
इलामः उत्पादन, प्रशोधन र बजारलाई व्यवस्थित बनाउन रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरेको छ । १ सय २१ जना किसानलाई गुरु बनाएर गाउँपालिकाले कृषिको नयाँ मोडेल सार्वजनिक गरेको हो । कम क्षेत्रफलमा बढी उत्पादन गरिरहेका नमुना किसानलाई गुरु बनाएर कृषिको नयाँ मोडेल ल्याईएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो(सुबास)ले बताउनुभयो ।
‘कम क्षेत्रफलमा अधिक उत्पादन गर्ने मेहेनती र नमुना किसानलाई गुरु बनाएका हौँ ।’ स्याङ्बोले भन्नुभयो, ‘करिब चार हजार पाँच सय किसानमध्येबाट १ सय २१ जनालाई गुरु किसानको रुपमा छानेर उनीहरु मार्फत गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन नयाँ मोडेल सार्वजनिक गरिएको हो ।’



गुरु किसान कार्यक्रम अन्तर्गत किसानहरूलाई जलवायु अनुकूलित खेती प्रणालीमा अभ्यस्त गराउँदै, गुणस्तरीय उत्पादनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा प्रयोगशाला पूर्वाधार उपलब्ध गराउने योजना रहेको अध्यक्ष स्याङ्बोको भनाई छ । यो कार्यक्रम ७ सय ५३ स्थानीय तहमध्ये पहिलो भएको उहाँले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकासमन्त्री खगेनसिंह लिम्बूको उपस्थितिमा बिहिबार भव्य समारोहका बिच ‘गुरु किसान’ घोषणा गरियो ।
पालिकाले ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी त्यसैअन्तर्गत पालिकाका नमुना किसानलाई ‘गुरु किसान’ का रूपमा उत्पादन गरिरहेको उपाध्यक्ष विष्णुमाया भूजेलले बताउनुभयो ।
उहाँका अनुसार अब उनीहरूले अरू किसानलाई पनि सफल किसान बन्ने तरिका सिकाउने छन् । आफू उदाहरणीय किसान बन्नेछन् । ‘कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछिमात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ज हुन पाउँछन् ।’ उपाध्यक्ष भूजेलले भन्नुभयो,‘ गुरु किसानका लागि पालिकाले वर्षमा एकपटक वा आवश्यकताअनुसार सूचना जारी गर्छ ।’
गुरु किसान हुन कम्तीमा तीन वर्षदेखि त्यही खेतीमा किसान आबद्ध भएको हुनुपर्ने, वार्षिक आम्दानी, रोजगारी सिर्जना र सहकार्यलगायत दर्जनौँ मापदण्ड तोकिएको छ ।
‘रोङ विकासको मुख्य आधारः कृषि, वन र पर्यटनको पूर्वाधार हाम्रो पालिकाको नारा हो,’ अध्यक्ष स्याङ्बोले भन्नुभयो, ‘किसान आफैं सक्षम बनून्, सानातिना प्राविधिक काममा पनि सरकारको मुख ताक्न नपरोस् भनेर किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रम हो गुरु किसान ।’
गाउँपालिकाले स्थानीय उत्पादन रायो सागलाई गन्द्रुकको रूपमा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ । मह, बेसार, अम्रिसो, चिया, अदुवाको व्यवसायिक बजारीकरणमा पनि पालिकाले जोड दिएको छ ।
त्यस्तै, समारोहका बीच साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटनसमेत गरियो । मन्त्री अधिकारी, मन्त्री लिम्बू, अध्यक्ष स्याङबो, उपाध्यक्ष भूजेल लगायतले उद्योगको उद्घाटन गर्नुभयो । उद्योगको शिलालेख र गुरु किसानको झन्डा अनावरण गरिएको थियो ।