवार नै जानुछ ।’ काफ्लेले भन्नुभयो, ‘चिताएको पुग्छ, मनोकांक्षा पुरा हुन्छ भन्दै गाउँभरिका सबै जान्छन् ।’
जिल्लाकै प्रसिद्ध धार्मिकस्थल माइबेनी माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संगममा पर्छ । माई र जोगमाई खोलाको दोभान माइबेनीमा हरेक बर्षको माघ १ गते लाग्ने माघे संक्रान्ति मेला भर्न इलामसहित झापा, पाँचथर, ताप्लेजुङ र सीमावर्ती भारतका दार्जिलिङ, सिक्किम, सिलिगुडी लगायत क्षेत्रबाट हजारौँको संख्यामा भक्तजन आउने गरेका छन् ।
माइबेनी मेलामा गएर मकर नुहाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहि आएको स्थानीय पण्डित मीत्रभक्त सापकोटाले बताउनुभयो । ‘मकर संक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा छ । माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन् ।’ सापकोटाले भन्नुभयो, ‘धर्मसिन्धुका अनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ । मकर संक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिएको छ । यस दिनको नदीस्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ ।’ मकर स्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ । यसैले मानिसहरू माघे संक्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन् ।
पहिले–पहिले स्थानीयले नै मेला आयोजना गर्थे । केही वर्षयता माइजोगमाई गाउँपालिकाले मेला आयोजना गर्नेगरेको छ । यस बर्ष मेला धुमधाम लगाउन माईजोगमाई–४ को समन्वयमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । ‘यहि पुस २७ देखि माघ ३ सम्म मेला लाग्ने भएको छ ।’ समितिका अध्यक्ष सनमान लिम्बूले भन्नुभयो, ‘ऐतिहासिक धार्मिक महत्वलाई जगेर्ना गर्न र बर्सौँदेखि लाग्दै आएको मेलालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न समिति बनिएको हो ।’
समितिका सचिव भोजराज देवानका अनुसार, मेलामा धार्मिकसँगै भक्तजनलाई अन्य मनोरञ्जनका खुराक राखिने छ । ‘विशेषतः पूजापाठसहित मकर नुहाउने चलन मूख्य हो । त्यसपछि भक्तजनले त्यहाँको ऐतिहासिक शिव मन्दिर दर्शन गर्नेछन् ।’ उहाँले भन्नुभयो, ‘ मनोरञ्जनका लागि विविध खेलहरु जस्तैः रोटेपिङ, बालबच्चालाई स्किपिङ, लगायत रहन्छन् ।’ स्थानीय कृषि उपजका स्टल तथा स्थानीय खानाका परिकार समेत मेलाका आकर्षणका रुपमा रहने आयोजकले बताएको छ ।
मेलामा आउने धार्मिक पर्यटकले सिजनअनुसारका फलफूलहरु चाख्न पाउनेछन् । ‘सँधैपनि सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुनेगरेको छ । तीन सयभन्दा बढी दोकान राखिन्छन् ।’ कोषाध्यक्ष तीर्थराज लिम्बूले भन्नुभयो, ‘मेलामा राडीपाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, शृंगारका साधन र तरुलको व्यापार बढी हुन्छ ।’ त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ । माइबेनीको अर्काे आकर्षण भनेको धाननाच, चुड्केनाच, जुहारी गीत पनि हो । यी नाचहरू एकअर्काप्रति आत्मीयताको प्रतीक हुन् ।
स्थानीय ९२ बर्षीय तुलसीराम अधिकारीले माइबेनी मेला आफुले जान्दादेखि नै लाग्दै आएको सुनाउनुभयो । ‘१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको रे ।’ अधिकारीले भन्नुभयो, ‘उहिले हामीले जान्दा त महिना दिनसम्म लाग्थ्यो । कुनै बर्ष दुई साता, कहिले एकसाता हुँदै अहिले चै केही दिनमा झरेछ ।’
१ गते जिल्लाका मूख्य सहर र अधिकांश गाउँ नै सुनसान देखिन्छन् । ती सहरका व्यापारी र ग्राहक सबै माइबेनी मेला झर्छन् । ‘यहाँ त बस्नु मात्रै पर्छ । सबै मेला जान्छन् । बरु उत्तै गयो, एकदिन रमाईलो हुन्छ ।’ फिक्कल बजारका एक व्यापारीले भन्नुभयो,‘चरा मुसा हुँदैनन् । सुनसानमा बस्नुभन्दा आफु पनि उत्तै गईन्छ ।’