
मनोज अधिकारी
इलाम,,०८माघः सूर्योदय नगरपालिका–१० स्थित फिक्कल माद्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रा बिन्दा ढुङ्गेललाई आजभोलि गणित विषय सजिलो लाग्न थालेको छ । ‘पहिले पास गर्नै गार्हो हुन्थ्यो । अहिले त मेयर स्कूलमै आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ है भन्नुहुन्छ । धेरै प्राक्टिस्ले होला, आजकाल त म्याथ ईज्जि लाग्न थालेको छ ।’ बिन्दाले भन्नुभयो । उहाँमात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थी गणित विषय सजिलो लाग्न थोलेको बताउँछन् ।
परिक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु भएको अभियान प्रभावकारी बन्दै गएको हो । ‘गतबर्षको नतिजा राम्रो आएको छ । पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थाले । विगतमा भन्दा नतिजामा सुधार आएको छ ।’ नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, हामीले अंग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ । कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न हामीले अभियान सुरु गरेका थियौँ ।’



प्रति विद्यार्थी ३ वटा कापी बाँढ्न नगर प्रमुख राई बिनाखबर प्रत्येक विद्यालय पुग्नुहुन्छ । कुनै विद्यालयमा पुग्दा कहीँ पठनपाठन धमाधम भैरहेको हुन्छ । कतै–कतै शिक्षक घाम तापिरहेका पनि भेटिन्छन् । र, मेयर देखेपछि कक्षातिर पस्छन् । ‘बेखबर जाँदा अनुगमन पनि हुने । विद्यार्थीसँग अन्तरक्रिया हुन्छ । शिक्षक, विद्यार्थी सबै सतर्क हुन्छन् ।’ उहाँले भन्नुभयो ।
सूर्योदय नगरपालिकाले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम सञ्चालन गरेको तीन बर्ष भयो । बर्षमा एकपटक सबै विद्यालयका विद्यार्थी भेला गरेर पालिकाले विज्ञान तथा गणित प्रदर्शनी गरिरहेको छ भने कक्षा ८,९ र १० विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्नेगरेको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ‘६५ विद्यालयका कक्षा ८, ९ र १० का दश हजार चार सय ४३ विद्यार्थी छन् । एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित हुन्छन् । दंग परेर अभ्यास गर्छन् । बर्षमा तीन पटक वितरण हुन्छ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘फुर्सद मिलाएर सबै विद्यालयमा पुग्नेगरेको छु । आजकाल अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन् ।’
नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ । नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ । पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना–१२ कार्यक्रम’ सञ्चालन गरिरहेको । यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताउनुभयो ।
‘कतिपय विद्यालयमा विषयगत शिक्षक अपुग हुन्छन् । त्यहाँ ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘हाम्रा सबै विद्यालयमा इन्टरनेट सेवा पुगेको छ । सबै विद्यालयमा कम्प्युटर र प्रयोगशाला छ । सबै विद्यार्थीको बाल बचत खाता खोलिएको छ।’ यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उहाँको भनाई छ ।
नगरको ऐतिहासिक करफोक माध्यमिक विद्यालय प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले दक्ष जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास गरिँदैछ । एउटै विद्यालयमा आठ करोड रुपैयाँ लगानी गरी विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाइँदै छ । अर्को विद्यालयमा पाँच करोड रुपैयाँ लगानी गरी विज्ञान र गणितको ‘इनोभेसन सेन्टर’ बनाइँदै छ ।
सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ । यहाँबाट उत्पादन भएको जनशक्तिलाई नगरले कम्तीमा सय दिन रोजगारीसमेत दिइरहेको छ । कोभिडको समयमा भएको पढाइको क्षति न्यूनीकरण गर्न नगरले सय दिन स्वयंसेवक शिक्षकको व्यवस्थासमेत गरेको छ । अहिले नगरका संस्थागत र सामुदायिक विद्यालयलाई शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्ने वातावरण बनाइँदै छ । ‘केही वर्ष अघिसम्म ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत संस्थागत विद्यालयमा रहेकामा अहिले यो तथ्याङ्क ठिक उल्टो हुनु पनि हाम्रो कार्यक्रमको उपलब्धि हो,’ नगरप्रमुख राई भन्नुहुन्छ्, ‘तर, यो नगरपालिका बालमैत्री नगर पनि भएकाले बालबालिकाबिच चाहिँ विभेद गरिएको छैन, नगरले सामुदायिक विद्यालयका बालबालिकालाई दिने सुविधा संस्थागत विद्यालयका बालबालिकालाई पनि दिएको छ ।’
नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड पनि निःशुल्क दिएको नगर प्याब्सन अध्यक्ष लाकेल लामाले बताउनुभयो ।
नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दासमेत विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ । नगरले सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कुलमा पढ्न जाने विद्यार्थीलाई समेत यतै आकर्षित गरिरहेको शिक्षा शाखाका प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । अहिले यसरी पढ्नकै लागि दार्जिलिङ जाने विद्यार्थी पनि यतैका विद्यालयमा भर्ना हुन थालेको शाखा प्रमुख भट्टराईको भनाई छ । ‘गणित र विज्ञानको पढाइको स्तर हाम्रोतिर नै राम्रो भएकाले विद्यार्थी नगरकै विद्यालयमा आकर्षित भएका छन्,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई उच्च शिक्षा पनि नगर र देशभित्रैका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ ।’
सूर्योदय नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय छन् । यहाँ ११ हजार छ सय १२ विद्यार्थी रहेकामा सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी रहेको नगरको शिक्षा शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दी छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन् । यीबाहेक विद्यालयहरूले निजी स्रोतबाट समेत शिक्षक राखेका छन् । सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेश्रो र देशकै दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका समेत हो ।